काठमाडौं- निजी विद्युतीय कारमा स्वीकार्यता आउँदै गरेको भएपनि चार/पाँच वर्षअघिसम्म सार्वजनिक सवारीमा विद्युतीय साधन आयो वा आउँदैछ भन्ने सुन्दा धेरैले अनौठो मान्थे। तान्दैन होला, कति किलोमिटर कुद्छ होला, चार्ज कति समय र कहाँ गर्ने होला? लगायत विषयमा आश्चर्य मानिनु स्वभाविक थियो।
पछिल्ला चार/पाँच वर्षयता समयसँगै प्रविधिको विकासले गति लिइरहेको छ। यो अवधिमा विद्युतीय सवारीबारे धेरै बदलाव आइसकेको छ। निजी विद्युतीय कारमा उल्लेख्य रुपमा स्वीकार्यता आइसकेको छ। यता सार्वजनिक विद्युतीय सवारीमा निजी ईभीमा भन्दा छिटो स्वीकार्यता भएको छ।
अहिले आम मानिसदेखि छोटो तथा मध्यम दुरीमा माइक्रोबस तथा भ्यान सञ्चालन गर्दै आएका यातायात व्यवसायीहरूसम्ममा यसबारेको बुझाइ भिन्न भइसकेको छ। यसको पुष्टी विभिन्न रुट तथा स्कुल अनि कर्पोरेट कार्यालयहरूमा बढ्दो ईभी भ्यान खरिदले गर्छ।
छोटो तथा मध्यम दुरीमा विद्युतीय माइक्रो तथा भ्यान बिना झन्झट नियमित चल्नसक्ने प्रमाणित पनि भइसकेको छ। डीएफएसकेका ईभी भ्यान तीन वर्षभन्दा अघिदेखि खुर्कोट रुटमा चल्दै आएको छ। नियमित सञ्चालन खर्च कम भएको र तुलनात्मक रुपमा प्रतिस्पर्धी मूल्यमा आउने भएकाले धेरै यातायात व्यवसायीको रोजाइमा ईभी भ्यान/माइक्रोबस पर्न थालेको हो।
अहिलेकै रफ्तारमा विद्युतीय भ्यान तथा माइक्रोबसको बजार विस्तार भएमा आगामी ५ वर्षभित्रमा १२ देखि १५ हजार वटा यस्ता सवारी नेपाली बजारमा बिक्री हुने निश्चितप्रायः छ। साथै अहिले जुन रफ्तारमा चीनबाट विद्युतीय भ्यान तथा माइक्रोबसको ब्रान्ड आइरहेका छन्, यो कायम रहेमा त्यतिबेलासम्म करिब ३० वटाभन्दा बढी ब्रान्ड नेपाली बजारमा हुनेछन्।
हाल नेपाली बजारमा करिब एक दर्जन ब्रान्डका विद्युतीय भ्यान तथा माइक्रोबस उपलब्ध छन्। सबैजसो व्यावसायिक घराना चीन धाइरहेका छन्, नयाँ ब्रान्ड ल्याउन। केही घरानाको चिनियाँ कम्पनीसँग डिल चलिरहेको छ भने केहीले सम्झौता गरेर ब्रान्ड ल्याउने तरखरमा काम थालेका छन्। केहीले प्रोडक्ट रिभ्यु गरेर ल्याउने अन्तिम तयारी गरेका छन्।
तीन वर्षको आयात तथ्यांक
३/४ वर्षअघि विद्युतीय भ्यान नेपाल भित्रिँदा त्यसको उपभोक्ता पाउनु आयातकर्ताका लागि ठूलै उपलब्धिजस्तो हुन्थ्यो। विद्युतीय कारले केही माहोल बनाएको भएपनि यात्रु बोकेर रुटमा चल्नुपर्ने, स्कुलहरू चलाउनु पर्ने भएकाले रेज्नलगायत कुरामा धेरैलाई विश्वास थिएन। ब्याट्री फेर्नुपर्ने र कति समय टिक्ने भन्ने कुरा नबुझ्दा अप्ठेरो परिरहेको थियो।
अब समय बदलिएको छ। नियमित सञ्चालन खर्च कम हुने, आईसी इन्जिन माइक्रोसरहकै मूल्यमा पाइने र ब्याट्रीलगायतमा उपलब्ध वारेन्टीले उपभोक्रामा आशामात्र जगाएको छैन, बजार विस्तार पनि आक्रामक हुँदै गइरहेको आयात तथ्यांकले पनि पुष्टि गर्छ।
२०२१/२२ मा ११ देखि १९ सिट क्षमतासम्मका विद्युतीय भ्यान तथा माइक्रोबस ६७ वटा आयात भएको थियो। यो वर्ष आयात भएका विद्युतीय भ्यान लगभग एउटै ब्रान्डले आयात गरेको थियो।
त्यस्तै वर्ष २०२२/२३ मा विद्युतीय माइक्रोबस तथा भ्यान आयात दोबरभन्दा बढीले बढेको तथ्यांक छ। त्यसवर्ष ११ देखि १९ सिट क्षमताका १ सय ७३ वटा विद्युतीय भ्यान आयात भएको थियो।
२०२३ को अप्रिलदेखि २०२४ को जनवरीसम्मको १० महिनामा विद्युतीय भ्यान तथा माइक्रोबसको आयात ४ गुणाभन्दा बढीले बढेर ८ सय १ वटा आयात भएको छ। यी सबै विद्युतीय भ्यान चीनबाट आयात भइरहेको छ।
विद्युतीय भ्यान/माइक्रोबसको बजार
सहरी रुट, अन्तरसहर रुट, छोटो तथा मध्म दुरीमा चल्दै आएका परम्परागत माइक्रोबसहरूलाई विद्युतीय विस्तापित गर्ने ट्रेन्ड बस्ने निश्चितप्राय छ। काठमाडौं उपत्यकामा सञ्चालन हुँदै आएका माइक्रो सञ्चालकहरू विद्युतीमा जान तयार देखिएका छन्।
पछिल्लो समय विभिन्न रुटमा विद्युतीय माइक्रोबस चलिरहेका छन्। सञ्चालन खर्चले कम हुनु नै रुटमा सार्वजनिक सवारी चलाउनेहरू आकर्षित हुनुको आधार हो।
जसरी विगतमा कमर्सियल सवारी बिक्री गर्नेहरू विद्युतीय भ्यान तथा माइक्रो सेगमेन्टमा उदायन थाले, यसले यातायात व्यवसायीहरूलाई विश्वास तथा कन्फिडेन्स मिल्दै गइरहेको छ।
रुटका साथै स्कुल र ट्राभल कम्पनीहरू पनि विद्युतीय भ्यान तथा माइक्रोबस प्रति आकर्षित हुन थालेका छन्। उपत्यकासहित देशभरका सहरी क्षेत्रमा सञ्चालित निजी विद्यालयहरूको रोजाइमा विद्युतीय भ्यान पर्न थालेको छ।
आवाज नआउने, सानो आकारको भएकाले साँघुरा बाटोमा सजिलै लैजान सकिने, प्रदूषण नगर्ने तथा सञ्चालन खर्च न्यून भएकाले स्कुलहरू विद्युतीय भ्यान नै लिन अग्रसर हुन थालेका छन्।
त्यसैगरी पर्यटन क्षेत्रमा काम गर्ने संघसंस्थाहरू पनि मध्यम दुरीका लागि पर्यटकहरूलाई लान/ल्याउन ईभी भ्यानतिरै आकर्षित भइरहेका छन्। विद्युतीय भ्यान तथा माइक्रोबस आयातकर्ताहरूको ध्यान पनि यही तीनवटा क्षेत्रमा केन्द्रित रहेको छ।
सुरु भइसक्यो प्रतिस्पर्धा, अझै रोचक बन्दै
चीनमा सरकारी नीतिअनुसार नै प्लेटफर्म सेयरिङको व्यवस्था रहेको छ। यो भनेको कुनै एक कम्पनीले आरएन्डडी (रिसर्च एन्ड डेभलपमेन्ट) गरेर एउटा भ्यानको विकास गरेपछि त्यही प्लेटफर्मका आधारमा अन्य कम्पनीले बनाउन चाहेमा त्यो सेयर गर्नुपर्ने हुन्छ।
त्यसैले चिनियाँ सवारी उत्पादकहरूले चाहेअनुसारको ब्रान्ड नेम र लोगो राखेरै विद्युतीय भ्यान तथा माइक्रोबस नेपाली आयातकर्ताका लागि बनाइदिने गरेका छन्। त्यसको एउटै मात्र सर्त हुन्छ कति वटा सवारी वार्षिक रुपमा खरिद गर्ने?
५/७ सयको निश्चित संख्या किनिदिने भएपछि चिनियाँ सवारी उत्पादक त्यसमा राजी हुन्छन्। चीनमा लेफ्टह्यान्ड ड्राइभ सवारी चल्ने भएकाले निश्चित संख्याको प्रतिबद्धता नदिएसम्म उनीहरू उत्पादनका लागि भने तयार हुँदैनन्।
अहिले नेपाली बजारमा डीएफएसके, केवाईसी, एसआरएम, भिक्ट्री, सीएचटीसी, फोटोन, हाइगर, विलिङ, गोल्डेन ड्रागन, किङलङ, हाइलोङ, स्काइवेललगायत ब्रान्ड उपलब्ध छन्।
करिब आधा दर्जन ब्रान्ड आयात गर्न नेपाली आधिकारिक बिक्रेता नियुक्त भइसकेका छन्। त्यस्तै एक दर्जनभन्दा बढी व्यावसायिक घराना उपयुक्त ब्रान्डको खोजीमा छन्। यसले के देखाउँछ भने आगामी दिनमा विद्युतीय भ्यान तथा माइक्रोबस सेगमेन्टमा रोचक प्रतिस्पर्धा हुने निश्चित छ।
स्थायित्व र पर्याप्त सर्भिसको चिन्ता
विगत १०/१२ वर्षअघि चिनियाँ ब्रान्डका कार लिएर व्यवसायीहरू आएका थिए। जोते, ग्रेटवाल, चेरीलगायत ब्रान्डका कार एक लट नेपाल ल्याएर बिक्री गरियो। तर ती आयातकर्ताहरूले नियमित रुपमा आयात गरेनन् भने आवश्यक सर्भिस तथा स्पेयर पार्टस नपाएर निक्कै समस्या उपभोक्ताले झेलेका थिए। जसले ब्रान्ड प्रति नै उपभोक्ताको धारणै बदलिएको थियो।
तर पछिल्लो समय ठूला व्यावसायिक घरानाहरूले ती पुराना ब्रान्डको आधिकारिक बिक्रेता बनेसँगै पार्टस र सर्भिसको समस्या सम्बोधन हुन थालेको हो। अहिले विद्युतीय भ्यान तथा माइक्रोबसमा पनि त्यस्तै समस्या आउने हो कि भन्ने चिन्ता व्यवसायी तथा खरिदकर्ताहरूको छ।
त्यसैले विद्युतीय भ्यान तथा माइक्रोबस व्यवसायमा ‘व्यावसायिक दक्षता’ र घरानाले प्रवेश नगर्ने हो भने एकपटक सवारी बिक्री गरेपनि नियमित रुपमा सर्भिस, स्पेयर पार्टस र चार्जिङ पूर्वाधारमा जटिलता आउन सक्ने जोखिम छ। यसले विद्युतीय भ्यान तथा माइक्रोबसको व्यवसायमा स्थायित्वको समस्या ल्याउने छ।
सार्वजनिक यातायातको रुपमा सञ्चालन हुने भएपछि त्यसका लागि आवश्यक पार्टस र सर्भिस समयमै उपलब्ध हुन नसकेमा व्यवसायीले क्षतिमात्र बेहोर्दैनन्, आम यात्रुले समेत दुःख पाउने छन्।