काठमाडौं- नेपाल सरकारले हालैमात्र साताव्यापी जैविक विविधिता संरक्षण कार्यक्रम मनायो। कृषि मन्त्रालयकै अग्रसरतामा गत वर्षभर नै विभिन्न कार्यक्रम गरेर मनाइएको थियो।
पछिल्लो समय खाद्य क्षेत्रमा विविधता लोप हुँदै गएको छ। कृषि मन्त्रालय तथा अधिकारिहरूका अनुसार नेपालमा ४० प्रतिशत प्रजातिको लोप भइसकेको छ। कृषि उत्पादनमा भएको विविधताको लोप हुने क्रम पछिल्लो समय अझै तीव्र बनेको छ।
सरीकरण तीव्र हुँदा पछिल्लो समय कृषि विविधतता तीव्र रुपमा लोप भइरहेको छ। खेतबारीमा हुने विविध बालीको उपार्जन अहिले केही सीमित प्रजातिमा रोकिएको छ।
एउटै सिजनमा धेरैथरीका बाली लगाउने पहिलेको चलन अहिले लोप भएर निश्चित बालीमात्र लगाउने अभ्यासहरू गाउँमै पनि भएको छ। यही कारणले भइरहेकै खेतीको पनि लोप भइरहेको राष्ट्रिय जिन बैंकका निर्देशक बालकृष्ण जोशी बताउँछन्।
पछिल्लो समय जिन बैंकले संरक्षण र प्रवर्द्धनमा काम गरिरहेको उनको भनाइ छ। जीवदेखि वनस्पतिसम्म विदेशमै विकास भएकालाई ल्याएर उत्पादन गर्ने चलन बढेकाले पनि स्थानीय विविधता खतरामा परेको उनको भनाइ छ।
‘यही भएर हामीले धेरै पोषण भएका केही खाद्यलाई प्रबर्द्धन गर्न खोजेका छौँ’ उनले भने।
१२ वनस्पति र ५ जीवमा निर्भर मानव सम्भता
मानव विकासका क्रममा जब शिकारभन्दा उपार्जन लाभदायक भयो तबदेखि मान्छे उत्पादनमा मोडियो। कृषि उपार्जनसँगै मान्छेले पशुपालनलाई पनि सँगै अघि बढायो।
अहिले एक तिहाइ जमिनमा खेती तथा पशुपालन हुने गरेको छ। कामकाजी जनसंख्याको एक तिहाइ नै मान्छे उत्पादनमा संलग्न छन्। यी मान्छे आफैमा रोजगार छन् भने यिनिहरूकै उत्पादनले गर्दा ८ अर्ब मान्छेको पेट भरिएको छ तर यसरी पेट भर्ने खाद्यान्नका स्रोत भने साघुरिँदै गएका छन्।
राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनका अनुसार अहिले संसारको ७५ प्रतिशत खाना १२ प्रकारका प्रजातिका प्लान्ट र ५ प्रकारका जनावरणबाट प्राप्त हुने गरेको छ।
गहुँ, चामल, मकै र उखु, आलु, भटमास, टमाटर, केरा, प्याज, स्याउ, अंगुर, कन्दमूलजस्ता बाटमात्र ६१ प्रतिशत खानाको पूर्ति हुन्छ भने गाई, कुखुरा, बंगुर, बाख्रा र भेडाबाट १४ प्रतिशत पूर्ति हुन्छ।
मान्छेले अहिलेसम्म संसारमा खेतीकै लागि भनेर पहिचान गरेका प्लान्ट तथा जनावरणको तुलनामा निकै थोरै हो। हालसम्म ३ लाख ५० हजारभन्दा बढी प्लान्टका प्रजातिका बारेमा पहिचान भएको छ।
यो संख्या प्रत्येक वर्ष थपिँदै पनि छ। जति पनि पहिचान भएका छन् यीमध्ये ३० हजार प्राजतिका प्लान्ट तर अहिलेसम्म जानिएकामध्ये ३० हजार प्रजातिका बारेमा खानाका बारेमा सोच्न सकिन्छ।
वैज्ञानिक सोधअनुसार ७ हजारभन्दा धेरै प्रजातिको कुनै न कुनै समयमा मान्छेले खाने तथा उत्पादनमा काम गरेको थियो। अहिले संसारभर जम्मा २५५ प्रजातिका वनस्पतिमात्र उपयोगमा छन्।
खाद्यमा जैविक विविधता संकुचित हुँदै जाँदा फाइदाभन्दा नोक्सानी धेरै देखिएको छ। पृथ्वी र मान्छेको स्वास्थ्यका लागि यो चिन्ताको विषय भएको विज्ञहरूले बताउँदै आएका छन्। एकै प्रकृतिका वनस्पतिकै बाहुल्यता हुँदा पोषणको अभाव हुने र पृथ्वीका लागि पनि राम्रो नहुने विभिन्न अध्ययनले देखाएका छन्।