काठमाडौं- चौधरी गु्रपका प्रबन्ध निर्देशक एवं युवा उद्यमी निर्वाण चौधरीले नेपाल र नेपालजस्ता कम विकसित मुलुकले जलवायु परिवर्तनको असर भोग्नु परेकाले यसतर्फ पहिलो विश्वको गम्भीर ध्यानाकर्षण हुनुपर्ने बताएका छन्।
स्विट्जरल्याण्डको डाभोसमा सम्पन्न वल्र्ड इकोनोमिक फोरममा नेपाली निजी क्षेत्रको प्रतिनिधित्व गर्दै सहभागी भएका चौधरीले जलवायु परिवर्तनको नकारात्मक असर प्रतिदिन चुनौती बनिरहेको पृष्ठभुमिमा विश्वका मुलुकहरुले हातेमालो गरेर अगाडी बढ्नु पर्नेमा जोड दिए।
जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न विकसित मुलुकहरूको भूमिका अग्रणी रहने भएकाले साझा एजेण्डाका साथ सहकार्य गर्न पनि उनले सुझाव दिए।
विश्वका महत्वपूर्ण एजेण्डामाथि छलफल गरिने उक्त फोरममा नेपालको निजी क्षेत्रको तर्फबाट चौधरी ग्रुपका प्रवन्ध निर्देशक चौधरी एक्ला सहभागी थिए।
फोरम अन्तर्गतको ‘अल्पाइन इकोनोमिज एट '२ सी’ सेसनमा बोल्दै युवा उद्यमी चौधरीले विश्वको औसत तापक्रममा वृद्धिको असर नेपाल जस्ता हिमाली र पर्वतीय मुलुकमा अझ बढी र छिटो देखापरेको हुँदा विश्वले जलवायु परिवर्तनलाई आजको मुख्य चुनौतीका रुपमा लिनुपर्नेमा पनि जोड दिएका थिए।
विश्वका सबैभन्दा प्रभावशाली राजनीतिक, व्यापारिक र सांस्कृतिक नेताहरू उपस्थित यस फोरमका विभिन्न प्यानलमा बोल्दै चौधरीले जलवायु संकट न्यूनिकरणमा अन्तर्राष्ट्रिय सस्थाहरूको भूमिका महत्वपुर्ण रहनेमा ध्यानकर्षण गराए।
यस्ता संस्थाहरुले पर्याप्त तथ्यांक, ज्ञान, सूचना र सहयोग पाएमा जलवायु संकट न्युनिकरणमा प्रभावकारी ढंगले लाग्न सक्नेछन्।
यसका लागी हिमाली समुदायहरूमा केन्द्रित सबै पक्ष समेटिएको जलवायु समस्या समाधान प्लेटफर्म बनाउन आवस्यक छ । साथै कर्पोरेट र परोपकारी संस्थाहरु मिलेर हिमाली समुदाय केन्द्रित दिगो परियोजनाहरू संचालनमा ल्याउन आवस्यक भएको उनले बताए।