काठमाडौं- अर्थ मन्त्रालयका अधिकारीहरू यतिबेला राजस्वको लक्ष्य पूरा नभएकोमा चिन्तित देखिएका छन्। पहिलो छ महिनामा लक्ष्य पूरा नहुँदा वार्षिक लक्ष्य पनि प्रभावित हुने निश्चित भएसँगै अर्थ प्रशासन खर्च व्यवस्थापनको सकसमा फसेको छ।
अर्थ मन्त्रालयको टाउको दु:खाइसँगै अर्को एउटा सुखद पक्ष भने जोडिएर आएको छ। राजस्व संकलन लक्ष्यअनुसार नहुनुका पछाडिका विभिन्न कारणमध्येको एउटा कारण सकारात्मक देखिएको छ।
अर्थ मन्त्रालयका लागि जुन कारणले कर घट्दा टाउको दुखेको छ त्यही कारणले स्वास्थ्य मन्त्रालयलाई सुखद महसुस हुने समाचार रहेको छ। आन्तरिक राजस्वको एउटा मुख्य स्रोत हो अन्त:शुल्क। सामान्यतया प्रतिकूल असर गर्ने वस्तुमा नकारात्मक करका रुपमा यसलाई लगाउने गरिन्छ।
आन्तरिक राजस्व कार्यालयले साउनदेखि पुससम्मका लागि निर्धारण गरिएको लक्ष्यको जम्मा ७९ प्रतिशत उठाउन सफल भएको छ। आयकरको ४० प्रतिशत किस्ता भुक्तान हुने यो अवधिमा लक्ष्य पूरा नहुँदा वार्षिक लक्ष्यमा धक्का पुग्ने देखिएको छ। तर यसरी लक्ष्य नपुग्नुका पछाडि विभिन्न कारण रहेका छन्।
आयकरदेखि मूल्य अभिवृद्धिसम्मका शीर्षकमा सोचेजस्तो कर संलकन भएको छैन। अपेक्षित आर्थिक गतिविधि नबढ्दा समग्र राजस्व संकलन नै प्रभावित भएको विभागको विश्लेषण रहेको छ।
‘समग्र बजारको गतिविधि, मागदेखि उत्पादनसम्मका कुरामा वृद्धि नभएपछि स्वाभाविक रुपमा कर संकलनमा देखिन्छ अहिले भएको त्यही हो’, विभागका महानिर्देशक दिर्घराज मैनालीले भने।
तर सबै शीर्षकमा गत वर्षको तुलनामा धेरै कर संकनल भएपनि अन्त:शुल्क भने ऋणात्मक भएको छ। अन्त:शुल्कमा पनि विदेशबाट आयात हुने वस्तुभन्दा आन्तरिकमा ऋणात्मक भएको छ। एकातिर सवारीसाधनको आयात न्यून हुँदा त्यसको प्रभाव बाह्य अन्त:शुल्कमा देखिएको छ भने अर्कोतिर आन्तरिक बजारमा उत्पादन नै घट्दा प्रभावित भएको छ।
आन्तरिक उत्पादनमा विशेषगरी बियर र चुरोटको उत्पादन घट्दा अन्त:शुल्क प्रभावित भएको छ। बजार अनुमगन गर्दा पनि उत्पादन नै घटेको कारण विभागले पहिल्याएको छ।
नेपालमा चुरोटको ९० प्रतिशत बजार हिस्सा एउटै कम्पनी सुर्य नेपालसँग रहेको छ। एउटामात्र कम्पनी भएकाले बजार कर न्यून संकलन हुँदा स्वाभाविक रुपमा थप अनुसन्धानको काम विभागले अघि बढाएको छ।
त्यस्तै बियरमा पनि अन्त:शुल्कमा बद्मासीको सम्भावना धेरै नरहेको विभागको ठहर छ। अनुगमन तथा रिपोर्टका आधारमा उत्पादन नै घटेको सरकारको ठम्याई छ। चुरोट र बियरको खपत १० प्रतिशतभन्दा धेरैले खस्किएको विभागले ठहर गरेको छ।
‘आन्तरिक उत्पादनको अधिक हिस्सा ओगट्ने चुरोट र बियरको खपत नै न्यून हुँदा ऋणात्मक देखिएको हो’, महानिर्देशक मैनालीले भने।
युवाको विदेश पलायनसँग पनि यसलाई जोडिएको छ। चुरोट र बियरको खपत गर्ने सक्रिय उमेर समूह नै देशबाट धेरै पलायन भइरहेको छ। ४० वर्षमाथिको उमेर समूहमा पुग्दा केहीले स्वास्थ्यका कारणले छाड्ने तथा आफै सचेत भएर छाड्ने सम्भावना हुन्छ। तर २० देखि ४० सम्मको समूह नै सबैभन्दा धेरै चुरोट र बियरको सक्रिय उपभोक्ता उमेर समूह हो। यही समूह विदेशिएको छ।
सन् २०२३ मा खुद ८ लाखले देश छाडेका छन्।
चुरोट र बियर धेरै सेवन गर्ने जनसंख्या घट्दा राजस्व संकलन प्रभावित भएको छ। तर स्वास्थ्यका कोणबाट धुमपान र मध्यपानको खपत घट्नु राज्यका लागि खराब नभएको अधिकारीहरू बताउँछन्।