काठमाडौं- नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरुपमा जेठ १८ गते उद्घाटन भइ भारतको बथनाहदेखि विराटनगरको बुधनगरस्थित नेपाल कष्टम यार्डसम्म पहिलोपटक कार्गो लिएर रेल आएको हो।
उक्त दिनबाट कार्गो रेल सञ्चालनको लागि नेपाल इन्टरमोडल यातायात विकास समिति, भन्सार कार्यालय तथा रेल कम्पनी तयारी अवस्थामा रहेका छन्। विराटनगरस्थित नेपाल कष्टम यार्ड पूर्णरुपमा तयारी अवस्थामा रहेको छ। नेपाल इन्टरमोडल यातायात विकास समितिले व्यवसायीहरुसँग पटकपटक छलफल गरी रेलमार्फत कार्गो ल्याउन अनुरोध गरिरहेको छ। व्यवसायीले कार्गो ल्याउन चाहेको खण्डमा कुनै पनि समस्या नरहेको इन्टरमोडल यातायात समितिले जनाएको छ।
सोही सम्बन्धमा माघ १५ गते नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक, निर्देशक र वीरगञ्ज एकीकृत जाँच चौकीका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्र राज ढकालबीच विराटनगर एकीकृत जाँचचौकीमा छलफल भएको थियो। छलफलमा सबै तयारी अवस्थामा रहेको र व्यवसायीलाई कार्गो ल्याउन थप छलफल गर्ने निर्णय भएको थियो।
सोही सम्बन्धमा माघ १८ गते नेपाल इन्टरमोडल यातायात विकास समिति र रेल कम्पनीका प्रबन्ध निर्देशक निरञ्जन झाबीच समितिको कार्यालय चोभारमा छलफल भएको हो। सो छलफलमा नेपाल कष्टम यार्डमा तत्काल नेपाल इन्टरमोडल यातायात विकास समिति र रेल कम्पनीको सम्पर्क व्यक्तिलाई खटाउने निर्णय भएको थियो। साथै दुवै पक्ष कार्गो व्यवस्थापनका लागि तयार रहेको र व्यवसायीलाई कार्गो रेल ल्याउन अनुरोध गर्नेसमेत निर्णय भएको हो।
नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले समितिसहित भन्सार कार्यालय र रेल्वे व्यवस्थापक पूर्ण रुपमा तयार रहेको र व्यवसायीले कार्गो रेल ल्याउनु पर्ने बताए।
‘व्यवसायीले ल्याएको कार्गो नेपाल सरकारले तोकेको न्यूनतम शुल्कमा व्यवस्थापन गर्ने सम्पूर्ण तयारी पूरा भइसकेको छ, कुनै समस्या हुँदैन,’ उनले भने, ‘सुरक्षाको पनि राम्रो व्यवस्था भएको छ निर्धक्क भएर कार्गो रेल ल्याउन व्यवसायीहरुलाई अनुरोध गर्दछु। केही समस्या भए जानकारी भएमा सो को पनि उचित व्यवस्थापन गरिने छ।’
नेपालमा भएका सुक्खा बन्दरागह र एकीकृत जाँच चौकीहरु आधुनिक छन्, चाहिने मेसिन, औजार, जनशक्तिसहित सुविधासम्पन्न छन्। यसको व्यवसायीले अधिकतम प्रयोग गरी समग्र आयात तथा निर्यात खर्च कमका साथै समय पनि कम गर्नुपर्छ। व्यापार सहजीकरण गर्न स्थापना भएको नेपाल इन्टरमोडल यातायात विकास समितिले आजसम्म आइपुग्दा आफ्ना पोर्टहरुलाई सुविधा सम्पन्न बनाएको छ।