काठमाडौं- देखिने रूप, आकृति र सौन्दर्य हो वर्ण। यसभन्दा अझ गहिरो मनुष्यजातिका विभिन्न ज्ञान र अभ्यासहरूको मिश्रणबाट निर्मित संस्कार र संस्कृति हो वर्ण। वर्णबास ठीक त्यस्तै छ। उज्यालिएको सौन्दर्यकला र मानवीयता मिश्रित संस्कृतिको संगम।
प्रतीकात्मक रुपमा पनि यो 'वर्ण' शब्दमार्फत होटल 'वर्णबास'ले धेरैलाई आफ्नोपनसँग जोड्ने योजना बनाएको छ। स्वदेशी विदेशी पाहुनाहरूलाई स्वागत गर्न तयार भएको छ।
एकदशक अघि नेपालमा होटल निर्माणको होड निकै बढ्यो। सोही होडमा विदेशी नामको नक्कल र नेपाली नाममा पनि पछाडि अंग्रेजी शब्द थप्नेहरूको प्रतिस्पर्धा नै चल्यो। यस्तोमा भिन्न स्वरुपमा प्रस्तुत हुने प्रयासमा देखिन्छ 'वर्णबास'।
विगत लामो समयदेखि पर्यटन क्षेत्रम सक्रीय सांसद राजेन्द्र बजगाइँले होटल बनाउने सोच बनाइरहेका थिए। तर उनको योजना चलिरहेका पुराना होटलहरूभन्दा अलि भिन्न खालको काम होस् भन्ने थियो। त्यही अभियानमा उनी लागे। जसमा होटलको नाम के राख्ने भन्ने विषयले उनलाई वर्षौं पिरल्यो।
उतिबेला हतारमा होटल निर्माणमा गइहाल्ने अवस्था पनि थिएन। सोच र योजनामा बढिरहँदा पाँचवर्षअघि भने उनलाई नयाँ सोच आयो। उनले आफ्नो जन्मथलो गोर्खाली गाथालाई सम्झिएर संस्कार र संस्कृतिसँग जोडिन चाहे।
गोर्खाका राजा पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरणको इतिहास जोड्ने सोचसहित बजगाइँले होटलको परिकल्पना गरे। जसमा नेपाली जातीको संस्कार र संस्कृति झल्कने गरी चार जात छत्तिस वर्णको सौन्दर्य चेतलाई समेट्दै संग्रहालयको स्वरुपमा होटल निर्माण गर्ने सोच तयार पारे।
नेपालको पूरै रितिरिवाज समेट्ने सोचले उनले होटलको कल्पना गरे। नेपाली जातजातीको संस्कृति झल्काउन खोजे। होटललाई वर्णहरूको 'सेल्टर' का रुपमा अघि सारे।
निर्माण सुरु भएको पाँचवर्षपछि बिहीबारदेखि ‘वर्णबास म्युजियम होटल’ सञ्चालनमा आएको छ।
‘नेपाल जातीय विविधताको प्रतीक हो, जसलाई चारजात छत्तिस वर्णको साझा फुलबारी भनिन्छ,’ सांसद तथा होटलका लगानीकर्ता बजगाइँले भने।
संग्रहालयको स्वरुपमा विभिन्न वर्णहरूको संस्कार र संस्कृति झल्कने गरी आफूले सबैलाई हुने घर तयार पारेको बजगाइँ बताउँछन्।
दुई वर्षमा निर्माण सम्पन्न हुने योजनाअनुसार काम सुरु गरिए पनि डिजाइन र निर्माणमा विभिन्न समस्या आएपछि पाँच वर्ष थप गरिएको थियो। अहिले निर्माण सम्पन्न भएर सञ्चालनमा आएसँगै होटलमा आउँदो एक महिनासम्म उद्घाटनसम्बन्धी विभिन्न कार्यक्रम र गतिविधिहरू हुनेछ।
काठमाडौंको बालुवाटारमा झन्डै दुई रोपनी जग्गामा तयार भएको होटल नेपाल हेर्न र बुझ्न चाहनेका लागि संग्रहालय नै बनेको छ। भूगोलदेखि संस्कृतिका विषयसम्बन्धित कलाकृतिहरू यसको लाउन्जहरू, कोठाहरू र रेस्टुरेन्टहरूमा प्रदर्शनमा छन्।
नेपाली संगीतसहित पाहुनाहरूलाई लाउन्जमा स्वागत गरिन्छ। त्यसपछि पाहुनाहरूलाई नेपाली इतिहासको विगतको भव्य युगमा पुर्याइन्छ। १० तला रहेको होटलमा ६ वटा तलामा संग्रहालयसहितका कोठाहरू छन्।
तल्लो तलाबाट माथिल्लो तलासम्म उक्लँदा नेपालको हिमाल आरोहणको जस्तो खुसी र रोमाञ्चकता झल्कन्छ। ‘तराइबाट पहाडी क्षेत्र र त्यसपछि हिमालसम्म पुग्नेगरी प्रत्येक तलामा भिन्न विषेशता रहेको छ,’ होटलका प्रबन्ध निर्देशकसमेत रहेका बजगाइँले भने।
प्रत्येक कोठामा फरक फरक जातजाती र भेषभूषा झल्कनेगरी तयार पारिएको छ। नेपाली काठ, हात्ती, घाँस, बाँस र बख्खुजस्ता स्वदेशी सामग्रीबाट सावधानीपूर्वक बनाइएको नेपालको विविध ग्रामीण जीवन होटलमा देखाइएको छ।
पहाडलाई बढीजसो गोर्खाको संस्कृतिसँग जोडिएको छ। तराइलाई थारु संस्कृतिसँगको सम्बन्धमा जोड दिइएको छ। हिमालको संस्कृतिमा शेर्पा संस्कृतिलाई जोडिएको छ। घले गुरुङको पहिचान र संस्कृति झल्काउनेगरी गुँरास, चोया, बख्खुलगायतका सामग्री छन्।
संग्रहालयमा रहेका ४८ वटा सुइटरुमहरू सबै नेपालका गाउँहरूका नाममा विशिष्ट रुपमा राखिएका छन्।
जस्तै दोस्रो तलामा चितवन सुइट, चौथो तलामा धम्पुस सुइट र सातौँ तलामा धुन्चे सुइट नाम राखिएको छ। फर्निचर र डिजाइनको प्रत्येक टुक्रामा, भुँइ र टायल्सको छनोटदेखि हातले भित्ताहरूमा चित्र बनाइएका छन्, हरेक बनाेट त्रुटिहीन बनाउनेगरी ध्यान दिइएको छ। प्रत्येकमा आराम स्पा र बाथको सुविधा राखिएको छ।
रेस्टुरेन्टमा एक पटकमा दुई सयभन्दा बढी पाहुनाहरूलाई खुला भान्साको साथ राम्रो भोजनको अनुभव दिइने व्यवस्था गरिएको छ।
वर्णबासको आफ्नै 'सगरमाथा' पनि छ। जुन पहाड र यसको वरपरका चुचुराहरूलाई प्रतिनिधित्व गर्न डिजाइन गरिएको माथिल्लो तला हो, जसमा जानका लागि अतिथिहरू गोक्यो (स्विमिङ पुल) र साउथ कोल (बार) हुँदै जान्छन्।
१ अर्ब ३१ करोड रुपैयाँको लगानीमा निर्माण भएको यो होटल विश्वस्तरीय भव्यतामा आदिवासी नेपाली संस्कृतिको मिश्रणको रुपमा तयार पारिएको छ।
भव्य डिजाइनहरूसहित प्रारम्भिक चरणहरूमा नोभा स्टुडियोमा थाई वास्तुकारहरूद्वारा बनाइएको थियो, जसले ल्यान्डस्केपिङका कार्यहरू गरिएको थियो। त्यसपछि डिजाइनको जिम्मा वास्तुकार र सहरी डिजाइनर सञ्जयबहादुर थापाले लिएका थिए। थापा अमेरिकामा तालिम र अभ्यास गरेका ख्यातिप्राप्त डिजाइनर हुन्।
विश्वप्रसिद्ध पर्वतारोही मिङ्मा डेभिड शेर्पाले पनि म्युजियम होटलको मिशन र भिजनबाट प्रभावित भएकाले वर्णबाससँग सहकार्य गरेका छन्। शेर्पा १४ वटा आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्ने सबैभन्दा कान्छा आरोही हुन्।
आरोहणमा आउने पर्यटक मुख्य पाहुना
होटलका कोठामध्ये सबैभन्दा ठूलो कोठा ६० वर्गमिटरको रहेको छ। यस्तो कोठा प्रत्येक तलामा एक/एक वटा रहेको छ। अन्य कोठा भने ४० देखि ३४ वर्गमिटरको रहेको छ।
'होटलमा माथिल्लो भाग सगरमाथाको आकृतिमा तयार पारिएको छ। होटलमा खासगरी आरोहणमा आउनेलाई केन्द्रित गर्न लागिएको हो,’ बजगाइँले भने।
मुख्यगरी नेपाली खाना दाल, भात र तरकारी नै यहाँ विशेष हुनेछ। कन्टिनेन्टलको साथै हिमाली भेगमा पाइने खानेकुराहरूमा पनि बढी जोड दिइएको छ।
अहिले एक महिनाभर रुमको १५० डलरदेखि ४०० डलरसम्ममा बस्न सकिने अफर दिइएको उनले जानकारी दिए। मार्केटिङको काम सकिएर पूरै चल्न थालेपछि होटलमा महँगा पर्यटकलाई केन्द्रित गर्न खोजिएको छ। नेपालमा आरोहणमा आउनेहरू नै सबैभन्दा धेरै खर्च गर्ने पर्यटकभित्र पर्दछन्।
होटलमा न्यूनतम ७ सय डलरदेखि १६ सय डलरसम्म मूल्य राखिने व्यवस्थापनले जानकारी दिएको छ। नेपाली जात्राको प्याकेजहरूमा १८ हजार डलरसम्म बिक्री गरिने बताइएको छ। खान र सुत्नका लागिमात्र भने ७ सय १६ सय डलर तय हुने छ।