शुक्रबार, माघ ४ गते २०८१    
शुक्रबार, माघ ४ २०८१
images
images

पिप्ले-भगवती सडक कालोपत्र

images
बुधबार, माघ २४ २०८०
images
images
पिप्ले-भगवती सडक कालोपत्र

विसं २०६६ मा मार्ग खोलिएको यो सडक सामान्य मर्मत गरेर यातायातका साधन सञ्चालन हुँदै आएको थियो। जीर्ण सडकमा जोखिम र कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ।

images
images

म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिकाको पिप्लेबाट भगवती जोड्ने सडक कालोपत्र भएको छ। रघुगंगा-३ पिप्लेको रघुगंगा माविबाट वडा नं २ को मैदान हुँदै जैसीखोरसम्मको सडक कालोपत्र भएको हो।

images
images
images

पूर्वाधार विकास कार्यालय म्याग्दीका सडक इन्जिनियर सञ्जय सुवेदीले पाँच किलोमिटर डीबीएसडी प्रविधिको कालोपत्र र पाँच सय मिटर ढलान गर्ने काम सकिएको जानकारी दिए। 'सात मिटरको चौडाइका दरले कालोपत्र भएको छ', उनले भने, 'उकालो र बस्तीभित्र तीन ठाउँमा पाँच सय मिटर ढलान भएको हो।'

images

गत जेठको अन्तिम सातादेखि सुरु भएको कालोपत्रको काम गत महिना सकिएको थियो। इन्जिनियर सुवेदीका अनुसार डिलतर्फ खम्बा गाड्ने र सडक छेउछेउमा साइडबार राख्ने काम जारी छ। 'निर्माण व्यवसायीले काम सकेर भुक्तानी मागेको छ। सडकको नापजाँच र अन्तिम मूल्यांकनको चरणमा छ', कार्यालयका सूचना अधिकारी अर्जुन शर्माले भने।

images
images
images

गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक नमूना सडक कार्यक्रम’अन्तर्गत विसं २०७६ देखि सुरु भएको आयोजनाको निर्माण कम्पनीसँग १८ करोड ४९ लाख आठ सय ३८ रूपैयाँमा ठेक्का सम्झौता भएको थियो।

विसं २०७८ जेठ २४ गते सम्पन्न गर्ने लक्ष्य थियो। कोरोना महामारी, प्राकृतिक विपद्, नदीजन्य निर्माण सामग्रीको अभाव, सामाजिक समस्यालगायत कारणले ढिलाइ भएको निर्माण कम्नीका इन्जिनियर रामु कँडेलले बताए। उनका अनुसार राहुघाटबाट रघुगंगा माविको भवन अगाडिसम्मको करिब तीन किलोमिटर सडक आयोजनाबाट हटाइएको छ।

गलेश्वरबाट बगैँचासम्मको सडक पहिराको जोखिम र बगैँचाबाट रघुगंगा माविसम्मको सडक राहुघाट जलविद्युत् आयोजना प्रभावित क्षेत्रअन्तर्गत पर्ने भएकाले आयोजनाबाट हटाइएको सूचना अधिकारी शर्माले बताए।

उक्त सडक स्तरोन्नति भएपछि पिप्ले, भगवती र बेगखोलाको तीन वडाका तीन हजारभन्दा बढी घरधुरी प्रत्यक्ष लाभान्वित भएका रघुगंगा गाउँपालिका-२ का वडाध्यक्ष रिम कटुवालले बताए। 'पहिले पाँच किलोमिटर दुरी पार गर्न ४५ मिनेट लाग्दथ्यो', उनले भने, 'कालोपत्र भएपछि ४५ मिनेटको यात्रा १० मिनेटमा छोटिएको छ।'

हिलो र धुलोबाट मुक्ति, यात्रा सहज र सुरक्षित भएको स्थानीय बताउँछन्। यसैबीच, सडक कालोपत्र भएपछि भाडा समायोजन गर्न स्थानीयवासीले माग गरेका छन्।

सदरमुकाम बेनी जान-आउन, कृषि उपज निकासी, खाद्यान्न, निर्माण सामग्रीलगायत दैनिक उपभोग्य सामान ढुवानीका साथै बिरामीलाई समयमै अस्पताल पुर्‍याउन सहज भएको छ। विसं २०६६ मा मार्ग खोलिएको यो सडक सामान्य मर्मत गरेर यातायातका साधन सञ्चालन हुँदै आएको थियो। जीर्ण सडकमा जोखिम र कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ।

सडकको मंगलबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम जुग्जालीले अनुगमन तथा निरीक्षण गरे। निरीक्षणका क्रममा मन्त्री जुग्जालीले एक निर्वाचन क्षेत्र, एक सडक आयोजनाका अधिकांश योजना यसै वर्ष सकिने अवस्थामा रहेको बताए।

रघुगंगा गाउँपालिका-१ बेगका वडाध्यक्ष बिलबहादुर फगामी र स्थानीयवासीले भगवतीबाट बेगतर्फको सडक स्तरोन्नतिको लागि अर्को प्याकेजको योजना सुरु गर्न मन्त्री जुग्जालीसँग आग्रह गरे। रासस


प्रकाशित : बुधबार, माघ २४ २०८०१३:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend