शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

सेयर बजार पुन: २१ सय बिन्दुनजिक, कारोबार रकमको वृद्धिले लगानीकर्ता उत्साहित

मंगलबार, पुस २४ २०८०
सेयर बजार पुन: २१ सय बिन्दुनजिक, कारोबार रकमको वृद्धिले लगानीकर्ता उत्साहित

लगानीकर्ताहरू अहिले बजार पस्न डराएका छन् भने सस्तो मूल्यमा बेच्न पनि तयार अवस्थामा नहुँदा पर्ख र हेरको स्थितिमा अहिलेको बजार देखिन्छ।

काठमाडौं- लगातार दोस्रो दिन पनि सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ। दोहोरो अंकको वृद्धिसँगै कारोबार रकममा उल्लेख्य वृद्धिले लगानीकर्ता उत्साहित देखिएका छन्।

गएको साता कमजोर देखिएको सेयर बजारमा यो साता पहिलो कारोबार घटेपनि दोस्रो कारोबारमा हरियाली देखिएको थियो।आइतबार २६.३६ अंकले घटेको बजार सोमबार भने बजार ३६.५७ अंकले बढेर २०५९.४९ बिन्दुमा पुगेको थियो। २१२ कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार रुपैयाँको कारोबार भएको थियो।

मंगलबार पनि सेयर बजार दोहोरो अंकले बढेपछि लगानीकर्ताहरू मनोवैज्ञानिक आधार बिन्दुसम्म बजार पुग्नेमा आशावादी देखिएका छन्। मंगलबार सेयर बजार २०.६२ अंकले बढेर २०८०.२१ बिन्दुमा पुगेको छ भने कारोबारतर्फ उत्साह देखिएको छ। ६ अर्ब ११ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

लगातार बढ्दै २८८.५१ अंकको सुधार देखिएपछि गएको ५ गते ३२.७७ अंकले घटेर बजार थामिएको थियो। त्यससहित लगातार ११७.७६ अंकले घटेपछि बजारमा गएको साता बुधबार सुधार देखिएको थियो। तर बिहीबार पुनः झिनो अंकले घटेको बजार यो साता आइतबार पनि घटेको थियो।

विश्लेषकहरूका अनुसार लगानीकर्ताहरू अहिले बजारको सुधारको अवस्था निरन्तर हुँदै २२०० को बिन्दुमा पुग्ने आशमा देखिन्छन्। मनोवैज्ञानिक बिन्दु लगानीकर्ताको आधारबिन्दु हो। आधारबिन्दुुबाट बजार खस्न पनि सक्छ, उकालो लाग्न पनि सक्छ। लामो समयसम्म २००० को बिन्दु आसपास रहेको बजारले अपेक्षाकृत सुधार भेट्न सकेको छैन। 

लगानीकर्ताहरू अहिले बजार पस्न डराएका छन् भने सस्तो मूल्यमा बेच्न पनि तयार अवस्थामा नहुँदा पर्ख र हेरको स्थितिमा अहिलेको बजार देखिन्छ। यसैले टेको लाग्ने बिन्‍दु भेटिन मुस्किल भइरहेको छ। 

लामो समय ओरालो लाग्दै कमजोर बनिरहेको बजार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि उचालिएको थियो। स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिको समीक्षामार्फत हुने व्यवस्थाको पर्खाइमा थिए। जसमा सेयर कर्जामा राष्ट्र बैंक नरम देखिएसँगै दोस्रो बजारले उतारचढावबीच लगानीकर्ताको साथ पाइरहेको थियो। 


प्रकाशित : मंगलबार, पुस २४ २०८०१५:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend