काठमाडौं- नेपाल धितोपत्र बोर्डले ५ महिनामा १६ अर्ब ५१ करोड रुपैयाँ बराबरको सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पाँच महिनामा नेपाल धितोपत्र बोर्डले ८ अर्ब ५१ करोड रुपैयाँ बराबरको साधारण सेयर, ४ अर्ब ४० करोड बराबरको डिबेन्चर, २ अर्ब ५० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड र १ अर्ब १० करोड रुपैयाँ बराबरको हकप्रद सेयर गरी कुल १६ अर्ब ५१ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ।
२०८० मंसिर मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २६७ पुगेको छ। सूचीकृत कम्पनीहरूमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ८९ जलविद्युतकम्पनी, २१ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ५ अन्य समूहका रहेका छन्।
२०७९ मंसिरमा सूचीकृत कम्पनीहरूको संख्या २४७ रहेको थियो। सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६२.३ प्रतिशत रहेको छ।
त्यसैगरी जलविद्युतकम्पनीको हिस्सा १३.५ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.२ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.० प्रतिशत, होटेलको हिस्सा ३.२ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ८.३ प्रतिशत रहेको छ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० मंसिर मसान्तमा सूचीकृत ७ अर्ब ९३ करोड सेयरको चुक्ता मूल्य ७८६ अर्ब २५ करोड रहेको छ।
आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा ४४ अर्ब ६५ करोड रुपैयाँ बराबरको साधारण सेयर, ६ अर्ब १० करोड रुपैयाँ बराबरको हकप्रद सेयर, ३ अर्ब ९८ करोड रुपैयाँ बराबरको बोनस सेयर र ३ करोड रुपैयाँ बराबरको एफपीओ गरी कुल ५४ अर्ब ७६ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।