बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

नदीमा गोही छाडिएपछि खुना जातीलाई जिविकोपार्जनको चिन्ता

images
सोमबार, पुस २३ २०८०
images
नदीमा गोही छाडिएपछि खुना जातीलाई जिविकोपार्जनको चिन्ता

'वन्यजन्तु संरक्षणका लागि सरकारले बनाएको नियमलाई उल्लंघन गर्न हामी सक्दैनौँ तर माछा मार्ने हाम्रो पुर्ख्यौली पेसा भएको हुनाले यो हाम्रो पहिचान पनि हो, यसको संरक्षण राज्यले गर्नैपर्छ।'

images
images

जानकी- बाँकेको राप्तिसोनारी-१ बैरियाका खुना जातीका व्यक्ति गत वर्षदेखि नदीमा गोही छाडेदेखि माछा मार्न जान डराउँछन्। हिजोआज नदीमा गोही देखिन थालेपछि उनीहरुको नदीमा माछा मार्न जानेक्रम घटेको छ।

images
images
images

राप्तिसोनारी-१ बैरियाकी रामकुमारी खुना भन्छिन्, 'पहिला नदीमा ढुक्क भएर माछा मारिन्थ्यो। हिजोआज नदीमा गोही छाडेदेखि माछा मार्न जान डर लाग्छ।' रामकुमारीको भनाइअनुसार नदीमा गोही छाड्नुभन्दा पहिला बोक्न नसकिने गरी माछा मार्ने खुना जाती अहिले मुस्किलले एकदेखि डेढकिलो माछा मार्ने गर्छन्।

images
images

'हामी त पहिला माछा मार्न जाँदा नदी छेउमै बास बसेर तीन चार दिनपछि बोक्न नसकिने गरी माछा लिएर घर फर्कन्थ्यौँ', उनले भनिन्, 'अहिले सक्नेले पनि मुस्किलले एक डेढकिलो मार्ने गर्छन्।'

images
images

राप्ती नदीमा गोही छाड्दा नदी किनारमा बसोबास गर्ने कुमाल र खुना जातीलाई नदी तर्दा र माछा मार्दा समस्या हुने गरेको उजीहरुको भनाइ छ। राप्ती नदीको छेउमा स्थायीरुपमा बसोबास गरेका खुना जाती पहिला यही राप्ती नदीमा मारेको र माछासँग अन्न साटेर खाएको कुरा कथाका रुपमा सुनाउँछन्।

नदीमा माछा मारेर जीविकोपार्जन गर्ने खुना जाती हिजोआज माछा मार्न नपाउँदा ज्याला मजदुरीको काम गर्न बाध्य भएको बताउँछन्। 'माछा मारेर जीवन धान्ने हाम्रो पुर्ख्यौली पेसा हो, तर गत वर्षदेखि नदीमा गोही छाडिएको हुँदा हामीलाई माछा मार्न जान डर लाग्छ', सोही ठाउँका ४० वर्षीय शशिराम खुना भन्छन्, 'माछा मार्न नपाएपछि हिजोआज हामी ज्याला मजदुरी गर्न बाध्य भएका छौँ।'

शशिरामका अनुसार पहिला माछा मारेर पैसा कमाउन खुना जातीले सक्दैनथे। 'हिजोआज मजदुरी गरेर केही पैसा कमाए पनि मन सन्तुष्ट हुँदैन', उनले भने, 'नदीमा स्वतन्त्र भएर माछा मार्न नपाउनु हाम्रा लागि दुर्भाग्य हो, अन्य पेसा गर्नु हाम्रो बाध्यता हो।' 

पेसा नै परिवर्तन हुन थालेपछि दलबहादुर खुना पनि चिन्तित छन्। सानैदेखि नदीमा माछा मारेर हुर्किएका दलबहादुरको दिनचर्या हिजोआज ज्याला मजदुरीमा घर बनाउन र खेतबारीमा काम गर्नमै व्यस्त रहन्छ।

'एक वर्षअघिसम्म नदीमा माछा मार्न हामीले सल्लाह गरेर समूह बनाउँथ्यौँ', दलबहादुरले विगत सम्झँदै भने, 'उतिबेला हामी बिहानै उठेर माछा मार्ने जाल, माछा राख्ने डलिया, खानेकुरा, पाल लगाएका चाहिने सबै सामान बोकेर पाँच छ दिन नदी छेउकै जंगलमा बास बस्थ्यौँ, तर अहिले नदीमा गोही छाडिएको हुनाले ती दिन हाम्रा लागि कथा जस्तै भएका छन्।'

नदीमा गोही छाडिएकै कारण नदी तर्दै गर्दा गोहीले ३४ वर्षीय तिलकराम कुमालको देब्रे खुट्टाको कुरकुच्चा खाइदिएको छ। राप्तिसोनारी-१ उजखोलाका तिलकराम त्यही नदीमा पहिला पौडी खेल्दै नदी तर्ने गर्थे। गत जेठ ३२ गते मामाघरबाट आफ्नो घर फर्कँदा राप्ती नदी तर्ने क्रममा गोहीले उहाँको देब्रेखुट्टाको कुर्कुच्चो खाएको तिलकरामले बताए। 'गोहीको डरले छिटोछिटो नदी तर्दै थिएँ, एक्कासी मेरो देब्रेखुट्टाको कुर्कुच्चो खाइदियो', उनले भने, 'जसोतसो गोहीबाट आफूलाई बचाएँ तर कुर्कुच्चा नै रहेन।'

तिलकराम जस्तै गोहीको आक्रमणमा परेका बैरिया र आसपासका गाउँमा पनि छन्। राप्तिसोनारी-१ मा बैरियासहित गाभर, भम्का, अम्बा, भवानीयापुर, चुनाहा र खोकरी गरी सात गाउँमा खुना जातिको बसोबास छ। 

स्थानीय लक्ष्मी खुना भन्छिन्, 'वन्यजन्तु संरक्षणका लागि सरकारले बनाएको नियमलाई उल्लंघन गर्न हामी सक्दैनौँ तर माछा मार्ने हाम्रो पुर्ख्यौली पेसा भएको हुनाले यो हाम्रो पहिचान पनि हो, यसको संरक्षण राज्यले गर्नैपर्छ।'

खुना जातीको पहिचान जोगाउन लक्ष्मीले जस्तै दलबहादुरले पनि राप्ती नदीमा गोही छाड्न थालेपछि आफूहरुको पेसा लोप हुँदै गएको हुनाले सरकारको ध्यान खुना जातीतिर जानुपर्ने बताए।

राप्तिसोनारी वडा नं १ मा पर्ने बैरियामा छ घरधुरी खुना जातीको बसोबास छ भने गाभरमा पाँच घरधुरी खुना जाती बस्दै आएका छन्। त्यसैगरी भम्कामा एक सय ५० घरधुरी खुना जातीको बसोबास छ। सोही वडाको अम्बामा २०, भवानीयापुरमा २५, चुनाहामा ३० र खोकरीमा २९ घरधुरी खुना जातीको बसोबास छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा गत वर्ष बाँके राष्ट्रिय निकुञ्ज एवं सहायक साझेदार संस्थाको समन्वयमा १० घडियाल गोही छाडिएको थियो। यस वर्ष पनि नदीमा घडियाल गोही छाड्ने तयारी गरिएको तराई भूपरिधी कार्यक्रम (ताल) का संयोजक कमलराज राईले जानकारी दिए। यद्यपि विभागले उक्त नदीमा गोही छाड्नुअघि नै एउटा गोही देखिएको स्थानीयको भनाइ छ। रासस


प्रकाशित : सोमबार, पुस २३ २०८०१४:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend