शनिबार, साउन १२ गते २०८१    
images
images
images

हराउँदैछन् मनाङका ताल

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ ३ २०८०
images
images
हराउँदैछन् मनाङका ताल

अनुसन्धान समूहका एक अनुसन्धानकर्ता शालिकराम सिग्देलका अनुसार, जलवायु परिवर्तन र अनपेक्षित हिमपहिरो, वर्षा आदिले गंगापूर्णजस्ता तालको अस्तित्व लोप हुनसक्ने सम्भावना बढेको छ।

images

मनाङ- मुस्किलले ‘चार्टर्ड’ वा ‘कार्गो फ्लाइट’ मात्रै देखिने हुम्डे विमानस्थल आफैँमा पर्यटकीय स्थलझैँ बनेको छ तर यहाँ केही वर्षअघिसम्म आँखैसामु देखिने ‘ग्लेसियर’ वा हिमनदीको भने अहिले नाम निसान पनि छैन। पहिले नै लिइएका तस्बिरमा मात्रै यो ताल सीमित भएको छ।   

images
images

माथिल्लो मनाङ ङिस्याङ गाउँपालिका-५ भ्राका गाउँमा जन्मे-हुर्केका कालु घले घरआँगनसम्म बगेर आइपुग्ने हिमनदीको रङ र प्रकृतिको परख सम्झँदै छन्।

images

'अरूभन्दा पनि तीन हजार आठ सय २० मिटर उचाइको बिन्दुमा रहेको गंगापूर्ण तालको आकर्षणले यहाँ पर्यटक तान्न सकिएला भन्ने लागेको थियो। अहिले यो ताल पनि मैदानझैँ बनिसकेको छ' उनले भने। उनका अनुसार अरू पनि यहाँका सानातिना तालहरु सुक्दै वा हराउँदै गएका छन्।

घले भन्छन्, 'स्विस भूगर्भविद् टोनी हागनले सन् १९५७ मा गंगापूर्ण तालको तस्बिर  प्रचारमा ल्याएपछि यो ताललाई अहिलेसम्म भूगर्भ बनोट र जलवायु परिवर्तनको अध्ययन गर्ने एक आधार बनाइएको छ।'

images

झन्डै नौ किलोमिटर लामो गंगापूर्ण ग्लेसियरको बहाव हरेक वर्ष खुम्चँदै गएकोबारे इन्स्टिच्युट अफ टिबेटियन प्लेटो रिसर्चले अध्ययन गरिसकेको छ। 

सो अनुसन्धान समूहका एक अनुसन्धानकर्ता शालिकराम सिग्देलका अनुसार, जलवायु परिवर्तन र अनपेक्षित हिमपहिरो, वर्षा आदिले गंगापूर्णजस्ता तालको अस्तित्व लोप हुनसक्ने सम्भावना बढेको छ।

यस्तो त्रासकै बीच मनाङ ङिस्याङ गाउँपालिका भने गंगापूर्ण ताललाई फेरि पुरानै स्वरूपमा ल्याउने योजनामा अघि बढेको छ।

'अहिले अस्तित्व नै नदेखिने ताललाई पुरानै स्वरूपमा ल्याउन गाउँपालिकाले रु तीन करोड पाँच लाख बजेट छुट्याएको छ', गंगापूर्ण ताल अवस्थित रहेको मनाङ ङिस्याङ गाउँपालिका-६ का वडाध्यक्ष सोनाम गुरुङ भन्छन्, 'टेन्डर पनि भइसकेको छ। अब पुरिएको तालबाट माटो, बालुवा झिक्ने काम चाँडै सुरु गर्ने तयारीमा छौँ।'

भिजिट-मनाङ अभियानका अगुवा फुर्वा लामा गंगापूर्ण, तिलिचोजस्तै आकर्षक नयाँ ताल मनाङमा भेटिने क्रम जारी रहे पनि आधा शताब्दीदेखि अध्ययन र अनुसन्धानको विषय रहेको गंगापूर्णजस्ता हिमतालको संरक्षण सबैभन्दा प्राथमिकतामा रहनुपर्ने बताउँछन्।

फुर्वासहितका स्थानीय पर्यटनकर्मीको अगुवाइमा दुई वर्षअघि मात्रै चामेबाट २५ किलोमिटर दूरीमा सिङ्गर लेक (काजिनसारा ताल फेला परेको थियो। 

विश्वकै अग्लो स्थानमा रहेको तिलिचो (४९१९ मिटर) भन्दा झन्डै दुई सय मिटर अग्लो  स्थानमा रहेको भनेर प्रचारमा आए पनि काजिनसारा तालको स्वतन्त्र पुष्टि भएको छैन।

मनाङ ङिस्याङ-६ का वडाध्यक्ष सोनाम गुरुङका अनुसार, गंगापूर्ण संरक्षणमा तीन दशमलव पाँच मिटर उचाइ र एक सय ९३ मिटर लामो बाँध (ड्याम) बनाएर २१ दशमलव आठ हेक्टर क्षेत्रफलमा गंगापूर्णलाई सुरक्षित राखिने योजना छ। 

उनी भन्छन्, 'अर्को वर्ष आउँदा गंगापूर्ण ताल पहिलेको जस्तै देख्न पाउनुहुनेछ।'

प्राकृतिक ताल संरक्षण गर्न आवश्यक रहेको स्थानीय तथा अनुसन्धानकर्ताहरुको सुझाव छ। मनाङमा रहेका पुराना हिमताल तथा ग्लेसियरहरु पनि पछिल्लो समय मेटिँदै गएका छन्। कतिपय ताल मैदानमा परिणत भएका छन्।

जलवायु विज्ञहरुले मनाङमा अनुसन्धान गरेर तालहरु घट्दै गएका देखिएको सुझाव दिने गरेका छन्। ती सुझावहरुलाई कार्यान्वयनमा ल्याउन तीनै तहका सरकार एक भएर लाग्नुपर्ने आवश्यक छ। रासस


प्रकाशित : बुधबार, माघ ३ २०८०१३:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend