शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युतको ४० प्रतिशत काम सकियो

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ २६ २०८०
images
images
माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युतको ४० प्रतिशत काम सकियो

विद्युतगृहको जग्गा व्यवस्थापन गरेर कटिङ र जग्गा संरक्षणको लागि पूर्वाधार निर्माण भइरहेको छ।

images
images

म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत् आयोजनाको ४० प्रतिशत निर्माण सकिएको छ।

images
images

ठूलोखोला हाइड्रोपावर लिमिटेडले वडा नं ७ चिमखोला र ८ कुइनेमङ्गलेको सीमा क्षेत्रमा निर्माण गर्न लागेको २२ दशमलव ५ मेगावाट क्षमताको उक्त आयोजनाले निर्माणलाई तीव्रता दिएको हो।

images
images

गत वर्षको चैतदेखि पूर्वाधार निर्माण सुरु गरेको यस आयोजनाले पाइपलाइन र बाँधतर्फको कामलाई तीव्रता दिएको आयोजना प्रमुख लोकबहादुर नायकले जानकारी दिए। उनका अनुसार सुरुङरहित यस आयोजनामा कूल दुई हजार आठ सय मिटर पाइपलाइन निर्माण हुनेछन्। 

images
images

'हेडरेष्ट, सर्जट्यांक र पेनस्टक सबैतर्फ पाइपलाइन जडान गर्छौं। अहिलेसम्म एक हजार दुई सय मिटर पाइपलाइन जडानको काम सकिएको छ', प्रमुख नायकले भने, 'पाइप ढुवानीसँगै जडानको कामले तीव्रता पाएको छ।' आयोजनाको पूर्वाधारतर्फको ठेक्का देव ऊर्जा कन्ट्रक्सन प्रालिले लिएको छ।

सुँगुरथलामाथि रघुगङ्गा नदीमा बनाउने बाँधबाट पाइपलाइन हुँदै ल्याउने पानीलाई सेतिनी भ्यालीको फेदीमा रहने विद्युतगृहमा खसालेर उत्पादन हुने विद्युत्लाई दानामा निर्माण भएको सवस्टेशनमा जोडेर राष्ट्रिय प्रसारणमा जोडिनेछ। अहिले प्रसारण लाइन निर्माणका लागि टावर बनाउने काम अघि बढेको आयोजनाले जनाएको छ।

आयोजनाले आगामी २०८२ बैशाखभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। दैनिकरुपमा दुई सय ५० जना मजदुर परिचालन गरेको काम भइरहेको आयोजना प्रमुख नायकले जानकारी दिए। उनका अनुसार बाँधतर्फ ड्याम, अण्डर सुलुस, बालुवा थिग्राउने पोखरीलगायतका पूर्वाधारको काम धमाधम भइरहेको छ।

विद्युतगृहको जग्गा व्यवस्थापन गरेर कटिङ र जग्गा संरक्षणको लागि पूर्वाधार निर्माण भइरहेको छ। सेतिनी भ्यालीमा कर्मचारी र मजदुरको लागि आवास गृहलगायतका पूर्वाधार र सडकको पहुँचमार्ग निर्माण गरी आयोजनाको पूर्वाधार निर्माण सुरु गरेको आयोजनाले दश महिनामै ४० प्रतिशत भौतिक प्रगति हासिल गरेको जनाइएको छ।

कुल तीन अर्ब रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजनामा प्रवद्र्धकको तर्फबाट ३० प्रतिशत लगानी हुनेछ भने बाँकी ७० प्रतिशत लगानी सिटिजन बैंकको नेतृत्वमा कृषि विकास बैंक र माछापुच्छे बैंक लिमिटेडले लगानी गर्ने वित्तीय सम्झौता भएको छ। आयोजनाको इलेक्टोमेकालिकतर्फको ठेक्का भने भारतीय बिएफएल कम्पनीले लिएको छ।

हिमाली भूगोलको चिसो मौसम, हिमपात र वर्षा तथा चिमखोलाको मलाङ पहिरोको अवरोधलगायतका समस्याका बीच आयोजनाले निर्माणलाई निर्धारित समयमै सम्पन्न गराउने गरी जनशक्ति, मेसिन, उपकरण परिचालन तथा व्यवस्थापन गरिहेको आयोजना प्रमुख नायकले जानकारी दिए। रासस


प्रकाशित : शुक्रबार, माघ २६ २०८०१६:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend