काठमाडौं- ब्रान्डेड चिनियाँ जहाज नेपाल आएको ७ वर्ष हुन लागको थियो। सरकारले ऋण तथा अनुदानमा गरी ४ वटा वाई-१२ र २ वटा एमए-६० जहाज नेपाल ल्याएको थियो। ६ वटा जहाज खरिदमा सरकारको पौने ७ अर्ब परेको थियो।
निगमले पहिलो पटक २०७१ वैशाखमा एउटा अनुदानको एमए-६० (५६ सिट क्षमता) जहाज र सोही वर्षको कात्तिकमा अनुदानबापतकै एउटा वाई-१२ (१८ सिट क्षमताको) जहाज चीनबाट ल्याएको थियो।
त्यसपछि बाँकी जहाज भने क्रमशः २०७३ मा एउटा एमए-६० र एउटा वाई-१२ नेपाल आएका थिए। निगमले २०७४ फागुनमा दुई सरकारबीचको सम्झौताअनुसार बाँकी रहेका दुईवटा वाई-१२ जहाज नेपाल ल्याएको थियो।
जहाज खरिदमा नेपालले अनुदान र सफ्ट लोनमा गरी ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ खर्च गरिसकेको छ। कूल रकममध्ये दुई अर्ब ९४ करोड ३० लाख अनुदान सहयोग थियो भने ३ अर्ब ७२ करोड वार्षिक १ दशमलव ५ प्रतिशत दरको ऋण थियो।
तर जहाज नेपाल आएपछि कुनै पनि दिन पूर्ण क्षमतामा उड्न सकेनन्। जहाज उडानबाट निगमले पनि झन्डै ३ अर्ब रुपैयाँ नोक्सानी ब्यहोर्न पर्यो। जहाज मर्मतमा सबैभन्दा ठूलो समस्या निगमले भोग्न परेको थियो।
अर्को जहाजको पार्टपुर्जामा समस्या खडा भएको निगमकै पूर्वकार्यकारी अध्यक्ष तथा महाप्रबन्धकहरु बताउँछन्। जहाज उडानमा भन्दा व्यवस्थापन गर्नु नै उचित हुने ठहर भएको निगम कार्यकारी अध्यक्ष मदन खरेल बताउँछन्। जहाज उडानयोग्य बनाउन नै समस्या रहेको उनको भनाइ छ।
‘जहाज उड्न त उड्छ,’ उनले भने, ‘तर जहाजको पार्टपुर्जा पाउन र मर्मतमा निर्माता कम्पनीको सहयोग नहुँदा समस्या छ। जहाज बिग्रिएपछि मर्मतमा सबैभन्दा ठूलो समस्या आउँछ।’
चिनियाँ जहाज उडान गर्ने निर्णय उचित नभएको बोर्ड पूर्वअध्यक्ष तथा पर्यटन सचिव सुशील घिमिरे बताउँछन्। ‘जहाज उडानमा सम्भव नै नभएको र निगमलाई कुनै फाइदासमेत नरहेको भन्दै जहाज उडान बन्द गर्ने निर्णय भएको थियो,’ उनले भने, ‘अर्थ मन्त्रालयले पनि सकेसम्म जहाज भाडामा लगाउनु र नसके बिक्री गर्नु भनिसकेको अवस्थामा जहाज उडान गर्छु भनु उचित छैन। यी जहाजको व्यवस्थापन गरेर नेपालको भूगोल सुहाउँदो जहाज ल्याउन उचित हुन्छ।’
तर यति धेरै रकम खर्च गरेर ल्याइएको नयाँ ब्रान्डेड जहाज ६ वर्षमै उडान बन्द गर्नुपर्ने अवस्थामा पुगेको थियो। सोही आधारमा निगम सञ्चालक समितिले २०७७ असारमा बसेको सञ्चालक समित बैठकले जहाज उडान नगर्ने निर्णय गरेको थियो।
तर, अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले र निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीले कमिसनका लोभमा जहाज उडान गर्ने तयारी थालेको छन्। जहाज उडानयोग्य बनाउनकै लागि १७ करोड र पाइलट व्यवस्थापनमै ३ करोड रुपैयाँभन्दा बढी खर्च हुने भएको छ। एकदिन पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको भन्दै उडान बन्द भएको जहाज पुनः उडान गर्नुको पछाडि आर्थिक स्वार्थ जोडिएको निगम स्रोतको दाबी छ।
उडान बन्द भएका ६ वटा जहाजले कुल ९ हजार ८ सय २८ घण्टा उडान गरेका छन्। यो जहाजहरूको उडान क्षमताको १० प्रतिशत पनि नभएको नेपाल एयरलाइन्सका पाइलटहरू नै बताउँछन्।
कुन जहाज कति घण्टा उडे
नेपालले पहिलो पटक २०७१ वैशाखमा चिनियाँ एमए-६० जहाज नेपाल भित्र्याएको थियो। अर्को वाई-१२ जहाज पनि २०७१ सालकै कात्तिकमा नेपाल आएको थियो।
नेपाल एयरलाइन्स स्रोतले उपलब्ध गराएको तथ्यांक अनुसार ४ वटा वाई-१२ र २ व्टा एमए-६० गरी ६ वटा चिनियाँ जहाजले कुल ९ हजार ८ सय २९ घण्टा मात्रै उडान गरेको थिए।
यो उडान घण्टा जहाजको उडान बन्द गर्नु अगाडिसम्मको हो। जसमा ४ वटा वाई-१२ ३ हजार ७ सय ९९ घण्टा उडेको थिए। यसैगरी २ वटा एमए-६० जहाज भने ६ हजार २९ घण्टा उडेका थिए।
कुन जहाज कति घण्टा उडे (यस्तो छ विवरण)