आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

स्याङ्जाको एउटै वडाबाट ११ करोडभन्दा बढीको सुन्तला बिक्री

images
मंगलबार, माघ ९ २०८०
images
स्याङ्जाको एउटै वडाबाट ११ करोडभन्दा बढीको सुन्तला बिक्री

यस वडाका अधिकांश किसान व्यावसायिकरूपमा सुन्तलाखेतीमा आबद्ध छन्, यहाँ यस वर्ष सबैभन्दा थोरैमा ५० हजार रूपैयाँदेखि लिएर धेरैमा ३० लाख रूपैयाँसम्म आम्दानी गरेको वडाध्यक्ष ताराप्रसाद अर्यालले बताए।

images
images

वालिङ- स्याङ्जाको भिरकोट नगरपालिका-७ मा यस वर्ष ११ करोड रूपैयाँभन्दा बढीको सुन्तला बिक्री भएको छ।

images
images
images

बलमाटा, तिलाहार, जिमिरे, लोलुंगा, पाङसाङ, धोबादी, कोलडाँडा, पासिन्डाँडा, चिउरीखर्कलगायतका गाउँबाट सुन्तला उत्पादनका लागि परिचित छ। भिरकोट-७ का वडाध्यक्ष एवं सुन्तला सुपरजोन स्याङ्जाका सञ्चालक समिति अध्यक्ष ताराप्रसाद अर्यालले आफ्नो वडामा यसवर्ष सुन्तला बिक्रीबाट ११ करोड रूपैयाँभन्दा बढी भित्रिएको बताए।

images
images

करिब एक सय घरपरिवारले व्यावसायिकरूपमा सुन्तला उत्पादन गर्दै आइरहेका उनले जानकारी दिए। 'यस वडाका अधिकांश किसान व्यावसायिकरूपमा सुन्तलाखेतीमा आबद्ध हुनुहुन्छ', अध्यक्ष अर्यालले भने, 'यहाँ यस वर्ष सबैभन्दा थोरैमा ५० हजार रूपैयाँदेखि लिएर धेरैमा ३० लाख रूपैयाँसम्म आम्दानी गर्नुभएको छ।'

images
images

तिहारका बेलादेखि सुन्तला बजार पठाउन सुरु गरेर माघको दोस्रो सातासम्म सबै बिक्री गरिसक्ने अध्यक्ष अर्यालले जानकारी दिए। सुरुमा प्रतिकेजी ४० रूपैयाँमा बिक्री गरेको सुन्तला अन्तिममा आइपुग्दा प्रतिकेजी ७० रूपैयाँका दरले बिक्री भएको जनाइएको छ। 'यहाँ उत्पादन भएका सुन्तला किसान आफैले बिक्री गर्ने, बगैँचा नै ठेक्का दिने वा तौलेर अन्यत्र पठाउने गरिन्छ', उनले भने, 'विशेषगरी यहाँका सुन्तला काठमाडौं, पोखरा, नारायणगढ, बुटवलजस्ता सहरमा जाने गरेको छ।'

स्थानीय व्यापारी तथा काठमाडौंबाट आएका व्यापारीले बगैँचा नै ठेक्का लिएर बिक्री गर्ने गरेका छन्। कतिपय किसानले चिनजान र फोन सम्पर्कका आधारमा गाडीबाट व्यापारीकहाँ पठाइदिने गरेका छन्।

'गत वर्ष यस वडामा सुन्तला बिक्रीबाट करिब १५ करोड रूपैयाँ भित्रिएको थियो', उनले भने, 'गत वर्षजस्तो यस वर्ष उत्पादन भएन यसकारण आम्दानी पनि घट्न पुग्यो, आगामी वर्ष नयाँ बोट तयार हुने भएकाले उत्पादन बढ्छ।'

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन र भिरकोट नगरपालिकाको ७५ प्रतिशत अनुदानमा बिरुवा, सिँचाइ ट्यांकी, पाइप वितरण गरिएको अध्यक्ष अर्यालले बताए। नयाँ बिरुवा हुर्कँदै गरेकाले आगामी वर्ष थप पाँच-छ करोड बढी सुन्तला बिक्रीबाट आम्दानी भित्रिने दाबी उनको छ।

कोदोखेती गर्दै आएका बारीमा अहिले सुन्तलाका बोट देख्न सकिन्छ। सुन्तलाखेतीबाट आम्दानी लिन सकिने भएपछि यहाँका स्थानीय सुन्तलाखेतीतर्फ आकर्षित हुँदै गएका छन्। गत वर्ष स्याङ्जामा सुन्तला बिक्रीबाट एक अर्ब २५ करोड रूपैयाँ भित्रिएको थियो भने यस वर्ष उत्पादन कम भएसँगै आम्दानी पनि केही घट्ने अनुमान कृषि ज्ञान केन्द्र स्याङ्जाले गरेको छ। रासस


प्रकाशित : मंगलबार, माघ ९ २०८०१०:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend