काठमाडौं- वैदेशिक रोजगारीको लागि युरोप पठाइदिन्छु भन्दै ६३ लाख रूपैयाँ ठगी गरेको अभियोगमा तीनजना पक्राउ परेका छन्। ललितपुर नख्खु बस्ने सर्लाहीका सरोज यादव, नागेन्द्र यादव नाम बताउने ३५ वर्षीय रामेश्वर सिंह र धनुषाका सरोज यादव भनिने २७ वर्षीय रामसेवक सिंहलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूले ५५ जनालाई युरोप पठाइ प्रतिष्ठित कम्पनीमा मासिक १ लाख ५५ हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी उक्त रकम ठगी गरेको खुलेको हो।
रामेश्वर सिंह २०७४ सालमा भेरी ओभरसिस सञ्चालन गर्दा २ सय जनालाई ३ करोड ठगी गरेकोमा १ वर्ष ६ महिना जेल बसेर निस्केका थिए। सरोज यादव, नागेन्द्र यादव र गुरूदेव यादवको नागरिकताको प्रमाणपत्रमा आफ्नो ज्वाइँ नाता पर्ने रामसेवकको फोटो टाँसी कन्सलटेन्सी दर्ता गरी ४८ जनाबाट विदेश पठाउने भन्दै प्रतिव्यक्ति ७ लाख रूपैयाँसम्म उठाएको र रामेश्वर सिंहले राम सेवक सिंहको फोटो टाँसी उल्लेखित व्यक्तिको नागरिकता दुरूपयोग गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ।
प्रहरीले मंगलबार पक्राउ परेका उनीहरूको साथबाट विभिन्न व्यक्तिको नाममा काटिएको ६० लाख रूपैयाँ बराबरको २५ थान चेक र सिम कार्ड ९ थान बरामद गरेको छ।
उनीहरूमाथि ठगी, कीर्ते, जालसाजी, बैकिङ कसुर लगायतका मुद्दामा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।