काठमाडौं- मुगुको छायाँनाथ रारा नगरपालिका कार्यालयका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर र वडाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
रारा नगरपालिकाको वडा नम्बर ७ र ८ स्थित ताल्चा सल्लेरी सडक स्तरोन्नतिमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन निमित्त प्रप्रअ पिताम्बर सारु, इन्जिनियर महेश सिंह कठायत, असिस्टेन्ट सबइन्जिनियर हस्तबहादुर मल्ल र ८ नम्बर वडाका वडाध्यक्ष कर्ण रावलसहित १० जनाविरुद्ध मुद्दा दायर गरेको हो।
ताल्चा सल्लेरी सडक स्तरोन्नतिमा मानिसबाट अर्डिनरी स्वायल, हार्ड स्वायल, सफ्ट रक, मिडियम रक र हार्ड रक कटिङ गुर्नपर्ने भनी लागत अनुमान स्वीकृत गरी अर्डिनरी स्वायलको मात्र मेसिनबाट खन्ने र अन्य काम मानिसबाट गराएर कामको बढी मूल्यांकन गराइ २८ लाख ६२ हजार ४ सय ५९ रूपैयाँ भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ।
यस्तै सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष उन बहादुर शाही, सचिव राधिका रावल र कोषाध्यक्ष बिजुली मल्ल, सडक निर्माण अनुगमन समितिका सदस्य चक्रबहादुर सावत, सदस्य हजर कला कामी र वडा नम्बर ७ का तत्कालीन सदस्य पशुपति शाहीविरुद्ध पनि मुद्दा दायर भएको छ।
मुद्दा दायर गरिएको दशै जनाविरुद्ध २८ लाख ६२ हजार ४ सय ५९ रूपैयाँ बिगो कायम गरी सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।