आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

कफीखेतीमा गवारोको प्रकोप, धमाधम मर्न थाले बोट

बिहीबार , पुस २६ २०८०
कफीखेतीमा गवारोको प्रकोप, धमाधम मर्न थाले बोट

गुल्मीमा हाल दुई सय ४१ हेक्टर क्षेत्रफलमा कफीखेती गरिएको छ। यस वर्ष जिल्लामा ३० मेट्रिक टन कफी उत्पादन भएको छ।

गुल्मी- चिसो मौसम सुरु भएसँगै गुल्मीमा कफीखेतीमा गवारोको प्रकोप देखिएको छ। गवारोका कारण किसानले लगाएका अधिकांश कफीका बोट मर्न थालेका छन्।

चिसो मौसममा बढी मात्रामा तुसारो पर्ने र गवारो प्रकोप देखिने भएकाले किसानलाई कफीका बिरुवा र बोट जोगाउन समस्या भएको कफी विकास केन्द्र, आँपचौरका प्रमुख जीवन आचार्यले जानकारी दिए।

कफीमा पर्याप्त मात्रामा छहारी नहुँदा चिसो मौसममा गवारोले आक्रमण गर्ने गरेको उनी बताउँछन्। 'तुसारो र गवारोबाट जोगाउन कफीका बिरुवा र बोटलाई छहारी दिने खालका रुख तथा बिरुवा लगाउनुपर्छ', प्रमुख आचार्यले भने।

कफीखेतीबाट मनग्य आम्दानी हुने हुँदा किसानले कफीखेतीलाई व्यावसायिकरूपमा अघि बढाउन थालेका छन्। स्थानीय पालिकाले पनि व्यावसायिकरूपमा कफीखेती गर्ने किसानलाई बिरुवामा अनुदान उपलब्ध गराउने नीति बनाएका छन्। तर छहारी र सिँचाइ अभावमा कफीका बिरुवा जोगाउन मुस्किल भएको किसानको गुनासो छ।

रुरुक्षेत्र गाउँपालिका-१ अन्तर्गत भड्कुवाकी मना भट्टराईले चिसो मौसम सुरु भएपछि कफीका बिरुवा मर्ने र फल्ने समयमा सेतो गवारोले सताउने गरेको बताइन्। तुसारो र छहारीको समस्याका कारण अधिकांश कफीका बोटमा पात पहेँलो हुने र बोट बिस्तारै सुक्दै जाने समस्या देखिएको उनको भनाइ छ।

लामो समयदेखि व्यावसायिकरूपमा कफीखेती गर्दै आएका मुसिकोट नगरपालिका-३ का पदमपाणि घिमिरेको समस्या पनि भट्टराईको जस्तै छ। उनको बगैँचामा अहिले सात सयभन्दा बढी कफीका बोट छन्। कफी बगैँचामा गवारोको प्रकोप देखिन थालेपछि घिमिरले प्राविधिकलाई समस्याबारे जानकारी गराएको बताए।

जिल्ला सदरमुकाम र स्थानीय पालिकामा आयोजना हुने कफीका कार्यक्रममा अधिकांश कफी किसानले गवारो कफीखेतीका लागि मुख्य समस्या भएको भन्दै गुनासो गर्ने गरेका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना गुल्मीका प्रमुख गंगाकुमारी पोख्रेलले जानकारी दिइन्। केन्द्रले जिल्लामा कफीखेतीबाट कसरी उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिन्छ भनेर किसानलाई बिरुवामा अनुदानका साथै प्राविधिक ज्ञान र सीप उपलब्ध गराउँदै आएको छ।

किसानले गरेको मेहनतको आधारमा कफीबाट सोचेजस्तो प्रतिफल हात पार्न नसकेको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले बताए। कफी किसानले कफीका बिरुवामा अनुदान दिनुभन्दा बरु एउटा ज्यामी बराबरको पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग गर्दै आएका छन्।

गुल्मीमा हाल दुई सय ४१ हेक्टर क्षेत्रफलमा कफीखेती गरिएको छ। यस वर्ष जिल्लामा ३० मेट्रिक टन कफी उत्पादन भएको छ। जिल्लामा फ्रेसचेरी कफीको मूल्य प्रतिकिलो एक सय रूपैयाँ, ड्राइचेरीको एक सय ५० रूपैयाँ र पार्चमेण्ट कफीको मूल्य प्रतिकिलो पाँच सय रूपैयाँ रहेको छ।

पछिल्लो समयमा गुल्मीमा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कफी सुपरजोन, कफी विकास केन्द्र आँपचौर, कफी अनुसन्धान केन्द्र भण्डारीडाँडालगायत स्थानीय तहले समेत जिल्लामा कफीको अनुसन्धानसँगै कफीखेती विस्तारमा काम गर्दै आएका छन्। जिल्लामा एक हजार आठ सयभन्दा बढी किसान र विभिन्न संगसंस्था कफीखेतीमा संलग्न रहेको बताइएको छ। रासस


प्रकाशित : बिहीबार , पुस २६ २०८०१५:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend