काठमाडौं- उपभोग्य वस्तुको आपूर्तिमा ख्याति कमाएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले निर्माण क्षेत्रमा पनि व्यवसाय विस्तार गरेको छ। सरकारी स्वामित्वसमेत रहेको यो कम्पनीले पछिल्लो समय अमेरिकी कम्पनी र प्रविधिको प्रयोग गर्दै भवन निर्माणमा हात हालेको हो।
साल्ट ट्रेडिङले अमेरिकाको पिनाकल बिल्डिङ प्रणाली प्रविधिको प्रयोगबाट भवन निर्माणको व्यवसाय सुरू गरेको हो। साल्ट ट्रेडिङले फ्युचर वर्कस् बिल्डिङ सोलुसन सहायक कम्पनी बनाएर भवन निर्माणको काम सुरू गरिसकेको छ।
स्टिल संरचनामा आधारित भवन निर्माणको यो प्रविधि विश्वभर प्रचलित रहेको छ। पिनाकलको यही प्रविधिबाट साल्ट ट्रेडिङले नेपालमा भवन निर्माणको काम सुरू गरेको छ।
कम्पनीले दुई मोडलमा निर्माणको काम अघि बढाउने भएको छ। कुनै पनि उपभोक्ताले माग गरे अनुसारको भवन निर्माण गरिदिने र आफै भवन बनाएर बिक्री पनि गर्ने छ।
उपभोक्ताको आवश्यकताअनुसारको भवन बनाउने र आफै बनाएर बिक्री गर्ने काम पनि सँगै गरिने कम्पनीले जानकारी दिएको छ।
पोर्टेबल निर्माण सामग्रीको प्रयोग हुने यो प्रविधिमा बेसमेन्ट भने आरसीसी भवनकै संरचनामा निर्माण हुन्छ। त्यसमाथिको संरचना भने स्टिल र रेडिमेड कंक्रिट वालसमेतको प्रयोग हुन्छ।
पिनाकल प्रविधिमा ४ देखि १५ तलासम्मको भवन निर्माण हुन्छ। यो प्रविधि सुरक्षित र सस्तो हुने कम्पनीले जानकारी दिएको छ।
कम्पनील नुन, रासायनिक मल, एलपी ग्यासलगायत अन्य दैनिक उपभोग्य वस्तुको बिक्री वितरण गर्दै आएको छ।
त्यस्तै उत्पादनमा पनि कम्पनीले विगत लामो समयदेखि काम गर्दै आएको छ। उद्योगमै लागनीदेखि व्यवस्थापनसम्म सम्हाल्दै आएको साल्ट ट्रेडिङले अबदेखि निर्माणको कामलाई अघि बढाउने भएको छ।