काठमाडौं- व्यवसायी अरुण चौधरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेसँगै उद्योगी व्यवसायीहरूले गलत तरिकाले धरपकड गरिएको भन्दै विरोध गरेका छन्।
व्यवसायी चौधरी पक्राउ परेपछि नेपाल उद्योग परिसंघले पत्रकार सम्मेलन गर्दै व्यवसायीहरूको धारणा सार्वजनिक गरेको हो।
सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीलाई प्रहरीले हठात रुपमा पक्राउ गरेको भन्दै परिसंघले विरोध गरेको छ।
व्यवसायीहरूले उद्योगी-व्यवसायीको मानमर्दन हुने गरी गरिएको धरपकडले निजी क्षेत्रलाई सिध्याउनेगरी सरकार लागिपरेको समेत आरोप लगाएका छन्।
पक्राउको विरोधमा धारणा सार्वजनिक गर्दै व्यवसायीहरूले सरकार एकपछि अर्को उद्योगीविरुद्ध खनिएको आरोपसमेत लगाएका छन्।
इपानका अध्यक्ष गणेश कार्कीले सरकार निजी क्षेत्रविरुद्ध लागेकाे बताए। 'साच्चै निजी क्षेत्रलाई सँगसँगै लैजाने हो भने समस्या कहाँ हो छानबीन गर्ने र निराकरण गर्न सकिन्छ। तर सरकार स्टन्ट देखाउन लागिपरेको छ' उनले भने।
नाडाका उपाध्यक्ष निराकार श्रेष्ठले निजी क्षेत्रविरुद्ध बिनाकारण सरकार लागेकाे आरोप लगाए। उनले पक्राउ परेका व्यवसायी तत्काल रिहा हुनुपर्ने मागसमेत गरे।
प्रहरीले पक्राउ गर्नुअघि अनुसन्धानमा पनि नबाेलाइ सामान्य बयानकाे प्रक्रिया समेत पूरा नगरेकाे उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले बताए। दाेषी ठहर भएमा कारबाही भए कसैलाई पनि आपत्ति नहुने तर शंकाकाे भरमा व्यक्तिगत स्वतन्त्रताको हनन गर्ने काम सरकारले गरेको आरोप उनले लगाए।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले व्यवसायी अरुण चौधरी र बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजितनारायणसिंह थापालाई बिहीबार पक्राउ गरेको हो। उनीहरूविरूद्ध बाँसबारी छालाजुत्ताको जग्गा दुरुपयोग गरेको आरोप लागेको छ।