चितवन- जिन्दगीको पचास वसन्त पार गर्दासम्म रत्ननगर-११ जिरौना चितवनका दीपबहादुर थापामगरलाई तरकारीखेती गरेर आम्दानी गर्न सकिन्छ भन्नेमा ध्यान गएको थिएन। आफ्नो ऊर्जाशील समय परम्परागत शैलीमा खेती गर्दै जीवन निर्वाह गरेका मगरले आम्दानी गर्नका लागि धेरै काम गरे पनि यसअघि सन्तुष्टि नमिलेको बताए।
विसं २०३६ मा धादिङबाट चितवन झरेको मगरको परिवार यहाँ आएर धान र मकैखेती थालेका थिए। परम्परागत खेतीबाट वर्षभरि खान र जसोतसो घरखर्च मात्र चल्ने गरेको मगरको भनाइ थियो।
'छोराछोरी बढ्दै जान थालेपछि खर्च पनि बढ्न थाल्यो। परम्परागत खेतीबाट जीविकोपार्जन गर्न नसकिने लागेपछि घर वरपरका मानिसले व्यावसायिक तरकारीखेती गरेको देखेर आफू पनि यसप्रति आकर्षित भएको थिएँ', उनले भने।
विगत पाँच वर्षयता मगरले दुई बिघा क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। आफ्नो १० कठ्ठा र भाडाको डेढ बिघा जमिनमा उनले तरकारी खेती गरेका हुन्। उनले भने, 'दुई बिघा क्षेत्रफलमा टमाटर सिमी, काँक्रो, करेला र लौकाको खेती गर्दै आएको छु। गाउँका अरु दाजुभाइ र तराईका जिल्लाबाट पनि यहाँ आएर भाडामा तरकारीखेती गरेको देखेर मैले पनि सुरु गरेको हो।'
व्यावसायिकरूपमा तरकारीखेती गर्नका लागि कुनै तालिम नलिएको मगरको भनाइ छ। 'भाटा बाँध्न, जाल बुन्न, डोरी बाँध्न, सिँचाइ गर्न, दबाई हाल्न, ड्याङ बनाउन अरुको हेरेर मैलै सिकेको हो। मैलै कुनै तालिम लिएको छैन आफैले हेरेर सिकेको हो', उनले भने।
भाडाको जग्गामा उनले वार्षिक प्रतिकठ्ठा चार हजार तिर्छन्। पाँच वर्षको अवधिमा उनले कुनै समय निकै राम्रो आम्दानी गरे भने कुनै समय बराबरमा चित्त बुझाउनुपरेको बताए। उनले थपे, 'परार सालमा राम्रो भाथ्यो। लगभग डेढ बिघामा लगाएको तरकारीले १७ लाख रूपैयाँ आम्दानी भएको थियो।'
यस वर्ष मगरले सिमी र टमाटरमा छ लाख रूपैयाँ लगानी गरेको बताए। भनेजस्तो भाउ पाएमा छ लाख रूपैयाँको लगानीबाट १५ लाख रूपैयाँभन्दा बढी आम्दानी गर्न सकिने उनले जानकारी दिए। भाउमा एकरुपता नुहँदा आम्दानी निश्चित नहुने उनले गुनासो गरे। 'तरकारीको भाउ निश्चित हुँदैन, दर घट्ने बढ्ने भइरहन्छ। कहिले ह्वात्तै घट्छ, कहिले बढ्छ। परार सालमा राम्रो भाउ परेको थियो र त्यही आम्दानीले घर बनाएँ।'
तरकारी खेतीको आम्दानीले घर बनाउनेदेखि छोराछोरीको विवाह गर्ने र विदेश पठाउने काम गरेको मगरले बताए। 'छोरा र छोरीको बिहे भयो। छोरा, बुहारी र ज्वाइँ विदेशमा छन्। छोरी पनि उतै जाने प्रक्रियामा छन्', उनले भने, 'छोरालाई यही केही गरौँ भनेको मानेन बाहिर गयो। हामी बूढाबूढी यही कुटो-कोदालो गरेर बसेका छौँ।' तरकारी खेती गरेर सन्तुष्ट भइरहँदा छोराछोरीलाई यही रोक्न नसकेकामा मगरलाई त्यति खुसी मिलेको छैन।
उनलाई तरकारीखेती गर्न कामदारको अभाव छैन। नियमितजस्तै पाँच-छ जनालाई उनले रोजगारी दिएका छन्। निकै मेहनत गरेर उब्जाएको तरकारी बिक्री गर्ने बेलामा भाउ घट्दा मन खिन्न हुने मगरको भनाइ थियो। उनले भने, 'राम्रो उत्पादन हुन्छ, दुःख गरेर उब्जाएको तरकारीको मूल्य नपाएर फाल्नुपर्दा साह्रै नमज्जा लाग्छ।'
एक बिघा क्षेत्रफलमा टमाटरखेती गर्दा आठ लाख रूपैयाँजति लगानी हुने र खर्च कटाएर १० लाख रूपैयाँभन्दा बढी आम्दानी गर्न सकिने कृषक मगरले जानकारी दिए। क्रेटको पाँचसय रूपैयाँमात्रै भाउ भएमा टमाटरमा घाटा नपर्ने उनको भनाइ थियो। रासस