काठमाडौं- सरकारले सवारी चालक अनुमतिपत्र प्रिन्टिङको जिम्मा प्रदेश सरकारलाई दिने तयारी गरेको छ। आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा मन्त्री प्रकाश ज्वालाले यस्तो बताएका हुन्।
लाइसेन्स प्रिन्टिङको समस्या पेचिलो बनेकाले यसको निरूपण गर्नका लागि प्रिन्टिङको जिम्मा प्रदेश सरकारलाई दिनेगरी उनीहरूसँग पनि छलफल भएको मन्त्री ज्वालाको भनाइ छ।
केन्द्र सरकारले गर्ने काम गरिरहेको र अब प्रदेश सरकारले पनि स्मार्ट कार्ड र प्रिन्टर किन्ने तयारी थाल्न प्रदेश सरकारहरूलाई मन्त्री ज्वालाले आग्रह गरे।
'१४ लाख लाइसेन्स प्रिन्ट गर्न बाँकी रहेको छ। सवारी चालक अनुमतिपत्रका विषय धेरै नै पेचिलो बन्ने गरेको छ,' मन्त्री ज्वालाले भने, 'अब हामी लाइसेन्स समस्या दीर्घकालीन समाधान होस् भन्ने पक्षमा छौँ। यसका लागि मन्त्रालयले गर्नुपर्ने सबै सहजीकरण गर्न तयार छ।'
१६ लाख कार्ड र एउटा प्रिन्टर खरिदको प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ। ६ लाख कार्ड आइसकेको छ अर्को ६ लाख कार्ड आउने क्रममा छ। हाल ट्रायल परीक्षा दिएर लाइसेन्स लिन बाँकी रहेकाको संख्या १४ लाखभन्दा बढी रहेको छ।
यातायात व्यवस्थापनका विषयमा सरोकारवालासँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समन्वय बैठक तथा छलफल गरेको हो। छलफलमा सातवटै प्रदेशका यातायात मन्त्रीहरू, नेपाल प्रहरीका प्रतिनिधि सहभागी थिए।