शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

हिमालयन रिइन्स्योरेन्स र नेपाल पुनर्बीमाबीच दोस्रो बजारमा अब्बल बन्ने प्रतिस्पर्धा, यस्तो छ सूचक

शनिबार, पुस २८ २०८०
हिमालयन रिइन्स्योरेन्स र नेपाल पुनर्बीमाबीच दोस्रो बजारमा अब्बल बन्ने प्रतिस्पर्धा, यस्तो छ सूचक

पछिल्लो सयम समग्र सेयर बजार नै बढिरहेकोले हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्य अझै माथि जाने अनुमान गरिएको छ।

काठमाडौं- नेपालमा हिमालयन रिइन्स्योरेन्स दोस्रो बजारमा सेयर कारोबार सुरु भएसँगै अब नेप्सेमा सूचीकृत पुनर्बीमा कम्पनीको संख्या दुईवटा भएको छ। 

दुवै कम्पनीले जीवन र निर्जीवन बीमा कम्पनीहरूले गरेको बीमाको पनि बीमा (पुनर्बीमा) गर्ने काम गर्दछ। बीमा कम्पनीहरूले बहन गर्ने जोखिमको केही अंश पुनर्बीमा कम्पनीले बहन गर्दछ। जसले बीमा कम्पनीहरूको जोखिम हस्तान्तरण गर्न मद्दत पुग्नेछ। अहिले दुई वटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन्।

केही दिनअगाडि मात्रै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार सुरु भएदेखि नै सकारात्मक सर्किट लागेको छ।

गत सोमबार स्पेसल प्रि ओपनिङ सेसनमा हिमालयनको पहिलो कारोबार प्रतिकित्ता ३०९.२० रूपैयाँमा सुरु भएको थियो। बिहीबारसम्म आइपुग्दा कम्पनीको सेयर मूल्य बढेर ४५२.६० रूपैयाँ पुगेको छ। बिहीबार पनि बजार खुल्नेबित्तिकै ९.९९ प्रतिशतले बजार बढेर सर्किट लागेको हो। 

कम्पनीको बिहीबार प्रतिकित्ता ४१.१० रूपैयाँले बढेको थियो। पछिल्लो सयम समग्र सेयर बजार नै बढिरहेकोले हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्य अझै माथि जाने अनुमान गरिएको छ। 

hrl.JPG

नेप्सेले यसको पहिलो कारोबारका लागि प्रतिकित्ता १०३.०७ रूपैयाँदेखि ३०९.२१ रूपैयाँसम्म ओपनिङ रेन्ज तोकेको थियो। रिइन्स्योरेन्सको चुक्ता पुँजीका आधारमा कायम १० करोड कित्ता सेयर आइतबार सूचीकरण भएको थियो। नेप्सेमा ‘एचआरएल’ संकेतमा यसको नियमित सेयर कारोबार हुनेछ।

यससँगै सेयर लगानीकर्ताबीच कुन कम्पनी अब्बल भने चासो र बहस पनि सुरु भइसकेको छ। पछिल्लो समयको तथ्यांकलाई आधार मान्ने हो भने २ कम्पनीमध्ये नेपाल पुनर्बीमा कम्पनी नेपाल रिइन्स्‍योरेन्सको अधिकांश सूचक सबल रहेको देखिन्छ। 

दुई कम्पनीलाई तुलना गरेर हेर्दा चुक्ता पुँजी नेपाल पुनर्बीमाको धेरै छ। यसको पुँजी १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार रूपैयाँ रहेको छ। यता हिमालयन रिको चुक्ता पुँजी १० अर्ब रूपैयाँ पुगेको छ। 

हिमालयन रिइन्स्‍योरेन्स सञ्चालनमा आएको केही वर्ष मात्र भएको छ। यसले बजारमा आफ्नो व्यापार पनि विस्तार गर्दैछ। त्यसैले यसको सूचकहरू नेपाल रिइन्स्‍योरेन्सको भन्दा केही कमजोर हुनु स्वभाविक पनि मान्न सकिन्छ।

बजार क्लोजिङअनुसार नेपाल पुनर्बीमाको सेयर मूल्य ६४१. ४० रूपैयाँ रहेको छ। बिहीबार कम्पनीको सेयर मूल्य ७.६० रूपैयाँले घटेको थियो। कम्पनीको पछिल्लो ५२ हप्तामा ९२७ रूपैयाँसम्म सेयर मूल्य पुगेको थियो।

हिमालयनको जगेडा कोषमा भने ३८ करोड ५८ लाख मात्र जगेडा कोषमा रहेको छ। नाफालाई हेर्ने हो भने हिमालयनले आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासमा २५ करोड ४४ लाख कमाएको छ। 

पाँच महिनापछि चौथो त्रैमासिक विवरण 

नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक वित्तीय विवरण शुक्रबार मात्रै सार्वजनिक गरेको छ। साउन महिनामै चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने भए पनि कम्पनीले ५ महिना ढिला गरेको हो।

nric.JPG

सार्वजनिक अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीले गत आर्थिक वर्ष २०७९/८० मा जीवन र निर्जीवन दुवै व्यवसायबाट १ अर्ब ८ करोड ८६ लाख रूपैयाँ खुद नाफा कमाएको छ। जसअन्तर्गत जीवन बीमा व्यवसायबाट १७ करोड ३४ लाख रूपैयाँ र निर्जीवन बीमा व्यवसायबाट ९१ करोड २० लाख रूपैयाँ खुद नाफा कमाएको हो।

गत आर्थिक वर्षको कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा ६१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा दुवै व्यवसायबाट कम्पनीको खुद नाफा ६७ करोड ३८ लाख रूपैयाँ थियो। जसअन्तर्गत जीवन बीमा व्यवसायबाट १० करोड ८८ लाख र निर्जीवन बीमा व्यवसायबाट ५६ करोड ५० लाख खुद नाफा आर्जन गरेको थियो।

कम्पनीको गत आर्थिक वर्षको प्रतिसेयर आम्दानी ८ रूपैयाँ ५० पैसा छ भने प्रतिसेयर नेटवर्थ १५९ रूपैयाँ ५९ पैसा छ। 


प्रकाशित : शनिबार, पुस २८ २०८०१०:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend