रामपुर- अर्थमन्त्री डा. प्रकाशशरण महतले सहकारीको बचत दुरुपयोग गर्ने कानूनको कठघरामा आउने बताएका छन्। अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था को रजत महोत्सवमा बोल्दै मन्त्री महतले यस्तो बताएका हुन्।
‘बचतकर्ताको विश्वास दुरुपयोग गर्नेहरु एक क्षणका लागि कानूनको दायराबाट भाग्लान्, तर सधैँ भाग्न सक्दैनन्। सर्वसाधारणको बचत दुरुपयोग गर्नेहरु कानूनको कठघरामा अवश्य आउँछन्। मेहनत गरेर जम्मा गरेको बचत केही व्यक्तिलाई दुरुपयोग गर्न छुट छैन’, अर्थमन्त्री महतले भने।
निजी, सार्वजनिक र सहकारी क्षेत्रको सहभागिताबिना देशको आर्थिक र सामाजिक रुपान्तरण सम्भव नभएको स्पष्ट पार्दै मन्त्री महतले सहकारीलाई प्रवर्द्धन, व्यवस्थापन र नियमन गर्न सके नेपालको आर्थिक रुपान्तरणको हतियार बन्ने बताए।
स्थानीय तहका स-साना बचत परिचालन गर्ने, स-साना आवश्यकता पूर्ति गर्ने, जीविकोपार्जनसँग यसलाई जोड्ने र स्थानीय तहकै जो सदस्य छ, उनीहरुले नै नेतृत्व लिने सहकारीको मूल अवधारणा रहेको मन्त्री महतले बताए। सहकारीको नियामक निकाय नभएकै कारण केही सहकारीमा समस्या देखिएको उनको भनाइ छ।
‘बजेट निर्माणका बेला सहकारी हेर्ने छुटै नियमक निकाय गठनको कुरा गरेको थिएँ, त्यो प्रक्रिया अगाडि बढेको छ। हामी सबै हेर्न सक्दैनौँ राष्ट्र बैंकले भनेको छ, वित्तीय संस्था, माइक्रो फाइनान्स र बैंकभन्दा बाहिर जान सक्ने हाम्रो अवस्था छैन भनेपछि वैकल्पिक नियमक निकाय गठनको तयारीमा हामी गइरहेका छौँ’, अर्थमन्त्री महतले भने।