शनिबार, साउन १२ गते २०८१    
images
images
images

अनुमानभन्दा बाहिर जाँदै सेयर बजार, अब के होला?

विश्लेषक बस्याल भन्छन् - २३०० देखि २३७० सम्म बजार झर्न सक्छ

images
आइतबार, मंसिर १९ २०७८
images
images
अनुमानभन्दा बाहिर जाँदै सेयर बजार, अब के होला?
images

काठमाडौं-  सेयर धितो राखेर लिइने कर्जामा ४/१२ करोडको सीमा मौद्रिक नीतिको समीक्षामा परिमार्जन नभए पनि त्यसले सेयर बजारमा ठूलो असर नगर्ने विश्लेषकहरूले बताउँदै आइरहेका थिए। सेयर बजार धेरै तल नझर्ने विश्लेषकहरूको दाबी गलत साबित हुने गरी सेयर बजार अनुमानभन्दा बाहिर पुगिरहेको छ। 

images
images

विश्लेषकहरूले ४/१२ को नीति लगानीकर्ताले पचाइसेकाले सेयर बजारमा खासै ठूलो परिवर्तन नआउने बताइरहेका थिए। उनीहरूले केही दिन बजार अहिलकै अवस्थामा थामिने र विस्तारै नयाँ अंकतिर लम्किने बताउँदै आइरहेका थिए। 

images

विश्लेषकहरूले बजार २६ सय भन्दा तल नझर्ने दाबी गरेका थिए। तर मौद्रिक नीतिको समीक्षापछिको ६ दिनको कारोबारमा एक दिन झिनो अंकले बढेको बजार अन्य दिन भने निरन्तर ओरोलो लागिरहेको छ।

मौद्रिक नीतिको समीक्षापछि दोस्रो ठूलो गिरावट आज मंसिर १९ गते नै हो। आज आइतबार बजार ७२.३० अंकले घटेर २५१३.८९ बिन्दुमा झरेको छ। यसअघि मंसिर १२ गते बजार ८०.२९ अंकले घटेको थियो। 

images

मौद्रिक नीतिको समीक्षा हुनअगाडि मंसिर ९ गते बजार २७३१.७८ मा रोकिएको थियो। मौद्रिक नीतिको समीक्षापछि बजारमा २१७.८९ अंकले गिरावट आएको हो।

बजार तल झर्ने क्रम अहिले नै नरोकिएको विश्लेषक विष्णु बस्याल बताउँछन्। अहिलेका सूचकाङ्कहरूलाई हेर्ने हो भने बजार अझ तल झर्ने उनको भनाइ छ।

‘बजार २३०० देखि २३७० बिन्दुसम्म झर्न सक्ने देखिएको छ’ उनले भने, ‘त्यसपछि भने बजार उकालो लाग्ने र नयाँ अंकको रेकर्डतर्फ बढ्नेछ।'

सेयर बजार जति घट्ने घटिसकेको र अझै बियरिसको अवस्था नभएका कारण बजारले नयाँ अंकको रेकर्ड दिने विश्लेषकहरू अझै पनि दाबी गरिरहेका छन्। त्यसका लागि तरलतामा देखिएको संकट समाधान भए सेयर बजारलाई पनि सहज हुने उनीहरूको बुझाइ छ। 

मौद्रिक नीति र समीक्षापछिको बजार 

मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो दिनभन्दा नीतिको समीक्षापछिको पहिलो दिन नेप्सेमा ठूलो गिरावट थियो। सोही तुलनामा आज आइतबार पनि गिरावट आएको हो।

आर्थिक वर्ष २०७८/०७९ का लागि नेपाल राष्ट्र बैंकले साउन २९ गते शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेको थियो। मौद्रिक नीतिमा सेयर कर्जामा कडाइ भएको भन्दै सोही दिनबाट लगानीकर्ताहरूले विरोध सुरु गरेका थिए।

मौद्रिक नीति सार्वजनिक हुनभन्दा एक दिनअगाडि साउन २८ गते नेप्से परिसूचक ३१७८ को अंकमा पुगेर बजार रोकिएको थियो। साउन २८ गते नेप्से १६ अंकले बढेर कारोबार बन्द भएको थियो। साउन २७ गते नेप्से परिसूचक ३१६२ मा पुगेर रोकिएको थियो। 

तर मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो दिन साउन ३१ गते नेप्से २४ अंकले घटेको थियो। साउन ३१ गते आइतबार बजार ३१५४ पुगेर रोकिएको थियो। त्यसपछि साउन ३२ गते पुन: ६ अंकले बढेर ३१६० को अंकमा बजार रोकिएको थियो। भदौ १ गते भने सेयर बजारमा कुनै ठूलो परिर्वतन आएन।

सोही दिन ३१६०‍‍.०९ बाट बढेर ३१६०.६२ मा पुगेर बजार रोकिएको थियो। तर भदौ २ गते सेयर बजारमा नयाँ रेकर्ड कायम हुँदै नेप्से ३१९९ को अंकमा पुगेको थियो। त्यसपछि निरन्तर घटेको सेयर बजार कात्तिक २ गते सबैभन्दा न्यून बिन्दु २५११ अंकमा आइपुगेको थियो।

तर यसपटक  मौद्रिक नीतिको समीक्षापछि पहिलो दिनमै सेयर बजारमा भारी अंकको गिरावट आएको थियो। मंसिर १२ गते सेयर बजार आइतबार नेप्से परिसूचक ८०.२९ अंकले घटेको थियो।

राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षामा सेयर धितो राखेर लिइने कर्जाको सीमामा कुनै पनि हेरफेर गरेन। जसका कारण लगानीकर्ताहरू आत्तिएका देखिन्छन्। जसका कारण आज आइतबार पनि सेयर बजारमा भारी गिरावट आएको हो। 

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति २०७८ साउन २९ मा जारी गर्दा सेयर कर्जामा व्यक्तिगत तर्फ ४ करोड र संस्थागत १२ करोड रुपैयाँको सीमा तोकेको थियो।


प्रकाशित : आइतबार, मंसिर १९ २०७८०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend