रुकुमपश्चिम- गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले क्षति पुर्याएको रुकुमपश्चिममा अस्थायी आवास निर्माणको काम जारी रहेको छ। भूकम्प गएको तीन महिनाभन्दा बढी सयम बितिसक्दा पनि सबै भूकम्पपीडित अस्थायी आवासमा सर्न सकेका छैनन्।
अझै पनि कतिपय भूकम्पपीडित त्रिपालको साहाराले रात काटिरहेका छन् भने कतिपय चर्किएको घरमा बस्न बाध्य छन्। तीन महिनाको अवधिमा जिल्लाभर २२ हजार आठ सय आठ अस्थायी आवास निर्माण सम्पन्न भए पनि सबै पीडितको अस्थायी आवास निर्माण हुन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाले जानकारी दिए।
उनका अनुसार जिल्लाभर चार हजार पाँच सय ७१ अस्थायी आवास निर्माणको चरणमा रहेका छन्। हालसम्म सबैभन्दा बढी आठबीसकोट नगरपालिकामा सात हजार आठ सय ८२ अस्थायी आवास निर्माण सम्पन्न हुँदा सबैभन्दा कम मुसीकोट नगरपालिकामा पाँच सय ९८ मात्र अस्थायी आवास निर्माण भएका छन्।
त्यस्तै सानीभेरी गाउँपालिकामा पाँच हजार तीन सय ४५, चौरजहारी नगरपालिकामा चार हजार दुई सय ३४, त्रिवेणी गाउँपालिकामा दुई हजार पाँच सय ६० र बाँफीकोट गाउँपालिकामा दुई हजार एक सय ८९ गरेर जिल्लाभर २२ हजार आठ सय आठ अस्थायी आवास निर्माणको काम सम्पन्न भई लाभग्राही अस्थायी आवासमा बस्न थालेका सहायक प्रजिअ बढुवाले जानकारी दिए।
हालसम्म जिल्ला विपद् व्यवस्थापन कोषबाट २९ हजार चार सय छ लाभग्राहीका लागि स्थानीय विपद् न्यूनीकरण कोषमा २५ हजार रूपैयाँका दरले ७३ करोड ५१ लाख ५० हजार रूपैयाँ रकम पठाइएको छ।
स्थानीय विपद् कोषबाट भने २७ हजार दुई सय ९३ लाभग्राहीले २५ हजार रूपैयाँका दरले ६८ करोड नौ लाख ५० हजार रूपैयाँ रकम प्राप्त गरेका छन्। हालसम्म जिल्लाभर २९ हजार बढी लाभग्राहीको प्रहरी लागत संकलन भएको छ। संकलनको काम जारी रहेकाले लाभग्राहीको सङ्ख्या ३० हजार पुग्ने जिल्ला प्रशासन कार्यालयले अनुमान गरेको छ। रासस