पर्वत- स्वादिलो सुन्तलाको राजधानीका रुपमा परिचित पर्वतको जलजला गाउँपालिका-१ बाँसखर्क पुग्ने सडक मर्मत गर्न थालिएको छ। जीर्ण सडकका कारण सुन्तला ढुवानीमा समस्या भएपछि जलजला गाउँपालिकाले मर्मत थालेको हो।
बाँसखर्कमा यस वर्ष झण्डै ११ करोड रुपैयाँ बरारबको सुन्तला उत्पादन भएको छ। गाउँपालिकाले आफ्नै स्काभेटर परिचालन गरेर बिहीबारदेखि मर्मत गर्न थालेको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए। उनका अनुसार बाँसखर्क जोड्ने वारीबेनी-बगर-बाँसखर्क सडक मर्मत गर्न थालिएको हो।
स्काभेटरले साँघुरो ठाउँमा चक्ल्याउने, खाल्डाखुल्डी पुर्ने र ठूला ट्रकसमेत सजिलै सुन्तला बगानसम्म जान सक्नेगरी मर्मत कार्यलाई अघि बढाइएको उपाध्यक्ष आचार्यले बताए। ठूला सवारी साधन सुन्तला बगानसम्म पुग्न नसक्दा व्यवसायीलाई ढुवानीमा समस्या भएको थियो। सडक मर्मतपछि स्थानीयरुपमा सञ्चालित र बाह्य क्षेत्रबाट सुन्तला लिन आउने सवारीसाधन सजिलै बाँसखर्कसम्म पुग्न सक्ने भएका छन्।
स्थानीय अगुवा कृषक जगतबहादुर खत्रीका अनुसार ढिलै भए पनि गाउँपालिकाले सडक मर्मत गरेपछि सहज हुने भएको छ। यहाँका सुन्तला यस वर्ष काठमाडौँको कालीमाटी, चितवनको मुग्लिन र पोखराका व्यापारीले खरिद गरेका छन्। कतिपयले सुन्तला टिपेर ढुवानी गरिसकेका छन् भने कतिपयले कृषकसँग सम्झौता गरेपछि सुन्तला टिप्न आइनपुगेका कृषक खत्रीले बताए।
बाँसखर्कमा ढिलो गरी पाक्ने भएकाले माघ दोस्रो सातापछि मात्रै बजार पठाउन थालिएको छ। अहिले बाँसखर्कसम्म पुग्न वारीबेनी र मिलनचोकबाट कच्ची सडकको प्रयोग हुँदै आएको छ। जीर्ण सडकका कारण ठूला ट्रक र टिपर गाउँसम्म जान नसक्ने अवस्था थियो।
सानो बोलेरो जीप मात्र मुस्किलले गाउँसम्म पुग्ने भएकाले व्यवसायीलाई सुन्तला निकासीमा समस्या भएपछि आफ्नै स्काभेटरले मर्मत गरेर सहज बनाउन थालिएको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताए। उनका अनुसार जलजला-२ वारीबेनीदेखि वडा नं १ बाँसखर्क जोड्ने सडक कालोपत्रे गर्नका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भइसकेको भए पनि बजेट विनियोजन नहुँदा स्तरोन्नति हुन नसकेको हो।
यसअघि विसं २०७७ मा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आयोजना स्वीकृत गरेर अर्थमन्त्रालयमा पठाएको भए पनि बजेट विनियोजन हुन सकेको छैन। करिब १० किलोमिटर लामो उक्त सडकको कुल लागत २२ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो।
बर्सेनि फल्ने करोडौँका सुन्तला सडकका कारण ढुवानीमा समस्या भएको वडाध्यक्ष जकबहादुर रोकाले बताए। सडक निर्माण भएमा यहाँ उत्पादन हुने सुन्तला बजार पठाउन तथा बाँसखर्कमा सञ्चालित होमस्टे प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख गुरुदत्त अधिकारीले चालु आर्थिक वर्षमा बाँसखर्क जोड्ने कुनै पनि सडकका लागि बजेट विनियोजन नभएको बताए।
मिलनचोक-माझफाँट-बाँसखर्क सडकको लागि एक करोड रुपैयाँ विनियोजन भए पनि त्यसले जम्मा एक किलोमिटर मात्र कालोपत्रे हुने उनले जानकारी दिए। रासस