शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

सेयर बजार बढ्दो ट्रेण्डमा :५४.५४ अंकको वृद्धि हुँदा ८ अर्बको कारोबार

मंगलबार, माघ २ २०८०
सेयर बजार बढ्दो ट्रेण्डमा :५४.५४ अंकको वृद्धि हुँदा ८ अर्बको कारोबार

मंगलबार सेयर बजारमा ५४.५४ अंकले बढेर २१७५.१७ बिन्दुमा पुग्दा ८ अर्ब २ करोड रुपैयाँको कारोबार भएको छ।

काठमाडौं- सेयर बजार पछिल्लो समय लगातार वृद्धिउन्मुख देखिएको छ। अर्थतन्त्रका केही आधारभूत सूचक र नियामक निकायहरु सकारात्मक बन्न थालेसँगै यसको प्रभाव सेयर बजारमा देखिएको हो।

बैंकहरुमा निक्षेप थुप्रिएपछि माघ महिनाका लागि पनि १ प्रतिशतले ब्याजदर घटाएका छन्। यता फागुन र चैतसम्म लगातार ब्याजदर घट्ने देखिन्छ। सेयर कर्जामा समेत लगानी बढाएका छन्।

लगानीयोग्य रकम बढ्न थालेपछि बैंकहरुले सेयरकर्जामा पनि ऋण प्रवाह बढाएका छन्। जसका कारण पनि सेयर बजार उचाइउन्मुख देखिएको छ। यो साता आइतबार दोहोरो अंकले बढेको सेयर बजार मंगलबार झनै उच्च वृद्धि देखिएको छ। 

मंगलबार ५४.५४ अंकले बढेर २१७५.१७ बिन्दुमा पुगेको छ। बजारमा ८ अर्ब २ करोड रुपैयाँको कारोबार हुँदा २१४ कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ कम्पनीको घट्दा २ कम्पनीको स्थिर बसेको छ। एक दर्जन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। 

लगातारको वृद्धिले सेयर बजार बढ्दो ट्रेण्डमा गएको विश्लेषण हुन थालेको छ। २०७८ भदौ २ गते ३१९९ को उच्च बिन्दुमा पुगेर घटेको सेयर बजार पछिल्लो समय दुई हजारको बिन्दुमा घुमेको थियो। पुनः बढ्न थालेपछि अब २४ सय बिन्दुसम्म जाने र केही करेक्सन आएर पुनः वृद्धितर्फ जाने बजारको ट्रेण्डले देखाएको छ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि कर्जा प्रवाह नबढेपछि अधिकांश बैंक वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर घटाएर कष्ट अफ फण्ड सस्तो बनाउने प्रयत्न गरिरेहका छन्। केही वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदरसँगै प्रिमियम दर पनि घटाइरहेका छन्।

पुस महिनामा बैंकहरुको औसत आधार दर ९.७४ प्रतिशत कायम भएको छ। माघमा घटेको ब्याजदरका कारण फागुनमा कर्जाको ब्याजदर थप बढ्ने देखिएको छ।

मौद्रिक समीक्षामार्फत घरजग्गा र सेयर बजारको जोखिमभार घटाएसँगै कर्जाको माग बढ्न थालेको छ। समीक्षापश्चात् करिब ६० अर्ब कर्जा प्रवाह भएको छ। उक्त कर्जामध्ये सबैभन्दा धरै कर्जा घरजग्गा र सेयर बजारमा नै प्रवाह भएको बैंकर्सको दाबी छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ५ महिनासम्ममा वाणिज्य बैंकहरुले ३३ अर्ब ५ करोड रूपैयाँ खुद नाफा गरेका छन्। कात्तिक महिनासम्ममा वाणिज्य बैंकहरुले २२ अर्ब ६२ करोड रूपैयाँ खुद नाफा गरेका थिए। यस अवधिसम्म नबिल बैंक सबैभन्दा बढी नाफा गर्न सफल भएको छ। बैंकहरुको नाफाले पनि लगानीकर्तामा उत्साह थपिएको छ।

एकातर्फ ब्याजदर घट्दै जाँदा कर्जा प्रवाह थप बढ्ने र यसले सेयर बजार चलायमान बनाउने अपेक्षासहित यो साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से करिब ३१.६२ अंकले बढेको थियो। 

२०९३ अंकको बिन्दुबाट सेयर कारोबार सुरु भएको नेप्से बढेर २११७ अंकको बिन्दुमा कारोबार बन्द भएको थियो। २४७ कम्पनीको कारोबार भएको २११ कम्पनीको सेयर कारोबार बढेको छ भने ३३ कम्पनी कारोबार घटेको थियो।  नेप्समा आइतबार ५ अर्ब ४५ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो।

अघिल्लो साता पनि तीन कारोबार लगातार बढेपछि अन्तिम कारोबार स्थिर बनेको थियो। अघिल्लो कारोबारमा आइतबार २६.३६ अंकले घटेको बजार लगातार ६६.६९ अंकले बढेपछि बिहीबार पुनः थामिएको थियो।

बिहीबार ०.६२ अंकले स्थिर रहँदै २०८८.९९ बिन्दुमा पुगेको छ। १२१ कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब ३० करोड ७७ लाख ६३ हजार रुपैयाँको कारोबार भएको थियो।  यो साता आइतबार २६.३६ अंकले घटेको बजार सोमबार ३६.५७ अंकले बढेको थियो। मंगलबार पुनः २०.६२ अंकले बढेको बजार बुधबार पनि ९.५० अंकले बढेर २०८९.६२ बिन्दुमा पुगेको थियो। 

लगातार तीन दिनको वृद्धिले लगानीकर्ताहरू मनोवैज्ञानिक आधार बिन्दुसम्म बजार पुग्नेमा आशावादी देखिएका थिए। योसँगै यो साता पनि बजार लगातार बढ्ने देखिएको छ।  


प्रकाशित : मंगलबार, माघ २ २०८०१५:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend