इलाम- इलामको ऐनापोखरी पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गएको छ। चुरे वनको फेदीमा पर्ने पोखरीमा घुम्न, तस्बिर लिन, भिडियो बनाउन र वनभोज खान आउनेको भीड लाग्ने गरेको छ।
वरिपरि पहाडका डाँडा र हरियाली वनजंगलको बीचमा पर्ने त्यस क्षेत्र जैविक विविधता, प्राकृतिक सौन्दर्य र भौगोलिक सहजताले पर्यटकका लागि उत्कृष्ट गन्तव्य बनेको हो।
पर्यटकलाई ऐनापोखरीसम्म पुग्न सहजताका लागि चुलाचुली गाउँपालिकाले मोटरेबल सडक निर्माण गरेको छ। अन्य पूर्वाधारका कामसमेत क्रमशः गर्दै लैजाने योजनामा रहेको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए। ऐनापोखरीको थप प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्नमा महोत्सवले सहयोग पुग्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ।
आजदेखि ऐनापोखरी पर्यटन महोत्सव
यसैबीच आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चुलाचुली गाउँपालिकामा आजदेखि ऐनापोखरी पर्यटन महोत्सव आयोजना हुँदैछ। चुलाचुली ऐनापोखरी संरक्षण तथा श्रम पार्कको आयोजनामा चुलाचुली-३ र ४ को संगमस्थलमा महोत्सव आयोजना हुन लागेको हो।
यही फागुन ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा खेलकुद प्रतियोगिताका साथै स्थानीय मौलिक संस्कृति, कला, साहित्य, संगीत र इतिहासको संरक्षण गर्दै पर्यटन प्रवर्द्धनको प्रयास गरिने आयोजक समितिका अध्यक्ष कैलाश थुलुङले बताए।
महोत्सवमा आदिवासी लिम्बू, राई, कुमाल, नेवार, तामाङलगायत विभिन्न जातजातिका सांस्कृतिक झाँकी र वेशभूषा प्रदर्शनी गरिने उनले जानकारी दिए। 'यहाँका आदवासी भूमिपुत्रहरूको मौलिक संस्कृति, कला, साहित्य, संगीत र इतिहासको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्न प्रयत्न गर्नेछौँ। यसका लागि सातै दिन अलगअलग कार्यक्रम तय गरिएको छ', उनले भने, 'प्रत्येक दिन फरकफरक जातजातिको पहिचान र संस्कृति झल्कने झाँकीसहित वेशभूषा प्रदर्शन गरिनेछ।'
महोत्सवमा लिम्बू जातिको धाननाच, पालाम, च्याब्रुङ नाच, राई जातिको साकेला नाच, तामाङ जातिको सेलो, मगर जातिको मारुनी, खसआर्यको संगिनीलगायत प्रस्तुत गरिने जनाइएको छ।
चुलाचुली गाउँपालिका आदिवासी लिम्बू र राई जातिको बाहुल्यता भएको गाउँपालिका हो। महोत्सवमा पर्यटकलाई रैथाने आदिवासी जनजातिको परिकार चखाउनेसमेत आयोजकको लक्ष्य छ। महोत्सवमा कोदोको ढिँडो र रोटी, गुन्द्रुकको अचार, वाचिपा, केरा, सिमलतरुल र त्यहाँबाट उत्पादन हुने विभिन्न परिकारको स्वाद चाख्न पाइने छ। रासस