सोमबार, वैशाख १७ गते २०८१    
images
images
images
images

दोस्रो बजारमा लगानीकर्ताका लागि आकर्षक यी पाँच बैंक, कुनको सूचक कस्तो?

images
images
images
दोस्रो बजारमा लगानीकर्ताका लागि आकर्षक यी पाँच बैंक, कुनको सूचक कस्तो?

वित्तीय सूचकका हिसाबले उत्कृष्टमा पाँच बैंक देखिन्छन्। जसमा पहिलो नम्बरमा एभरेष्ट बैंक रहेको छ। दोस्रोमा एनआईसी एसिया बैंक हुँदा तेस्रोमा सानिमा बैंक रहेको छ।

images
images

काठमाडौं- २० वटै वाणिज्य बैंकहरूले दोस्रो त्रैमासिक रिपोर्ट सार्वजनिक गरिसकेका छन्। जसमध्ये १९ वटा बैंकको दोस्रो बजारमा कारोबार हुने गरेको छ। दोस्रो बजारमा लगानी गर्न लगानीकर्ताका लागि वाणिज्य बैंकहरू सबैजसो सुरक्षित नै छन्।

images
images
images

वित्तीय सूचकका हिसाबले उत्कृष्टमा पाँच बैंक देखिन्छन्। जसमा पहिलो नम्बरमा एभरेष्ट बैंक रहेको छ। दोस्रोमा एनआईसी एसिया बैंक हुँदा तेस्रोमा सानिमा बैंक रहेको छ। त्यस्तै चौथोमा नबिल बैंक रहँदा पाँचौँ नम्बरमा स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको छ।

images

यी पाँच बैंक कुनको अवस्था कस्तो?

images

५) स्ट्याण्डर्ड चार्टर्ड बैंक 

images
images

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको बिहीबार दोस्रो बजारमा ५३८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। पछिल्लो समय वित्तीय विवरण सुधार गर्दै लगेको बैंकको सेयर मूल्य पनि केही बढिरहेको छ। बैंकको पछिल्लो ५२ हप्तामा ५८२ र न्यूनतम ४८८ रुपैयाँमा कारोबार भएको थियो। 

कारोबार रकमको हिसाबले पनि धेरै मूल्य पर्नेमा बैंक पर्दछ। बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेको छ। विवरण अनुसार सो अवधिसम्ममा बैंकले १ अर्ब १३ करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ।

बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले १ अर्ब ७२ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.५५ प्रतिशत कम हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी घटेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ०.७२ प्रतिशतबाट बढेर १.६ प्रतिशत पुगेको छ। पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३१ करोड रुपैयाँ रहको छ भने प्रतिसेयर वितरणयोग्य मुनाफा २३ रुपैयाँ ९४ पैसा रहेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५८ पैसा घटेर ३६ रुपैयाँ ६२ पैसामा झरेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १४.३६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ ५८ पैसा रहेको छ।

९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ९ अर्ब ९५ करोड ५३ लाख रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले १ खर्ब १५ अर्ब ७० करोड रुपैयाँ निक्षेप संकलन गरी ७७ अर्ब ६४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

४) नबिल बैंक 

नबिल बैंकको दोस्रो बजारमा बिहीबार ४८८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। बैंकको पछिल्लो ५२ हप्तामा ७१४ रुपैयाँमा उच्च मूल्य थियो। भने ४८३ रुपैयाँ न्यून मूल्यमा कारोबार भएको थियो। 

बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ अर्बभन्दा बढी नाफा आर्जन गरेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले ३ अर्ब २० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.२८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा सामान्य घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.२४ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १५.७२ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ५.७५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ६.१८ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा १.४६ प्रतिशतबाट घटेर १.२० प्रतिशतमा सीमित भएको छ। यद्यपि, बैंकको इम्पेरमेन्ट चार्ज भने १ अर्ब ८८ करोडको बढेर १ अर्ब ९७ करोड पुगेको छ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड ७८ लाख रुपैयाँ रहको छ भने प्रतिसेयर वितरणयोग्य मुनाफा ७ रुपैयाँ ६२ पैसा रहेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ५९ पैसा घटेर २३ रुपैयाँ ६८ पैसामा झरेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २०.८३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०४ रुपैयाँ ४४ पैसा रहेको छ।

२७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २८ अर्ब २५ करोड ७७ लाख रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले ४ खर्ब २८ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ६२ अर्ब ८७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

३) सानिमा बैंक

दोस्रो बजारमा सस्तो मूल्य तर वित्तीय हिसाबले बलियो बैंकको रुपमा सानिमा बैंक रहेको छ। बैंकको बिहीबार दोस्रो बजारमा २४९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। बैंकको पछिल्लो ५२ हप्तामा उच्च मूल्य ३१० रुपैयाँ हुँदा न्यून मूल्य २२५ रुपैयाँमा कारोबार भएको थियो। 

सानिमा बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्ममा १ अर्ब १३ करोड रुपैयाँभन्दा बढी नाफा कमाएको छ।

यो नाफा गत आवको यसै अवधिको तुलनामा भने ११ दशमलव ४२ प्रतिशत घटेको हो। सो अवधिमा कम्पनीले १ अर्ब २८ करोड नाफा कमाएको थियो। चालु आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा घट्न पुगेको हो।

गत आवको तुलनामा चालु आवमा कम्पनीको सञ्चालन नाफा १० प्रतिशत र खुद ब्याज आम्दानी ६ प्रतिशत घटेको छ। खुद नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। गत आवमा कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ ६९ पैसा रहेकोमा चालु आवमा घटेर १६ रुपैयाँ ८१ पैसामा झरेको हो। 

चुक्ता पूँजी १३ अर्ब ५८ करोड रहेको कम्पनी जगेडामा ५ अर्ब ४६ करोड र रिटेन्ड अर्निङमा ६५ करोड १४ लाख सञ्चिति गरेको छ। चालु आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा ६५ करोड १४ लाख छ। सो अवधिमा कम्पनीको मूल्य आम्दानी १५ दशमलव ३५ गुणा, तरलता अनुपात २७ दशमलव ७३ प्रतिशत र प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ २ पैसा छ।  

२) एनआईसी एसिया बैंक

एनआईसी एसिया बैंकको नाफा खुम्चिएपनि दोस्रो बजारमा लगानी गर्नेहरूलाई घाटा भने छैन। यसवर्ष लाभांश पनि सबैभन्दा धेरै दिने बैंकको सूचीमा बैंकनै रहेको छ। बैंकको बिहीबार दोस्रो बजारमा प्रतिसेयर मूल्य ४८० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

बैंकको पछिल्लो ५२ हप्तामा ८५२ रुपैयाँसम्म उच्च मूल्य पुगेको थियो। भने ४६९ रुपैयाँसम्म झरेको थियो।  बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नाफा घटेको छ।  विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.८४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो।समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.१३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १६.३५ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ४.९६ प्रतिशत र सञ्चालन मुनाफा २४.१३ प्रतिशत घटेको छ।

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ०.६१ प्रतिशतबाट बढेर १.१९ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ४७ करोड रुपैयाँ ऋणात्मक रहेको इम्पेरमेन्ट चार्ज, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४८ करोड धनात्मक भएको छ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ५९ करोड २२ लाख रुपैयाँ ऋणात्मक रहको छ।नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३१ रुपैयाँ ९ पैसा घटेर २५ रुपैयाँ ५२ पैसामा झरेको छ। चुक्ता पूँजीको तुलनामा नाफा बढाउन नसक्दा बैंकको यस्तो आम्दानी उल्लेख्य घट्न पुगेको हो। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १९.९७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ १० पैसा रहेको छ।

गत आर्थिक वर्षको मुनाफाबाट २९ प्रतिशत बोनस सेयर वितरण गरी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी पु¥याएको यस बैंकको जगेडा कोषमा १५ अर्ब ६७ करोड ८३ लाख रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले ३ खर्ब ८१ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ९३ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

१) एभरेष्ट बैंक

एभरेष्ट बैंकको बिहीबार सेयर मूल्य ५३० रुपैयाँमा अन्तिम कारोबार भएको थियो। वित्तीय सूचकका हिसाबले सबैभन्दा राम्रो मानिएको एभरेष्ट बैंकको पछिल्लो ५२ हप्तामा ६३३ रुपैयाँसम्म पुगेको थियो। भने घटेर ४४८ रुपैयाँमा पनि आइपुगेको थियो। एभरेष्ट बैंकले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा बैंकको नाफामा वृद्धि भएको छ।

चालु आर्थिक वर्षको ६ महिनामा बैंकले एक अर्ब ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गतवर्ष आर्थिक वर्षको यसै अवधिको तुलनामा ७.८८ प्रतिशतले धेरै हो। गत आर्थिकवर्षमा बैंकले एक अर्ब ५८ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

ब्याज आम्दानीमा सामान्य प्रतिशतले घटेतापनि सञ्चालन आम्दानी बढोत्तरी हुदा बैंकको नाफामा सुधार भएको हो। बैंकको खुद ब्याज आम्दानी भने १.२७ प्रतिशतले घटेर ३ अर्ब ६२ करोड रुपैयाँ छ। सञ्चालन आम्दानी २ अर्ब ४४ करोड ७५ लाख छ भने इम्पेयरमेन्ट चार्ज ४३ करोड २३ लाख रुपैयाँ छ।

यस अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ४० करोड रहेको छ। बैंकको खराब कर्जा ०.७७ प्रतिशतमा छ। बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ १२ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ५७ पैसा छ।

११ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ४२ करोड रुपैयाँ सञ्चित रहेको छ। यस अवधिमा बैंकले दुई खर्ब १३ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने एक खर्ब ६८ अर्ब ४८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ।

images

प्रकाशित : शनिबार, माघ १३ २०८०११:२४

प्रतिक्रिया दिनुहोस