काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिनेदिने दुवै पक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट राष्ट्रिय परिचयपत्र सहजीकरणको लागि राहदानी विभागमा खटाइएका कम्प्युटर इन्जिनियर प्रदीप भट्टराईले सेवाग्राहीहरूलाई राहदानी बनाइदिने भनी रकम लिएको गुनासो आएपछि अनुसन्धान भएको हो।
जसमा अख्तियारले आइतबार घुस लिएको आरोपमा राहदानी विभागमा कार्यरत कम्प्युटर इन्जिनियर प्रदीप भट्टराई र घुस दिएको आरोपमा सुमी धामी भनिने सुमित्रा सापकोटाविरुद्ध मुद्दा दर्ता गरेको छ। दुवैजनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरले विज्ञप्तिमार्फत जनाएका छन्।
इन्जिनियर भट्टराईले राहदानी बनाइदिने भनेर सापकोटाबाट ३४ हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ।
अख्तियारको अनुसन्धानमा राहदानी बनाउनका लागि सापकोटाले भट्टराईको खातामा ३४ हजार रुपैयाँ जम्मा गरेको पाइएको प्रवक्ता घिमिरेले जनाएका छन्।
घुस लिएको आरोप लागेका इन्जिनियर भट्टराईलाई तीनदेखि चार महिना कैद सजाय माग दाबी गरिएको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार, २५ हजारदेखि ५० हजार रुपैयाँ घुस लिँदा तीनदेखि चार महिना कैद हुने व्यवस्था छ।
त्यस्तै घुस दिएको आरोपमा सापकोटालाई भट्टराईलाई हुने सजायको आधा सजाय दाबी गरिएको छ। ऐनको दफा ३ को उपदफा ४ मा घुस लिने दुरुत्साहन गर्ने व्यक्ति राष्ट्रसेवक भएमा त्यही बराबर र अन्य व्यक्ति भएमा आधा सजाय हुने व्यवस्था छ।