चितवन- जिल्लामा वन क्षेत्र अतिक्रमण संस्थागतरुपमा बढी हुने गरेको पाइएको छ। डिभिजन वन कार्यालय चितवनअन्तर्गत रहेको ५७ हजार ६ सय ५० हेक्टर क्षेत्रफलमध्ये १ हजार ६ सय ८७ दशमलव ८३ हेक्टर क्षेत्रफल वन अतिक्रमणमा परेको हो।
कार्यालयको तथ्यांकअनुसार ती क्षेत्रमा घर, मन्दिर, चर्च, विद्यालय लगायतका संरचना बनेका छन्। अतिक्रमित वन क्षेत्रमा ३८ वटा चर्च, ३० वटा मन्दिर, १७ वटा गुम्बा र २५ वटा विद्यालय रहेका छन्।
यस्तै पाँच हजार १२ अर्धपक्की घर, एक हजार सात सय २४ कच्ची घर र ६४७ पक्की घर निर्माण भएको कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले राससलाई जानकारी दिए।
उनका अनुसार वन अतिक्रमण सबैभन्दा बढी कालिका सव डिभिजन वन कार्यालयको क्षेत्रमा भएको छ। सो क्षेत्रमा ३९९ दशमलव १६ हेक्टर क्षेत्रफल जमिन अतिक्रमण भएको हो। जहाँ अर्ध पक्की घर छ सय ११, ६७ वटा पक्की घर, ३६ वटा कच्ची घर र दुई विद्यालय छन्। त्यसैगरी सबैभन्दा कम भरतपुर क्षेत्रमा अतिक्रमण भएको कार्यालयका सूचना अधिकारी खनालले बताए।
सवडिभिजन वन कार्यालय भरतपुरअन्तर्गत ५६ दशमलव ६८ हेक्टर क्षेत्रफल अतिक्रमित भएको छ। सो क्षेत्रमा अर्ध पक्की घर एक हजार एक सय ५१, पक्की घर एक सय ५० कच्ची घर एक सय आठ वटा निर्माण भएका छन्।
यस्तै दुईवटा मन्दिर, एउटा गुम्बा, दुईवटा विद्यालय निर्माण भएको तथ्यांकलाई उल्लेख गर्दै खनालले जानकारी दिए। जसमध्ये देवघाट क्षेत्रको धार्मिक वन १७ दशमलव ७९ हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको हो। यस्तै भरतपुरको गणेशस्थान वन क्षेत्रमा १६ दशमलव ६१ हेक्टर क्षेत्रफल अतिक्रमण भएको छ।
खनालले भने, 'जिल्लामा हाल व्यक्ति विशेषबाट वन क्षेत्रमा अतिक्रमणको समस्यामा कमी भए पनि तोकिएको मापदण्ड पूरा नगरी वन क्षेत्रमा विभिन्न किसिमका भौतिक पूर्वाधार निर्माण गरी संस्थागत अतिक्रमण बढ्दो छ।'
जिल्लामा विसं २०३० देखि २०७२ सम्म वन क्षेत्र अतिक्रमणमा परेको कार्यालयका प्रमुख थिरबहादुर कार्कीले जानकारी दिए। पुराना अतिक्रमण समाधानका लागि सरकारीस्तरबाटै विशेष योजना बनाएर अघि बढ्नुपर्ने बताउँदै उनले ती अतिक्रमित क्षेत्रमा थप अतिक्रमण हुन नदिने पक्षमा कार्यालय रहेको बताए। नयाँ अतिक्रमण भएको क्षेत्रमा वन अतिक्रमण तथा रोकथाम रणनीति २०६८ अनुसार खाली गराउने प्रक्रियामा डिभिजन वन कार्यालय लागेको छ।
जिल्लाको कूल भूभागमध्ये ६५ दशमलव ८५ प्रतिशत वन क्षेत्रले ढाकेको छ। कुल वन क्षेत्र एक लाख ४७ हजार चार सय ९० हेक्टरमध्ये चितवन राष्ट्रिय निकुञ्जले ७१ हजार एक सय पाँच हेक्टर र मध्यवर्ती क्षेत्रले १८ हजार सात सय ३५ हेक्टर ओगटेको छ। डिभिजन वन कार्यालयअन्तर्गत ५७ हजार छ सय ५० हेक्टर क्षेत्रफलमा रहेको ३९ प्रतिशत वन कार्यालयले हेर्ने गरेको छ। रासस