शनिबार, असोज ५ गते २०८१    
images
images

५ घण्टासम्म पालो नआएको भन्दै यातायात कार्यालय जगातीमा तनाव, सेवाग्राहीले गरे नाराबाजी

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर १९ २०७८
images
images
५ घण्टासम्म पालो नआएको भन्दै यातायात कार्यालय जगातीमा तनाव, सेवाग्राहीले गरे नाराबाजी

'यहाँ सबैको मिलेमतो छ, मोटरसाइकल चलाएको दुई वर्ष भइसक्यो, ट्रायल सेन्टरले फेल गरिदिन्छ, दलाली आउँछन्, पैसा देऊ पास गराइदिन्छु भन्छ, पैसा नदियो कार्यालयमा काम गर्नै गाह्रो, यो त अति भयो।'

images
images

भक्तपुर- भक्तपुरको जगातीस्थित यातायात व्यवस्था कार्यालयको सवारी चालक अनुमतिपत्र दिने कार्यालयमा आज दिनभर सेवाग्राहीले होहल्ला गर्दै नाराबाजी नै गरे। सेवा लिन बिहान ९ बजेदेखि लाइन बस्नेहरुले दिउँसो २ बजेसम्म पालो नआएको भन्दै सेवाग्राहीले कर्मचारीदेखि सरकारसम्मको आलोचना गरे। 

images
images
images

साँघुरो गल्लीको बाटो र अरनिको राजमार्ग खण्डको सर्भिस ट्र्याकमै लाइन बसेका सयौँ सेवाग्राहीले समयमै सेवा नदिएको र एउटै सेवा लिन दुईतीन दिन धाउनु परेको भन्दै आक्रोश व्यक्त गरे। दिउँसो २ बजे ‘टोकन देउ, काम छिटो गर, पालो आएन’ भन्दै होहल्ला त गरिरहेकै थिए भने कर्मचारी र विभागविरुद्ध पनि नाराबाजी गर्न भ्याए।

यो दृश्य आजको मात्रै भने होइन । विगत डेढ महिनादेखि यहीँ दृश्य यहाँ देखिँदै आएको हो। बिहान १० बजे लाइन बसेका उमेश प्रधानले अक्रोशित हुँदै भन्दै थिए, 'यहाँ सबैको मिलेमतो छ, मोटरसाइकल चलाएको दुई वर्ष भइसक्यो, ट्रायल सेन्टरले फेल गरिदिन्छ, दलाली आउँछन्, पैसा देऊ पास गराइदिन्छु भन्छ, पैसा नदियो कार्यालयमा काम गर्नै गाह्रो, यो त अति भयो।'

कार्यालयको मात्रै होइन, ट्राफिक प्रहरीदेखि यातायात व्यवस्था विभागसम्मको मिलेमतोमा सेवाग्राहीलाई दुःख दिने, ट्रायल फेल गरिदिने, कार्यालयमा नयाँ ट्रायलदेखि पुनः ट्रायल दिनसम्ममा झन्झट र सास्ती दिने गरिएको गुनासो सेवाग्राहीले गरिरहेका थिए। 

images

एक महिना अगाडि गाडीको सवारी अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भएपछि पुनः प्रयोगात्मक परीक्षामा सहभागी हुन राजस्व बुझाउनेदेखि सबै प्रक्रिया पूरा गर्न आउनुभएकी सुनिता थापा सेवा राम्रो नभएको गुनासो गरिन्। उनले भनिन्, ' श्रीमानको गाडी चलाएको एक वर्ष भयो, राम्रै चलाउँछु, लकडाउनले लाइसन्स लिन पाएको थिइनँ, महिनाअगाडिको परीक्षामा फेल पो भए, ब्रेक नलाग्ने गाडीमा ट्रायल दिन लगाएपछि फेल भइहालिन्छ नि, यहाँ सबैको मिलेमतो छ, पैसा दिए फेल पनि पास हुन्छ यहाँ, नदिए यस्तै दुःख पाउनुपर्छ।'

यातायात कार्यालयको भीडमा लाइनमै बसेका पहलमान लामाले पैसा तिरेर सहज रुपमा सेवाग्राहीले सेवा नपाएको भन्दै कोरोना महामारीमा भीडले सास्ती पारेको बताए। उनले भने, 'हामी मान्छे हौ कि भेडाबाख्रा, हामीलाई भीड र लाइनमा घण्टौँ राख्ने यो कस्तो नियम हो।'

सवारी चालक अनुमतिपत्रको नयाँ, पुनः परीक्षा र नवीकरणका लागि फरक फरक दिन सेवा सञ्चालन गर्ने हो र अनलाइनबाटै सेवा प्रवाह गर्ने हो भने यो समस्या नहुने बताउँछन् सेवाग्राही। काममा ढिलो हुने गरेपछि सेवाग्राहीले हुटिङ गर्ने र कराउने गरेका छन्।

कोरोनामा यहाँ भौतिक दूरी कायम गर्न त परै जाओस्, स्वास्थ्य सुरक्षासम्बन्धी कुनै मापदण्ड पालना भएको पाइँदैन। सरकारी कार्यालयले कर प्रणालीलाई अनलाइन र टोकनमार्फत व्यवस्थित गर्ने भनिए पनि जगातीस्थित यातायात कार्यालयमा लाइन लागेरै कर बुझाउनुपर्ने बाध्यता छ। एउटा सेवा लिन आउँदा तीन ठाउँमा लाइन बस्नुपर्ने बाध्यता रहेको गुनासो उनीहरुको छ।

सेवाग्राही पुनम शाक्यले भन्नुभयो, 'एउटा सेवा लिन जगातीमा तीन दिन लाइन बस्नुपर्छ, ट्रायल सेन्टरमा गयो उत्तिकै लाइन हुन्छ, यो लाइन नै नबसी सहज रुपमा सेवा लिने र दिने व्यवस्था किन गर्दैन सरकारले', उनको आक्रोश थियो।

लामो समयको लकडाउन र सेवाग्राहीको एकै पटकको चापले निकै समस्या पारेको बताउँछन्, यातायात व्यवस्था कार्यालय भक्तपुरका प्रमुख शशिशङ्कर महर्जन। उनले भने, 'झन्डै १४ महिनाको लकडाउनले यहाँको काम प्रभावित भयो, अहिले एकै पटक नयाँ अनलाइन फाराम खुल्यो, पुराना बाँकी भएका, लकडाउन अगाडि र बीचमा छुटेका, पुनः प्रयोगात्मक परीक्षा (रि–ट्रायल), नवीकरण गर्नुपर्नेहरु सबैलाई एकै पटक सेवा दिनु पर्दा अहिले भीडको समस्या आएको हो।'

उनले अहिले मोटरसाइकलको दैनिक ५ सय देखि ६ सयसम्म र गाडीको ३ सयसम्म प्रयोगात्मक (ट्रायल) परीक्षा हुने गरेको बताउँदै चाप धेरै बढेकाले थेग्न गाह्रो भएको भनाइ राख्नुहुन्छ।

सेवाग्राहीको गुनासो आएपछि टोकन प्रणाली सुरु गरेको बताउँदै उनले कार्यालय समय सुरु हुने बित्तिकै १० बजे लाइनमा बसेका सेवाग्राहीलाई टोकन बाँड्ने गरेको बताए । कतिपय ढिला आएकामा सेवाग्राहीले टोकन नपाई फर्कनुपर्ने बाध्यता छ। सेवाग्राही भने टोकन आफ्नाले मात्रै पाउने गरेको गुनासो गर्छन्। यातायात कार्यालयदेखि ट्रायल सेन्टरसम्ममा बिचौलिया हाबी हुँदा समस्या आएको सेवाग्राहीको गुनासो छ। रासस


प्रकाशित : आइतबार, मंसिर १९ २०७८१३:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend