काठमाडौं- उद्योगपति अरुणकुमार चौधरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार पक्राउ गरेपछि औद्योगिक तथा व्यावसायिक समुदाय एकसाथ तरंगित भएको छ। व्यवसायिक संघसंस्थाहरूले विज्ञप्तीमार्फत घटनाको विरोध गरिरहेका छन्।
चौधरीलाई प्रहरीले पक्राउ गरेको केही घण्टामै नेपाल उद्योग परिसंघले पत्रकार सम्मेलन नै गरेर विरोध जनायो भने नेपाल उद्योग वाणिज्य महासंघ तथा अन्य वस्तुगत संगठनले पनि पक्राउको विरोध जनाए। कुनै पनि उद्योगी व्यवसायी पक्राउ गर्दा प्रतिनिधिमूलक संस्थाले त्यति छिटो प्रतिक्रिया दिएको सायद यो पहिलोपटक हो।
बाँसबारी छालाजुत्ता उद्योगको नाममा रहेको जग्गाका विषयमा अनुसन्धानका लागि भन्दै प्रहरीले चौधरीलाई पक्राउ गरेको हो। कानूनविपरीत जग्गाको हस्तान्तरण भएको आफ्नो अनुसन्धानबाट पाइएको र बलियो प्रमाण र तथ्य भेटिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
तर उद्योगी तथा व्यवसायीहरू, प्रतिनिधिमूलक संगठनका नेताहरूले भने यसलाई राज्य प्रबर्द्धित आतंकको नाम दिएका छन्। आफ्नो राजनीतिक लोकप्रियता तथा वाहवाहीका लागि एउटा उद्यमीको शाख क्षयीकरण गर्न खोजिएको उनीहरूले अर्थ्याएका छन्।
अनुसन्धानको क्रममा प्रमाण नष्ट नगर्ने र भागेर जाने जोखिम नहुँदा पनि पक्राउ गर्नु राज्यको नियत देखिएको नेपाल उद्योग परिसंघले उल्लेख गरेको छ।
‘सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले हठात् रुपमा पक्राउ गरेको यहाँहरु सबैलाई अवगत भइसकेकै छ। यो पक्राउअघि न प्रहरीले कुनै सूचना दिएको थियो, न त अनुसन्धानका लागि बोलाएको नै थियो। उहाँ देश छोडेर कतै जान लाग्नुभएको थिएन। तर राज्यले एक व्यवसायीलाई मात्र नभएर सम्पूर्ण निजी क्षेत्रलाई नै त्रसित बनाउने गरी धरपकडशैलीमा पक्राउ गरेको छ। यसप्रति निजी क्षेत्रको घोर आपत्ति छ। यसले सम्पूर्ण उद्योगी-व्यवसायीको मानमर्दन भएको हामीले महसुस गरेका छौँ’ परिसंघको विज्ञप्तिमा उल्लेख गरिएको छ।
नीतिगत निरन्तरताको मर्ममाथि प्रहार गर्दै राज्यले निर्णय गर्दै जाने हो भने यो देशमा लगानीको वातावरण बिग्रिने प्रतिनिधिमूलक संस्थाका प्रतिनिधिहरुले बताएका छन्।
२०४६ सालको राजनीतिक परिवर्तनपछि सरकारले कानून नै बनाएर निजीकरण गरेको र सोही समयमा कानूनअनुसार भएका फाइल खोल्दै अहिले व्यवसायीमाथि हठात् लाठी चार्ज गर्ने नीति लिने हो भने यहाँ कोही पनि सुरक्षित नहुने व्यवसायीहरूको भनाइ रहेको छ।
त्यतिबेला निजीकरण गरिएका बिटुमिन तथा ब्यारेल उद्योग, बुटवल पावर कम्पनी, भक्तपुर इट्टाटायल उद्योग, हरिसिद्धि इट्टा टायर, बालाजु कपडा उद्योग, भृकुटी कागज कारखाना लगायतका उद्योगहरुको निजीकरण भएको थियो।