काठमाडौं- ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ६ देवीडाँडामा सूर्यदल गणको फायरिङ रेन्जसहितको भौतिक संरचना निर्माण हुने भएको छ। भौतिक संरचना निर्माणका लागि वन तथा वातावरण मन्त्रालयले रक्षा मन्त्रालयमार्फत आएको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट सार्वजनिक गरेको छ।
सूर्यदल गणको भौतिक पूर्वाधार तथा संरचना निर्माणका लागि ४७ करोड ८८ लाख ६० हजार रुपैयाँ लागत अनुमान गरिएको छ। सूर्यदल गणले आर्थिक वर्ष २०७८/७९ सालको कार्यक्रममा नै गणका लागि आवश्यक भौतिक संरचनाहरू तथा फायरिङ रेन्ज निर्माण गर्ने उद्देश्यले गुरुयोजना तयार गर्ने कुरा उल्लेख गरेको थियो।
प्रस्तावित सूर्यदल गणको भौतिक पूर्वाधार निर्माण आयोजना ललितपुर जिल्लाको गोदावरी नगरपालिकाको वडा नम्बर ६ देवीडाँडामा आयोजनाअन्तर्गत फायरिङ रेन्ज तथा अन्य भौतिक पूर्वाधारहरू रहनेछन्। जसअन्तर्गत पार्किङ, वर्कसप, खेलमैदान, परेड मैदान, क्वार्टरगार्ड, सैनिक आवास, केन्द्रीय सह भोजनालय, पौडी पोखरी, मनोरञ्जन हल, बाधापार इलाका, पाहुना घर, स्टोर र हेलिप्याड भने निर्माणको क्रममा भण्डारण क्षेत्र, कामदार शिविर क्षेत्र तथा सुरक्षा क्षेत्र रहनेछन्।
गुरुयोजना बमोजिम आवश्यक संरचनाहरू निर्माण गर्नको लागि करिब १६ हेक्टर जग्गा भोगाधिकार गर्नुपर्ने हुन्छ। सूर्यदल गण ललितपुर जिल्लाको गोदावरी नगरपालिकामा अवस्थित छ। यस गण सो स्थानमा विगत लामो समयदेखि बस्दै आइरहेको तथा आवश्यक पूर्वाधारहरू निर्माणका लागि दम्सीडोल सामुदायिक वनको जग्गा आपसी सहमतिमा प्रयोग गर्दै आइरहेको छ।
प्रस्तावक सूर्यदल गणले बागमती प्रदेश, ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ६ मा अवस्थित देवीडाँडा क्षेत्रमा गणको लागि आवश्यक भौतिक पूर्वाधार निर्माणको निम्ति चाहिने करिब १६ हेक्टर जग्गा भोगाधिकार लिने योजना बनाएको छ ।