काठमाडौं- वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरू घर फर्किँदा विमानस्थलमा जहिल्यै तनावमा हुन्छन्। उनीहरूले घरायासी तथा व्यक्तिगत प्रयोगका उपकरण ल्याउँदा लामै चेकजाँच हुन्छ।
थप एउटा मोबाइल ल्याउँदा लामो चेकजाँच, एक ग्राम बढी सुन ल्याउँदा भन्सार तिर्नुपर्छ वैदेशिक रोजगारीबाट फर्किएकाहरूले।
सुन चाँदी र मोबाइलमात्र होइन एक किलो बढी चकलेट, ल्यापटप, टीभी ल्याउँदा पनि उनीहरूमाथि अनुसन्धान नै हुन्छ। पछिल्लो समय त झन कानूनले दिएको सुविधाअनुसार ल्याइने सुनलाई रसायन प्रयोग नगरेको भनी भन्सार तिराउने गरिएको छ।
वैदेशिक रोजगारीमा गएका नेपाली जसले पठाएको रेमिट्यान्सले वर्षौंदेखि नेपालको अर्थतन्त्रको सन्तुलन कायम भइरहेको छ। गरिबी निवारण तथा देश विकासमा योगदान भइरहेको छ। तर त्यही त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री तथा उच्चपदस्थका लागि त्यो नियम पालना हुँदैन। भीआईपी तथा भीभीआईपीहरूका लागि भने त्यस्तो कडाइ हुँदैन। उनीहरूले चाहे भने निर्वाध बहुमूल्य वस्तुहरू ल्याउन सक्छन्।
कसरी भीआईपीहरूले बहुमूल्य वस्तु ल्याउन सक्छन्?
धेरै समय भएको छैन, जतिबेला सरकारले नेपालीहरूले ल्याउने सुनचाँदीमा कडाइ गर्दै थियो। त्यही बेला संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले कोटाभन्दा धेरै वस्तु नेपाल छिराएका छन्। भन्सार नियमनभन्दा बढी उनले त्यस्ता सामान ल्याएका थिए।
बहुमूल्य घडी, आईफोन, रक्सी जस्ता सामान मन्त्री आलेले भन्सार छलेर ल्याएका थिए। एउटै विमानस्थलमा मन्त्रीका लागि एउटा, उच्च पदस्थका लागि अर्को नियमन कसरी हुन्छ?
विदेशबाट आउँदा भीआईपी र सर्वसाधारणको बाटो फरक हुन्छ। तर लगेज भने सँगै जान्छ। तर ह्यान्ड क्यारी भीआईपीले छुट्टै ल्याउँछन्।
भीआईपी जुन बाटोबाट आउँछन् त्यहाँ सामान्य सुरक्षा चेकजाँच गर्ने संयन्त्र नभएको भने होइन। विमानस्थल भन्सार कार्यालयले भीआईपीका लागि पनि एक्सरे जाँच गर्ने व्यवस्था गरेको छ। तर त्यहाँ खटिने कर्मचारीको स्थायी दरबन्दी छैन। अर्थात त्यो डेस्कमा भन्सारका कर्मचारी नियमित बस्दैनन्।
‘भन्सारका कर्मचारीबाहेक सुरक्षा अधिकारीमात्र बस्छन्। भन्सारका एक्सले अपरेटरहरू नहुनेवित्तिकै कुन भीआईपीको हातेझोलामा के सामान छ त्यो प्रहरी अधिकारीले थाहा पाउँदैनन्। उनीहरूले झोला खोलेर हेर्दा पनि हेर्दैनन्’ विमानस्थलका एक उच्च अधिकारीले भने।
तर विमानस्थल भन्सार कार्यालयका प्रमुख महेशप्रसाद भट्टराई भने भीआईपीको उडान अतवरणको सूचना पाएपछि कर्मचारीहरू त्यो डेस्कमा पुग्ने बताउँछन्। उनका अनुसार कुनै भीआईपी काठमाडौं विमानस्थलमा कति बजे अवतरण हुँदैछ भन्ने कुराको जानकारी विमानस्थल कार्यालयले पठाउँछ। त्यो सूचनाको आधारमा भन्सारले कर्माचारी खटाउँछ।
जस्तो नोभेम्बर ६ मा मन्त्री प्रेम आले दोहाबाट काठमाडौं अवतरण हुँदैछन् भन्ने जानकारी विमानस्थलको उडान तालिकाअनुसार सूचना भन्सार कार्यालयलाई जानकारी दिनुपर्छ। गडबडी यहीँ हुन्छ। विमानस्थल कार्यालयले जानकारी नै नियमित दिँदैन। त्यस्तो जानकारी नभएपछि प्रहरी अधिकारीको भरमा डेस्क रहन्छ।
यही अवस्थाको फाइदा उच्चपदस्थहरूले लिन्छन्। हाते झोलामा अट्ने जतिसुकै बहुमूल्य सामग्री भए पनि उनीहरूले बिनाचेकजाँच ल्याउन सक्छन्।
‘यो वर्षौंदेखि भइरहेको छ। भीआईपीहरूले चाहेमा जे पनि ल्याउन सक्छन्। जस्तो सामान पनि ल्याउन सक्छन्। हामीले जति कुरा उठाए पनि सुनुवाइ हुँदैन’ विमानस्थल निकट स्रोतले भन्यो।
हाते झोलामा अट्ने सामग्रीहरू मोबाइल, सुनचाँदीमात्र होइन भीआईपीले ल्याएको रक्सीकै विषयमा पनि प्रश्न नउठ्न सक्छ।
यो पनि- भन्सार छलेर उपहार ल्याउँछन् मन्त्री, प्रेम आलेले ल्याए ७ रोलेक्स, ७ आइफोन र ९ बोतल रक्सी