शनिबार, साउन १२ गते २०८१    
images
images
images

पशुपालनबाट वार्षिक २८ लाखसम्म आम्दानी गरिरहेका छन् शिक्षक डम्बर डाँगी

images
आइतबार, माघ ७ २०८०
images
images
पशुपालनबाट वार्षिक २८ लाखसम्म आम्दानी गरिरहेका छन् शिक्षक डम्बर डाँगी

उनको फर्ममा अहिलेसम्म ६० लाख रूपैयाँसम्म लगानी भइसकेको छ। उनी छोटो समयमै व्यावसायिक रुपमा पशुपालन गरेर एक सफल उद्यमीको रुपमा आफूलाई चिनाउन सफल भएका छन्।

images

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका-६ गोलौराका ३७ वर्षीय डम्बर डाँगीको दिनचर्या बिहान-बेलुका गाईभैँसीका बाच्छाबाच्छी/पाडापाडीको स्याहारसुसार तथा दिउँसो अध्ययापन कार्यमा बित्ने गरेको छ। 

images
images

बिहान मिर्मिर उज्यालोदेखि ८ बजेसम्म र बेलुका ५:३० देखि ८ बजेसम्म गाईभैँसीका बाच्छाबाच्छी र पाडापाडीको स्याहारसुसार गर्ने, दूध बिक्रीवितरणको व्यवस्था गर्नेलगायत काममा बित्ने गरेको छ। दिउँसोको समयमा भने शिक्षण पेसामा बित्ने गरेको उनले बताए।

images

डाँगी छोटो समयमा व्यावसायिक रुपमा पशुपालन गरेर एक सफल उद्यमीको रुपमा आफूलाई चिनाउन सफल भएका छन्। उनी तुलसीपुर-१० मा रहेको एक निजी विद्यालयका शिक्षक छन्। उनले १५ वर्षदेखि उक्त विद्यालयमा अध्यापन गराइरहेका छन्। साथै नौ वर्षदेखि पशुपालनमा लागेका डाँगी अहिले घरपरिवारका सदस्यसहित यो पेसालाई निरन्तरता दिँदैछन्। उनले स्थानीय पाँचजनालाई रोजगारीसमेत दिएको बताए।

डाँगीका अनुसार दुईजनाले पूर्ण र तीनले आंशिकरुपमा रोजगारी गरिरहेका छन्। उनले भने, 'वार्षिक करिब १२ देखि १३ लाख रूपैयाँ बचत गर्न सफल भएको छु। विसं २०७१ मा लक्ष्मी सेवा पशुपालन फर्म दर्ता गरी व्यावसायिक रुपमा भैँसीपालनको सुरुवात गरेको थिएँ।'

images

डाँगीले सुरुमा चार लाख रूपैयाँको लागतमा पाँचवटा उन्नत जातका मुर्रा भैँसी र एउटा होलेस्टन उन्नत जातको गाई खरिद गरी पशुपालन थालेको जानकारी दिए। उनका अनुसार अहिले फर्ममा गाई तथा बाच्छाबाच्छी २१ र भैँसी तथा पाडापाडी १२ गरी ३३ वटा पशुचौपाया रहेका छन्। तीमध्ये १० गाई तथा सातवटा भैँसी दुहुना छन्।

भैँसीले दैनिक ९० देखि ९५ लिटरसम्म दूध दिने गरेको भन्दै उक्त दूधलाई तुलसीपुर बजारका डेरी उद्योगमा बिक्रीका लागि लग्ने गरिएको डाँगीले बताए। केहीले दूध फर्मबाटै खरिद गरी लैजाने गरेका उनको भनाइ थियो। 

कोरोना महामारीका समयमा उत्पादित दूधले उचित बजार नपाउँदा केही घाटा बेहोर्नु परेको भन्दै अहिले भने बजारमा कुनै समस्या नरहेको डाँगीले बताए। दाङमा अहिले दूधप्रतिलिटर ९० रूपैयाँ र दही एक सय रूपैयाँ रहेको छ।

शनिबार डाँगीको फर्ममा दूध खरिद गर्न आएकी तुलसीपुर-६ गोलौरीकी ४३ वर्षीया सरस्वती चौधरीले आफ्नै घर आगनमा शुद्ध दूध खान पाइएको बताइन्। उनले भनिन्, 'पहिलेपहिले एक लिटर दूध किन्न तुलसीपुर बजार जानुपर्ने बाध्यता थियो। तर अहिले घर छेउमा ताजा दूध पाउँदा खुसी लागेको छ।'

डाँगीले फर्ममा अहिलेसम्म ६० लाख रूपैयाँसम्म लगानी भइसकेको जानकारी दिए। उनका अनुसार दुग्धजन्य पदार्थ र मल बिक्रीबाट वार्षिक २५ देखि २८ लाख रूपैयाँसम्म आम्दानी हुने गरेको छ। आन्तरिक व्यवस्थापकीय सबैजसो खर्च कटाएर गतवर्ष झन्डै १२ लाख आम्दानी भएको उनले बताए।

'शिक्षण पेसामा संलग्न भएका तपाईँ पशुपालनमा कसरी लाग्नुभयो?' भन्ने प्रश्नको जवाफमा डाँगीले भने, 'धेरै युवा जीविकोपार्जनका लागि विदेशिन थालेका समाचार दिनहुँ आउन थालेपछि स्वदेशमै स्वरोजगार सृजना गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि व्यवसाय सुरु गरेको थिएँ। पशुपालन व्यवसायबाट पनि प्रशस्त आम्दानी गर्न सकिन्छ भन्ने सन्देशसहित पाँच जना युवालाई रोजगारीसमेत दिन सक्षम भएको छु।'

समयको व्यवस्थापना आफूले पढाउने विद्यालय घरदेखि नजिकै रहेकाले बिहान बेलुका र बिदाको समयमा पशुपालनमा रमाउने गरेको डाँगीले बताए। १० देखि ५ बजेसम्म विद्यालयमा हुने भन्दै बाँकी समय फर्मलाई दिने गरेको उनको भनाइ थियो। परिवारका सदस्यले समेत उनको यस कामलाई सघाइरहेका छन्।

डाँगीले दुई बिघामा फर्म सञ्चालन गरेका छन्। घाँसको पर्याप्त उत्पादन नहुँदा दाना तथा पराल, चरणलगायत अन्य सामग्री खरिद गर्दा लागत खर्च बढेको उनले बताए। 'अहिलेसम्म सरकारी कुनै निकायबाट केही सहयोग पाएको छैन', उनले भने, 'अरु समयभन्दा जाडोको समयमा उत्पादित दूधजन्य वस्तुलाई बिक्रीमा केही समस्या हुने गरेको छ।'

कम लगानीमा छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भन्दै डाँगीले अहिले फर्ममा विभिन्न ठाउँबाट गाईभैँसी अवलोकन गर्न, दूधजन्य वस्तु तथा पशुचौपाया खरिदका लागि मानिस आउने गरेका बताए। पढेलेखेका पैसा कमाउन वा जागिर खान विदेश नै जानुपर्छ भन्ने छैन भन्दै स्थानीयस्तरमा स्वरोजगार सृजना गर्न सकिने उनको सुझाव छ।

युवालाई प्रोत्साहन गर्ने किसिमका कार्यक्रम राज्यले सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो। उत्पादित सामग्रीलाई बजारको प्रबन्ध गर्न सकेमा किसानलाई बजारीकरणमा सहजता हुनुका साथै हौसला मिल्ने डाँगीको अनुभव छ। रासस


प्रकाशित : आइतबार, माघ ७ २०८०१६:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend