काठमाडौं- नेपालमा व्यापार गर्ने प्रतिष्ठानहरूमा होलसेलभन्दा खुद्रामा धेरै मुनाफा राखेर बिक्री गर्ने गरिएको छ। खरिद र बिक्री मूल्यको अन्तर(ट्रेड मार्जिन) होलसेलको तुलनामा रिटेलमा धेरै पाइएको हो।
राष्ट्रिय तथ्यांक कार्यालयको नेपाल व्यापार सर्वेक्षण, २०७८ अनुसार होलसेल र खुद्राको मार्जिन वर्गिकरण गरिएको छ। त्यस्तै सवराीसधान र मर्मतसम्भार पनि छुट्याइएको छ।
होलसेलमा १३.०१ प्रतिशत मार्जिन रहेको पाइएको छ भने खुद्रामा १८.२८ प्रतिशत रहेको छ। खुद्राको मार्जिन सबैभन्दा धेरै कर्णाली प्रदेशमा रहेको छ। कर्णालीमा २०.३८ प्रतिशत मार्जनिन रहेको छ।
खरिद गरिएको मूल्यको तुलनामा बिक्री मूल्यमा भएको अधिकलाई यस्तो मार्जिनमा गणना गरिन्छ। सञ्चालन लागत घटाएर नाफा निकालिन्छ।
वस्तुगत रुपमा सबैभन्दा धेरै मुनाफा (मार्जिन) सवारीसाधन तथा मर्मतसम्भारमा देखिएको छ। यस क्षेत्रमा २४ दशमलव ०२ प्रतिशत मार्जिन देखिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयको सार्वजनिक गरेको नेपाल व्यापार सर्वेक्षण, २०७८ अनुसार सञ्चालनमा रहेका थोक तथा खुद्रा व्यापार गर्ने कुल ४ लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमध्ये ६८ दशमलव २३ प्रतिशत कुनै न कुनै सरकारी निकायमा दर्ता भएको र ३१ दशमलव ८ प्रतिशत प्रतिष्ठान दर्ताबिनै सञ्चालन भइरहेका छन्।
सर्वेक्षणअनुसार सबैभन्दा बढी मधेस प्रदेशमा सञ्चालित ४८ प्रतिशत व्यापारिक प्रतिष्ठान दर्ताबिनै सञ्चालन भइरहेको देखिएको छ। थोक व्यापार गर्ने छ दशमलव ४२, खुद्रा व्यापार गर्ने ३३ दशमलव ३८ र सवारी व्यापार तथा मर्मतसम्भार गर्ने २२ दशमलव ५४ प्रतिशत संस्था दर्ताबिनै सञ्चालन भइरहेको पनि सर्वेक्षणबाट देखिएको छ।
सर्वेक्षण प्रतिवेदनअनुसार व्यापार क्षेत्रमा ११ लाख ३० हजार छ सय ४५ जना मानिस संलग्न छन्। सोमध्ये महिला चार लाख तीन हजार नौ सय ६४ जना अर्थात् ३६ प्रतिशत र पुरुष सात लाख २६ हजार छ सय ८१ जना अर्थात् ६४ प्रतिशत रहेका छन्। दर्ता भएका चार लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमध्येमा ७४ दशमलव दुई प्रतिशतमा पुरुष र २५ दशमलव आठ प्रतिशत महिलाको नाममा दर्ता छन्।
व्यापारमा आबद्ध व्यक्तिमध्ये सबैभन्दा धेरै बागमती प्रदेशका ३२ दशमलव नौ प्रतिशत रहेका छन्। त्यस्तै लुम्बिनी प्रदेशका १६ दशमलव चार, कोशीका १६ दशमलव आठ, मधेसका १४ दशमलव तीन, गण्डकीका नौ दशमलव पाँच, सुदूरपश्चिमका पाँच दशमलव नौ र कर्णालीका चार दशमलव दुई प्रतिशत रहेका छन्।
व्यापारमा जोडिएका कुल व्यक्तिको सङ्ख्यामध्ये खुद्रा व्यापारमा मात्र ८८ दशमलव ६५ प्रतिशत व्यक्ति आबद्ध रहेको सर्वेक्षणबाट देखिएको छ। व्यापार व्यवसायमा संलग्न रहेका अधिकांश व्यक्ति जागिर गर्नेभन्दा पनि आफ्नो व्यवसायमा आबद्ध हुने गरेको पाइएको छ।
सर्वेक्षणले यस क्षेत्रमा तलब ज्याला र अन्य सुविधा लिई काम गर्नेभन्दा तलब त्याला र अन्य सुविधा नलिइ परिवारका सदस्य नै काममा सन्तान रहेका व्यक्तिको सङ्ख्या बढी रहेको देखिएको छ।
यस क्षेत्रमा संलग्न जम्मा कामदारमध्ये तलब ज्याला र अन्य सुविधा पाउने कामदारको सङ्ख्या दुई लाख १९ हजार पाँच सय ५१ छ। जसमा महिला ४५ हजार नौ जना अर्थात् २० दशमलव ५० प्रतिशत र पुरुष एक लाख ७४ हजार पाँच सय ४२ जना आर्थत् ६० दशमलव ६० प्रतिशत छन्।
तलवी कामदार भएका व्यापारिक प्रतिष्ठानको तलब ज्याला र अन्य सुविधामा प्रतिप्रतिष्ठान औसत वार्षिक छ लाख चार हजार नौ सय १२ खर्च हुने गरेको देखिएको छ। त्यस्तै प्रतिकामदार औसत वार्षिक दुई लाख आठ हजार चार सय ९४ खर्च देखिन्छ।
व्यापारिक प्रतिष्ठानको सञ्चालन खर्च जम्मा एक एक खर्ब ३३ अर्ब र प्रतिप्रतिष्ठान औसत सञ्चालन खर्च दुई लाख ६४ हजार देखिएको छ।
यस सर्वेक्षणको प्रमुख उद्देश्य विभिन्न वस्तुहरुको खरिद तथा बिक्री गर्दा हुने व्यापार अन्तर (ट्रेड मार्जिन) अनुमान र व्यापारिक प्रतिष्ठानको रोजगारी, तलबरज्याला, पुँजी निर्माण आदि तथ्यांक आकलन गर्नु रहेको कार्यालयले जनाएको छ।
यो सर्वेक्षण छनोट विधिमा आधारित राष्ट्रियस्तरको सर्वेक्षण हो। सर्वेक्षणमा आर्थिक गणना २०७५ बाट प्राप्त मुलुकभित्र रहेका सरकारी निकायमा दर्ता भएका तथा दर्ता नभई अनौपचारिकरुपमा सञ्चालन भएका व्यापारिक प्रतिष्ठानको अध्ययन गरिएको छ।
कुल १५ हजार दुई ९९ व्यापारिक प्रतिष्ठानबाट लिइएको तथ्यांक र सर्वेक्षणका आधारमा यो अध्ययनको नतिजा निकालिएको कार्यालयले जनाएको छ।