तनहुँ- तनहुँ जिल्लामा रहेका खेतीयोग्य जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ सिँचाइ क्षेत्रमा काम भइरहेको छ। कुल ६५ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ५१ हजार छ सय चौध हेक्टरमा खेती गरिँदै आएको छ।
विभिन्न सिँचाइ योजना सम्पन्न गरी जिल्लामा हाल पाँच हजार सात सय बहत्तर हेक्टर क्षेत्रफल जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुर्याइएको जिल्लास्थित सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ।
खेतीयोग्य रहेका ६५ हजार बढी हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ भइरहेको कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी जगन्नाथ चापागाईँले जानकारी दिए। उनका अनुसार गण्डकी प्रदेश र संघीय सरकारबाट विनियोजित बजेटबाट गत वर्ष एक सय ४३ योजनामध्ये ८६ योजना निर्माण सम्पन्न भएका छन्।
स्रोत सुनिश्चितता भई ठेक्का प्रक्रियाबाट काम भइरहेका योजनाका लागि कम बजेट विनियोजन हुँदा निर्माण प्रभावित हुने गरेको चापागाईँले बताए। 'भौगोलिक विकटताका कारण अधिकांश स्थानमा पानीको स्रोत नहुँदा सिँचाइ योजना महँगो हुने गरेको छ', उनले भने, 'अधिकांश पाखोबारी बाँझो रहेकाले सिँचाइको पहुँच पुर्याइ स्थानीयवासीको जीवनस्तर माथि उकास्ने लक्ष्य रहेको छ।' चापागाईँका अनुसार ठेक्का लागे पनि बजेट विनियोजन नहुँदा जिल्लाका चार योजना अलपत्र बनेको छ।
व्यास-५ को साँघे पतेनी, बन्दीपुर-३ कोलपाटा लिफ्ट सिँचाइ योजना, ऋषिङ-५ को अठारबिसे र व्यास-५ को याम्दी खोला चापटार लिफ्ट सिँचाइ योजना रहेका उनले जानकारी दिए। उनले भने, 'गत वर्ष बजेट विनियोजन भए पनि चालु आवमा बजेट विनियोजन नहुँदा निर्माण प्रभावित भएको छ।'
कार्यालयका अनुसार मुख्य योजनाका रुपमा दुई परियोजना रहेका छन्। व्यास-१० को नारेश्वर ताल जलाशय योजनाका लागि एक करोड ९४ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको छ। साथै शुक्लागण्डकी-९ मा पहाड खोला बस्ती संरक्षण कार्यका लागि एक करोड ८९ लाख रूपैयाँ बजेट विनियोजन भएको छ। रासस