शनिबार, असोज ५ गते २०८१    
images
images

बुटवलमा दुई अर्बमा सिटी सेन्टर बनाइँदै, बहुतला पार्किङ हुने, सार्वजनिक-निजी साझेदारी

images
मंगलबार, मंसिर २१ २०७८
images
images
बुटवलमा दुई अर्बमा सिटी सेन्टर बनाइँदै, बहुतला पार्किङ हुने, सार्वजनिक-निजी साझेदारी

लुम्बिनी बस टर्मिनल क्षेत्रमा रहेको किनं ५ को करिब चार बिघा क्षेत्रफलमा बहुतला पार्किङसहितको बहुउद्देश्यीय भवन निर्माण, सञ्चालन

images
images

रुपन्देही- बुटवलमा बहुउद्देश्यीय भवन निर्माणको योजना बनाइएको छ। आधुनिक सपिङ कम्प्लेक्सका सम्पूर्ण सुविधासहितको बुटवल सिटी सेन्टर नामको बहुउद्देश्यीय भवन बनाइने छ। सार्वजनिक-निजी साझेदारी (सानिसा)मा बहुवर्षे योजनाका रूपमा यसलाई अगाडि बढाइएको छ।

images
images
images

बुटवल-९ मा रहेको लुम्बिनी बस टर्मिनल क्षेत्रमा रहेको किनं ५ को करिब चार बिघा क्षेत्रफलमा बहुतला पार्किङसहितको बहुउद्देश्यीय भवन निर्माण, सञ्चालन तथा हस्तान्तरण आयोजना अवधारणमा कार्यान्वयनको प्रक्रिया अगाडि बढाइएको प्रमुख शिवराज सुवेदीले बताए।

बस टर्मिनल परिसरमा रहेको खाली जग्गामा उपमहानगरले सिटी सेन्टर बनाउन लागेको हो। अहिले भवन निर्माणलगायत प्रक्रियाका लागि सार्वजनिक सूचना जारी गरिएको छ। करिब दुई अर्ब रुपैयाँ बराबरको लागत अनुमान गरिएको छ। बुटवल उपमहानगरको भवन निर्माणसम्बन्धी मापदण्ड २०७४ खारेज गर्दै नयाँ मापदण्ड बनाएसँगै अब बुटवलमा तोकिएको क्षेत्रमा बहुतलाका भवन निर्माण गर्न सकिने छ। बढ्दो जनघनत्व र जग्गाको अभावलाई मध्यनजर गर्दै नयाँ अवधारणा बनाइएको प्रमुख सुवेदीले बताए।

सार्वजनिक जग्गाको संरक्षण गरी खुला क्षेत्र बनाइने र बजार क्षेत्रमा सम्भाव्यता अध्ययन गरेर बहुतलाका भवन निर्माणको स्वीकृति दिने गरी नयाँ मापदण्ड बनाइएको उनको भनाइ छ। बुटवलमा जनप्रतिनिधि निर्वाचित भएयता करिब ३०० बिघा सार्वजनिक जग्गा संरक्षण गरी सरकार मातहतमा ल्याइएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २७, ४३, ४४ समेतले दिएको अधिकार प्रयोग गरी बुटवल उपमहानगरपालिकाले भवन निर्माणसम्बन्धी मापदण्ड, २०७७ बनाएको थियो।

images

सहरीकरण प्रक्रियालाई नियमन गरी स्वच्छ, स्वस्थ, दिगो तथा सबैलाई बस्नसमेत उपयुक्त सहरी वातावरण निर्माणका लागि साथै भू-उपयोग क्रियाकलापलाई सुव्यवस्थित ढङ्गले उपयोग गर्न, व्यवस्थित सहर, भूकम्पीय क्षतिको न्यूनीकरण, सहरी वातावरणको संरक्षण तथा सम्बर्द्धन, जनस्वास्थ्य तथा सरसफाइलाई प्राथमिकतामा राखेर बहुतले भवनको मापदण्ड बनाइएको प्रमुख सुवेदीले बताए।

बुटवलमा निर्माण हुने हाइराइज अर्थात् बहुतले बहुउद्देश्यीय भवनहरूमा भूकम्पीय जोखिम न्यूनीकरण गर्ने दृष्टिकोणले आवश्यक डिजाइन र स्पेसिफिकेशन बनाई प्राविधिकबाट अनुगमनसमेत गर्ने व्यवस्था मिलाइएको उपमहानगरका प्रवक्ता तथा पूर्वाधार विकास समितिका संयोजक रामप्रसाद रेग्मीले बताए।

भवन निर्माणमा त्रुटि देखिएमा डिजाइनर, निर्माणकर्ता र निर्माण व्यवसायी तीनै पक्ष जिम्मेवार हुने र सो सम्बन्धमा राष्ट्रिय भवन संहिता तथा अन्य भवन संहितामा समेत आधारित भई उपमहानगरपालिकाले निर्देशिका बनाएर जारी गर्न सक्ने प्रावधानसमेत नयाँ मापदण्डमा व्यवस्था गरिएको प्रवक्ता रेग्मीले बताए।

साझेदारीमा सिटी सेन्टर बनाइने

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले साझेदारीमा काम गर्नका लागि इच्छुक तथा योग्य कम्पनी/संस्थालाई आवेदन पेश गर्न सार्वजनिक सूचना आह्वान गरिएको बताए। उपमहानगरको सार्वजनिक निजी साझेदारी ऐन २०७४ को दफा १७ तथा सार्वजनिक निजी साझेदारी नियमावली २०७६ को नियम ६ को उपनियम १ बमोजिम तोकिएका शर्तहरुको अधिनमा रही शिलबन्दी मनसायपत्र पेश गर्न सूचना जारी गरिएको भारतीको भनाइ छ।

उपमहानगरको सार्वजनिक निजी साझेदारी ऐन, २०७४ सार्वजनिक निजी साझेदारी नियमावली, २०७६ तथा सोही नीति २०७४ अनुसार आयोजनाको डिजाइन, निर्माण व्यवस्थापन, सञ्चालन तथा हस्तान्तरण गरिने छ। बहुउद्देश्यीय आयोजनाको समन्वय गरिरहेकी उपमहानगरका सार्वजनिक निजी साझेदारी शाखा प्रमुख तथा वरिष्ठ अधिकृत लक्ष्मी ढकालका अनुसार पहिलो सूचनाका आधारमा तीनवटा राष्ट्रिय निजी कम्पनीले चासो राखेका छन्।

कम्पनी छनोट भएलगत्तै निर्माण अगाडि बढाइनेछ। निर्माणस्थलको सर्भे, माटो जाँच, वातावरणीय प्रभावलगायत प्रक्रिया पूरा भइसकेको र बहुतले भवन निर्माणमा संलग्न हुँदै आएका विज्ञहरूको समेत परामर्शमा लिएर अवधारणा बनाइएको उपमहानगरका सहरी विकास तथा योजना महाशाखा प्रमुख एवं वरिष्ठ इञ्जीनियर सुमन श्रेष्ठको भनाइ छ।

कृषि पकेट र उपसहरको अवधारणा

करिब १०२ वर्ग किमी क्षेत्रफलमा रहेको बुटवलमा हाल १९ वटा वडा र करिब ५५ हजार घर रहेको अनुमान छ। यहाँको हालको जनसङ्ख्या दुई लाखभन्दा धेरै रहेको अनुमान छ। विसं २०१६ मा बुटवल नगरका रूपमा स्थापना भएको र साविकका सेमलार, मोतीपुर गाविस गाभेर विसं २०७१ पुसमा उपमहानगर घोषणा गरिएको थियो। त्यसबेला २२ वडा रहेकामा दुई वर्षपछि समायोजन गरी १९ वडामा कायम गरिएको थियो।

मुलुककै प्रमुख आर्थिक केन्द्रका रूपमा रहेको बुटवलको आउँदो दुई दशकमा यत्तिकै सङ्ख्यामा नयाँ घर थपिने र जनघनत्व पनि बढ्ने अनुमान गर्दै उपमहानगरले सोहीअनुरुप सहरी विकास गुरुयोजनासमेत बनाएको प्रमुख सुवेदीले बताए। बृहत् बुटवलको अवधारणाका साथ सहरी विकास गुरुयोजना बनाइएको हो।

सहरी क्षेत्रमा खाली जमिन नभएकाले बहुतले भवन बनाउने र खाली रहेको जमिनमा प्लानिङ गरेर बस्तीको विकासदेखि आधुनिक प्रविधिले खेती गर्ने विषयलाई प्राथमिकतामा राखेर गुरुयोजना बनाइएको छ। सहरी कृषि प्रवर्द्धन कार्यक्रममा बुटवललाई मुलुकमै नमूना मानिएको छ।

कुन वडामा कस्ता भवन बनाउने, कहाँ के खेती लगाउने, कहाँ खुला क्षेत्र राख्ने भन्ने विषयमा विज्ञहरूले अध्ययनपश्चात यकिन गरी उपमहानगरलाई सुझाव दिएका छन्। मोतीपुर समेलार क्षेत्रको जग्गाको अध्ययन गरी नयाँ उपसहरका रूपमा बस्ती व्यवस्थित गर्ने र त्यहीँ स्याटेलाइट सिटीका रूपमा विकास गर्ने उपमहानगरको लक्ष्य छ। रासस


प्रकाशित : मंगलबार, मंसिर २१ २०७८०५:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend