शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

लगातार ओरालोतर्फ सेयर बजार, पछिल्ला ६ दिनको कारोबारमा ८७ अंकले घट्यो

बुधबार, माघ १० २०८०
लगातार ओरालोतर्फ सेयर बजार, पछिल्ला ६ दिनको कारोबारमा ८७ अंकले घट्यो

काठमाडौं- उचाइतर्फ जाँदै २२०० को बिन्दु पार भइसकेको सेयर बजार अहिले पुन: २१०० बिन्दुबाट पनि तल झरेको छ। गएको साताको अन्तिम दुई कारोबार र यो साताको चार कारोबारमा नै बजार घटेको छ। जसमा बजार ८७.११ अंकले घटिसकेको छ। 

बुधबार १०.२५ अंकले घटेर बजार २०८८.०४ बिन्दुमा झरेको छ। ८० कम्पनीको सेयर मूल्य बढेको बजारमा ३ अर्ब ८९ करोड ७० लाख २२ हजार रुपैयाँको कारोबार भएको छ। १५३ कम्पनीको सेयर मूल्य घटेको छ भने १४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

उतारचढावपूर्ण बजार सुधारतर्फ लागिरहँदा पछिल्ला कारोबार लगानीकर्ताले सोचेजस्तो हुन सकेको छैन। यो साता आइतबार २५.६३ अंकले र सोमबार ३१.४९ अंकले घटेको बजार मंगलबार पनि ०.४० अंकले घटेर २०९८.२९ बिन्दुमा पुगेको थियो। 

गएको साता समग्रमा ६६.८२ अंकले सुधार देखिएको सेयर बजारमा अन्तिमको दुई कारोबारमा बजार घटेको थियो। त्यसयता बजार सुधारतर्फ जान सकेको छैन। गएको साता बुधबार १२.१० अंकले घटेको बजार बिहीबार ७.२४ अंकले घटेको थियो। 

गएको साता बुधबार कारोबार सुरु भएदेखि निरन्तर बढेको बजारले मनोवैज्ञानिक आधार बिन्दु मानिएको २२०० को बिन्दुसमेत पार गरेको थियो। जहाँ ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार रुपैयाँको कारोबार भएको थियो। 

नीतिगत सहजतासँगै अहिलेको अवस्थामा बजारमा लगानीकर्ताको साथ देखिएर उचाइतर्फको यात्रा लिइरहँदा उतारचढावको अवस्था देखिन्छ। केही दिनको राम्रो वृद्धिपछि बजार थामिँदै तल झरिरहेको छ। यो साता चार कारोबारमा आएको गिरावटले भने लगानीकर्ता मनोवैज्ञानिक आधार बिन्दुबाट तल झरेका छन्। 

लगानीकर्ताहरू अहिलेको उतारचढावपूर्ण अवस्थामा पनि बजार मनोवैज्ञानिक आधार बिन्दुबाट पार हुनेमा भने आशावादी नै देखिएका छन्। अहिले संगठित लगानीकर्ताहरू पनि सुधारोन्मुख देखिएको बजार २२०० को बिन्दुबाट अघि बढ्ने अपेक्षामा छन्। उतारचढावकै अवस्थाबीच बजारको गति सुधार हुने उनीहरू बताउँछन्। 

बजारको अहिलेको अवस्था उही बिन्दु वरपर नै तलमाथि भइरहने नै छ। लामो समय १९०० को बिन्दु आसपास उतारचढावमा रहेको बजार अहिले २१०० बिन्दु वरपर घुमिरहने देखिएको विश्लेषकहरू बताउँछन्। अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू कसरी अघि बढ्छन् त्यहीअनुसार बजारको अवस्था तय हुने उनीहरूको भनाइ छ। 


प्रकाशित : बुधबार, माघ १० २०८०१५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend