काठमाडौं- स्वीस सरकार विकास सहयोग एसडीसीको सहयोगमा नेपालमै पाइने माटो पोलेर सिमेन्ट बनाउन सकिने विषयमा अध्ययन हुने भएको छ।
खानी तथा भूगर्भ विभाग तथा सिमेन्ट उत्पादक संघको सहकार्यमा नेपालमा पाइने माटो पोलेर सिमेन्ट बनाउन सकिन्छ कि सकिँदैन भनेर अध्ययन गर्न लागेको विभागमा महानिर्देशक रामप्रसाद घिमिरेले बताए।
भारतलगायत विश्वका अधिकांश देश 'लाइमस्टोन क्याल्साइन क्लेय' सिमेन्ट उत्पादन सुरु भइसकेको छ। सोही क्रममा नेपालमा माटो पोलेर सिमेन्ट उत्पादनको विषयमा अध्ययन हुन लागेको हो। घिमिरेका अनुसार सुरुवाती चरणमा नेपालको माटो त्यसका लागि उपयुक्त छ कि छैन भनेर अध्ययन हुन लागेको हो।
यसका लागि भारतीय कम्पनीले तारा अप्लाइड रिसर्च सेन्टरले अध्ययन गर्ने गरी सम्झौता भएको हो। यसका लागि स्वीस सरकारले २ करोड रुपैयाँ आर्थिक सहयोग गरेको घिमिरेले बताए।
अध्ययनबाट नेपालको माटो पोलेर सिमेन्ट बनाउन सक्ने अवस्था देखिएका त्यसले वातावरणमा पनि सहयोग गर्न र उपभोक्ताले पनि सस्तोमा सिमेन्ट पाउने सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाले बताए। यो अध्ययन सफल भएको अवस्थामा नेपालले कोइला र खरानी आयातमा विदेश पठाइरहेको रकमसमेत बचत हुने उनले बताए।
अहिले पीपीसी सिमेन्ट उत्पादनमा ७० प्रतिशत क्लिङकर, २५ प्रतिशत भारतबाट आयातित खरानी र ५ प्रतिशत जति जिप्सन प्रयोग भइरहेको छ।
यसैगरी ओपीसी सिमेन्टमा भने ९५ प्रतिशत क्लिङकर तथा ५ प्रतिशत जिप्सन प्रयोग भइरहेको छ। अहिले क्लिङकर उत्पादनमा भट्टी चलाउन विदेशबाट आयात भएको कोइला प्रयोग भइरहेको छ। चुनढुंगालाई १२ सय सेन्टिग्रेडको तापक्रममा पोल्नु पर्छ। तर माटोलाई ७ सय देखि ८ सय सेन्टीग्रेडमा पोल्दा हुने हुन्छ। जसबाट कोइला आयात कम हुन्छ।
साथै नयाँ प्रविधिबाट सिमेन्ट बनाउँदा ५० प्रतिशत मात्रै क्लिङकर भए पुग्ने हुन्छ। यसबाट कोइलालगायत प्राकृतिक स्रोतको सदुपयोग हुने छ। पोलेको माटोबाट सिमेन्ट बनाउन सफल भएको अवस्थामा ५० प्रतिशत क्लिङकर, ३० प्रतिशत पोलेको माटो, १५ प्रतिशत काँचो चुनढुंगा र ५ प्रतिशतमात्रै जिप्सन भए पुग्ने उनीहरूको दाबी छ।