शनिबार, साउन १२ गते २०८१    
images
images
images

भोजपुरमा फस्टायो सुन्तलाखेती, वार्षिक १० लाख आम्दानी गरिरहेका छन् बद्रिप्रसाद

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ २६ २०८०
images
images
भोजपुरमा फस्टायो सुन्तलाखेती, वार्षिक १० लाख आम्दानी गरिरहेका छन् बद्रिप्रसाद

टेम्केमैयुङ गाउँपालिकाको खावा केराबारी, अन्नपूर्ण, छिनामखु, कोट, गोगनेसँगै भोजपुर नगरपालिकाको दावा, बोमिख, पोखरे, षडानन्द नगरपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकामा सुन्तला बढी उत्पादन हुने गरेको छ।

images

भोजपुर- सुन्तला बिक्रीबाट भोजपुर किसानले मनग्य आम्दानी गर्दै आएका छन्। भोजपुरको टेम्केमैयुङ-३ अन्नपूर्णका किसान बद्रिप्रसाद अधिकारीले सुन्तला बिक्रीबाट वार्षिक १० लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्। 

images
images

त्रिचालिस वर्षअघिदेखि ३३ रोपनी क्षेत्रमा व्यावसायिकरुपमा सुन्तलाखेती गर्दै आएका किसान अधिकारीले आफ्नो बगानमा रहेका तीन सय ७५ बोट सुन्तलाले आम्दानी दिँदै आएको जानकारी दिए।

images

'मैले विगत ४३ वर्षदेखि व्यावसायिक सुन्तलाखेती गर्दै आएको छु', उनले भने, 'सुन्तला बिक्रीबाट १० लाख रुपैयाँ वार्षिक आम्दानी हुन्छ। यसबाट भएको आम्दानीले दुई छोरालाई इञ्जिनियर र एक छोरीलाई बैंकको जागिरे बनाएको छु। मेरो मुख्य आम्दानीको स्रोत सुन्तला बनेको छ।'

विगतमा यहाँका स्थानीय बजारमा मात्र बिक्री हुने भन्दै अधिकारीले पछिल्लो समय सडक विस्तारका कारण बिक्री वितरणमा सहज बनेको बताए। अहिले बगानबाट नै धरान, इटहरी, विराटनगरलगायतका सहरमा पुग्न थालेपछि किसानले राम्रो मूल्य पाएका हुन्। उत्पादित सुन्तलाको बिक्रीका लागि बजारको समस्या नभएको उनको भनाइ थियो।

images

एकपटक हुर्काएपछि सुन्तलाखेती दिगो आम्दानीको स्रोत बन्ने अधिकारीले बताए। एक पटक बिरुवा हुर्किसकेपछि एक सय वर्षसम्म लाभ लिन सकिने भएकाले भविष्यको पनि राम्रो आम्दानीको स्रोत बन्ने उनको भनाइ छ।

'सुन्तलाखेती भविष्यको राम्रो आम्दानीको स्रोत हो', उनले भने, 'एक पटक बिरुवा हुर्काएपछि लामो समयसम्म निरन्तर आम्दानी हुन्छ। सामान्यरुपमा बगानको हेरचाह मात्र गरे हुन्छ, धेरै दुःख गर्न पर्दैन।'

व्यावसायिक सुन्तलाखेतीमा लागेका अधिकारी जिल्लाको एक उदाहरणीय किसान बनेका छन्। आफैले बिक्री गर्न ठूला बजारसम्म लैजानसके हालकोभन्दा राम्रो मूल्य लिन सकिने उनको भनाइ छ। सिँचाइ तथा आधुनिक प्रविधिको विकासमा जोड दिनसके अझ राम्रो आम्दानी गर्न सकिने किसान अधिकारीको भनाइ छ। पछिल्लो समय यो क्षेत्रका धेरै युवा व्यावसायिक सुन्तलाखेती विस्तारमा जुटेको उनले बताए। 

कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको टेम्केमैयुङ गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन्। गाउँपालिकाले यहाँका किसानलाई लक्षित गरेर प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिरहेको उनले जानकारी दिइन्।

'गाउँपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ', उपाध्यक्ष राईले भनिन्, 'यहाँको माटो सुहाउँदो बालीमा जोड दिएका छौँ। गाउँपालिकालाई कृषिमा आत्मानिर्भर बनाउने लक्ष्यका साथ अघि बढेका छौँ।'

किसानलाई बहुवर्षीय बालीखेतीका लागि प्रोत्साहन गर्दै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले बताए। किसानको आवश्यकतालाई ध्यानमा राखेर सुन्तला, किबीलगायत खेतीमा जोड दिइएको उनको भनाइ छ।

'हामीले कृषिलाई व्यावसायिक बनाउने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिरहेका छौँ', प्रशासकीय अधिकृत पौडेलले भने, 'बहुवर्षीय बालीको खेती विस्तारमा जोड दिएका छौँ। किसानलाई आवश्यकताका आधारमा विभिन्न सहयोग गर्दै आएका छौँ। कृषिलाई व्यावसायिक बनाएर यहाँको आम्दानीको स्रोतका रुपमा जोड्ने हाम्रो लक्ष्य छ।'

सुन्तलाखेती विस्तारका लागि बर्सेनि बिरुवा वितरण गर्दै आइएको वडाध्यक्ष पूर्णप्रसाद राईले बताए।  यहाँका साविक ९, ४, ५, ६ ८ वडाका करिब दुई सय घर परिवार सुन्तलाखेतीमा आबद्ध रहेको उनको भनाइ छ।

'यहाँका अधिकांश किसानले सुन्तलाखेती गर्दै आएका छन्', वडाध्यक्ष राईले भने, 'खेती विस्तारमा जोड दिन किसानलाई बर्सेनि बिरुवा वितरणसँगै आवश्यक सहयोग गर्दै आएका छौँ। सुन्तला किसानको राम्रो आम्दानीको स्रोत बनेको छ।'

कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम अघि बढाएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए। यहाँका नगदेबालीसँगै, कृषि तथा पशुपालनमा लागेका किसानलाई प्रोत्साहन गर्ने योजना रहेको उनको भनाइ छ।

यहाँका नौवटै स्थानीय तहमा सुन्तला उत्पादन हुन्छ। विशेष गरेर टेम्केमैयुङ गाउँपालिकाको खावा केराबारी, अन्नपूर्ण, छिनामखु, कोट, गोगनेसँगै भोजपुर नगरपालिकाको दावा, बोमिख, पोखरे, षडानन्द नगरपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकामा सुन्तला बढी उत्पादन हुने गरेको छ। 

सुन्तलाको खेतीका लागि पूर्व उत्तर फर्केको जमिन उपयुक्त हुने किसानको भनाइ छ। सुन्तला विषेश गरेर समुन्द्री सतहबाट एक हजारदेखि बाह्र सय मिटरसम्मको उचाइमा राम्रो फस्टाउने गर्दछ। रासस


प्रकाशित : शुक्रबार, माघ २६ २०८०१५:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend