काठमाडौं- धरहरामा आजदेखि नि:शुल्क पार्किङ सेवा उपलब्ध हुने भएको छ। न्युरोडमा सवारी पार्किङ निषेध गरेको काठमाडौं महानगरपालिकाले धरहरा पार्किङ भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ गर्ने व्यवस्था मिलाएको हो।
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भने, ‘यस अघि काठमाडौं टावर (साबिक पुरानो बसपार्क) मा निःशुल्क पार्किङ सेवा उपलब्ध गराइसकिएको छ। सरोकारवालासँगको समन्वयमा भोलिदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा सेवा उपलब्ध गराउन लागेका हौँ।’
पाण्डेका अनुसार ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुनेछ।
कामपाले न्युरोडमा पार्किङ निषेध गरेपछि व्यवसायीले व्यापार घट्ने भन्दै यसको विरोध गरेका थिए। व्यवसायीको विरोधपछि कामपाले सवारी चालकलाई सहज गराउन धरहरामा पार्किङको व्यवस्था मिलाएको हो।