काठमाडौं- वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम लिएर ठगी गर्ने घटनाहरू बढ्न थालेका छन्। पीडितहरूले रोमानिया, माल्टा र अजरबैजान जानसमेत बुझ्दै नबुझी लाखौँ रुपैयाँ बुझाउँदा ठगीका घटना बढेका हुन्।
पछिल्लो समय क्रोएसिया पठाइदिन्छु भन्दै नगद तीन लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं जिल्ला बूढानीलकण्ठ नगरपालिका-१२ कपन बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका-२ घर भएका ४० वर्षीय मिङमार लामालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
मिङमारले एक जनालाई वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक रु एक लाख तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी उक्त रकम ठगी गरेकाले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-६ बौद्धबाट पक्राउ गरेको हो।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
रोमानिया पठाइदिन्छु भन्दै नगद एक लाख ५० हजार ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ सामाखुशी बस्ने सल्यान बंगाद कुपिन्डे नगरपालिका-७ घर भएका ४२ वर्षीय जगत ओली क्षेत्रीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
जगतले एक जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाइ होटलमा मासिक ७० हजार तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं समाखुशीबाट पक्राउ गरेको हो।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।
जापान पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
जापान पठाइदिन्छु भन्दै दुई लाख ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ सामाखुशी बस्ने गोरखा पालुङटार नगरपालिका-१ घर भएका ३० वर्षीय भरत भट्टराईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
भरतले एक जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाई होटलमा मासिक एक लाख ७० हजार तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी उक्त रकम ठगी गरेकाले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं समाखुशीबाट पक्राउ गरेको हो।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
अजरबैजान पठाइदिने भन्दै ३३ लाख ठगी
अजरबैजान पठाइदिने भन्दै ३३ लाख २ हजार रुपैयाँ ठगी गर्ने एक कन्सलटेन्सी सञ्चालकलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा बारा कोल्वी नगरपालिका-४ बस्ने ३३ वर्षीय रामशरण शिवाकोटी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिएका छन्।
शिवाकोटीले मिराकल कन्सलटेन्सी खोली युनिसा आलेमगरलाई वैदेशिक रोजगारीका लागि अजरबैजान पठाइदिने पटकपटक गरी १६ लाख ५० हजार, राजन प्रसाईंसहित तीन जनाबाट १६ लाख ५२ हजार ठगी गरी सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीको भनाइ छ।
उनलाई आइतबार विहान १० बजेतिर कञ्चनपुरको भिमदत्त नगरपालिका-४ गड्डाचौकीबाट पक्राउ गरी आज सार्वजनिक गरिएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए।
'प्रारम्भिक अनुसन्धानमा सिवाकोटीले फ्रान्स, स्पेन, युक्रेनलगायतका देशमा रोजगारीका लागि पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग रकम लिएको पनि खुल्न आएको छ' उनले भने। उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि सोमबार नै वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालले जनाएको छ।
माल्टा पठाइदिन्छु भन्दै ठगी
माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा दुई जनालाई दुई हप्ताअघि मात्र प्रहरीले पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा मोरङ सुन्दरहरैँचा नगरपालिका-८ घर भई हाल काठमाडौं टोखा नगरपालिका-५ धापासी बस्ने क्यापिटल मेनपावरका सञ्चालक ४४ वर्षीय टंकप्रसाद सुवेदी र झापा बिर्तामोड नगरपालिका-४ घर भई ललितपुर, ललिपतुर महानगरपालिका-१५ सातदोबाटो बस्ने ३४ वर्षीय विक्रम दाहाल रहेका छन्।
वैदेशिक रोजगारीका लागि माल्टा पठाइ प्रतिष्ठित होटलमा मासिक ८० हजार तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी टंकप्रसादले एक जना पीडितबाट तीन लाख रूपैयाँ र विक्रमले एक जनालाई मासिक एक लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी आठ लाख ९० हजार रूपैयाँ ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।