काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानीका लागि महत्वपूर्ण गन्तव्य रहेको बताएका छन्। 'भाइब्रेन्ट गुजरात ग्लोबल समिट २०२४' मा सम्बोधन गर्दै उनले ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधिलगायतका क्षेत्रमा सम्भावना रहेको बताएका छन्।
भारत र नेपालबीच ऊर्जा खरिद सम्झौता भइ नेपालबाट भारतले १० वर्षमा १० हजार मेगावाट जलविद्युत आयात गर्ने सम्झौता भइसकेको उल्लेख गर्दै अर्थमन्त्री महतले नेपाल जलविद्युतका लागि महत्वपूर्ण गन्तव्य हुने बताए।
यस्तै शिक्षा, स्वास्थ्य, पूर्वाधार, प्राकृतिक स्रोत, उत्पादनमूलक उद्योग, बैंकिङलगायतका क्षेत्रमा समेत नेपाल लगानीका लागि आकर्षक रहेको उनले बताएका छन्।
मन्त्री महतले नेपालले बैशाखमा लगानी सम्मेलनको आयोजना गर्न लागिरहेकाले भारत तथा सम्मेलनमा सहभागी अन्य देशका लगानीकर्तालाई सहभागिता जनाउन आह्वान पनि गरेका छन्।
समिटमा सहभागी विभिन्न देशका राष्ट्रप्रमुख, मन्त्रीहरू र लगानीकर्तालाई सम्बोधन गर्दै मन्त्री महतले नेपालमा लगानी सम्मेलनमा सहभागी हुन निम्तो पनि दिए।
‘नेपालमा बैशाख १६ र १७ गते लगानी सम्मेलन हुँदै छ। यो कार्यक्रमबाट म भारतसँगै अन्य देशका लगानीकर्ताहरुलाई पनि निम्तो गर्छु। तपाईंहरुको इनोभेटिभ बिजनेस आइडिया र लगानीको निर्णयले नेपालको विकासका लागि नयाँ माइलस्टोन खोल्नेछ भन्ने आशा गर्दछु’ उनले भने।
नेपाल र भारतबीच वर्षौंदेखि हिन्दु र बौद्ध धर्मावलम्बीका लागि साझा स्थान भएको उनले बताएका छन्। सन् २०१४ मा नरेन्द्र मोदीले नेपालको संसदमा गरेको सम्बोधनकोसमेत मन्त्री महतले स्मरण गरेका थिए। त्यसबेला भारतीय प्रधानमन्त्री मोदीले राजमार्ग, सूचना प्रविधि मार्ग र ट्रान्समिसन लाइन विकासका लागि जोड दिएको उनले बताए।
नेपाल र भारतले उक्त अवधारणाअनुसार नै सडक सञ्जाल, सुचना प्रविधि र ट्रान्समिसन लाइन निर्माणमा काम गरिरहेको उनले बताए। जसले व्यापार सुधार गर्न र व्यावसायिक लागत घटाउन मद्दत गरेको मन्त्री महतले बताए।
नेपाल भारत र चीनबीच अवस्थित भएकाले सन्तुलन कायम गर्न नेपालले सन् १९९० देखि नै खुला बजार अर्थतन्त्रको नीति अवलम्बन गरिरहेको महतले बताएका छन्।
'भारत र चीन जस्ता ठूला मुलुकहरूको बीचमा नेपाल अवस्थित छ। दुवै देशको बजारलाई नेपाली अर्थतन्त्रसँग जोड्न हामीले खुला अर्थव्यवस्थाको नीति लिएका छौँ। सन् १९९० को दशकबाटै हामीले खुला अर्थनीति अवलम्बन गरेका हौँ। यसलाई थप सुदृढ बनाउन अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँग नेपालले मिलेर काम गरिरहेको छ', महतले भने।
नेपालले निजी सम्पत्तिको संरक्षण संविधानमा नै व्यवस्था गरेर काम गरिरहेको र अन्तर्राष्ट्रिय लगानीका लागि समेत आह्वान गरिरेहको उनले बताए। 'हामीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यापार तथा लगानी नीति र नियमन लागु गरिरहेका छौँ’ उनले भने।
अर्थमन्त्री महतले भारतबाट आउने पर्यटकमा गुजरातको योगदान महत्वपूर्ण रहेको भन्दै उनले सम्मेलनको सफलताको शुभकामनासमेत व्यक्त गरे।