तनहुँ- जिल्लाको भानु नगरपालिका कार्यालयले खर तथा फुसका छानालाई विस्थापन गर्न लागेको छ। ‘नागरिक आवास कार्यक्रम’ अन्तर्गत खरका छाना विस्थापन गरी जस्तापाताले छाउन लागिएको हो।
नगरपालिकामा रहेका तीन सय ३६ घरधुरीमध्ये दुई सय घरपरिवारले जस्तापाताले छाना छाउनका लागि पहिलो र दोस्रो किस्ता बुझिसकेका नगरपालिका योजना शाखाका कर्मचारी श्रवण श्रेष्ठले जानकारी दिए। उनका अनुसार ५० हजारमध्ये पहिलो किस्तामा ३० हजार र दोस्रो किस्ताबापत २० हजार रूपैयाँ भुक्तानी गरिएको हो।
तनहुँ क्षेत्र नं १ प्रतिनिधि सभासदस्य डा स्वर्णिम वाग्लेको पहलमा चालु आर्थिक वर्षमा एक सय लाभग्राही थप गरिएको नगरपालिकाले जनाएको छ। थप भएका आवासका लागि बजेट निकासा गरिदिनका लागि नगरपालिका कार्यालयले आयोजना कार्यान्वयन इकाइ पोखरालाई पत्र पठाइएको नगरप्रमुख आनन्द त्रिपाठीले जानकारी दिए।
खरका छाना मात्रै नभई विपन्न परिवारका जीर्ण जस्तापाता, पानी चुहिने र जस्ता फेर्न सक्ने क्षमता नभएका व्यक्तिलाई समेटिएकाले लाभग्राहीको सङ्ख्या बढेको त्रिपाठीले बताए। चालु आवभित्र नगरपालिकालाई खर र फुसको छानामुक्त बनाउने योजनाअनुरुप काम भइरहेको उनको भनाइ थियो।
नगरपालिकामा चालु आवमा पाँच सय ३६ योजना रहेका नगरप्रमुख त्रिपाठीले जानकारी दिए। उनका अनुसार भौतिक पूर्वाधारतर्फ वडागत चार सय ७३, नगरस्तरीय ४९ र यसअघि ठेक्का आह्वान गरिएका १४ योजना गरी उक्त योजना रहेका हुन्।
उक्त योजनामध्ये हालसम्म दुई सय ३७ को लागत अनुमान तयार भई ५३ योजना सम्झौता भएका छन्। केही योजनाको कार्य सम्पन्न भई भुक्तानीको चरणमा रहेको नगरपालिका कार्यालयले जनाएको छ। रासस