पर्वत- यहाँको विकट गाउँको अल्लो प्रशोधन गर्ने आधुनिक उद्योग बन्द भएको छ। कुनै समय वनजङ्गलमा खेर जाने चाल्ने सिस्नो (अल्लो) बाट कपडा बनाउन नयाँ प्रविधिसहितको उद्योग सञ्चालनमा आएको थियो। अहिले बजार अभाव र जनशक्तिको कमीले गर्दा दुई वर्षदेखि उद्योग अलपत्र बनेको हो।
पोखरा विश्वविद्यालय र कोरियाको हाङदोङ विश्वविद्यालयका अन्वेषकको पहलमा मोदी गाउँपालिका–३ देउरालीस्थित घुरुङ्गामा भुमेप्रसाद डल्लु सामुदायिक अल्लो प्रशोधन उद्योग खोलिएको थियो। विसं २०७४ फागुनदेखि सञ्चालनमा आएको उद्योग २०७८ सालदेखि बन्द गरिएको हो।
परम्परागतरूपमा अल्लोको लोक्तालाई पकाउने, कुट्ने र धागो निकाल्दा समय तथा लागतसमेत अत्यधिक पर्न थालेपछि लघुउद्यमीका लागि नयाँ प्रविधि भित्र्याइएको भए पनि बढ्दो बसाइँसराइका कारण जनशक्ति कम हुँदै जानु र उत्पादन गरेको अल्लोले समेत राम्रो बजार नपाएपछि बन्द गर्नुपरेको स्थानीय टेकबहादुर पुनले बताए।
तत्कालीन समयमा झण्डै २० लाखको लागतमा उद्योग सञ्चालनमा आएको थियो। सञ्चालनमा आएको केही वर्ष यहाँबाट राम्रैसँग उत्पादन गर्न सफल भए पनि विस्तारै वनमा जाने, अल्लो सङ्कलन गर्ने र उद्योगमा ल्याएर प्रशोधन गर्ने जनशक्तिको अभाव भएपछि बन्द गर्नुपरेको उद्यमी रनमाया पुनले बताए।
उक्त उद्योगबाट छोटो समयमा धेरै र गुणस्तरीय भुवा उत्पादन लिन सकिने भए पनि कच्चा पदार्थ सङ्कलन गर्ने जनशक्ति नहुँदा बन्द गर्नुपरेको उद्यमी पुनले बताए।
यहाँबाट उत्पादित अल्लोको कपडासमेत बिक्री गर्न समस्या भएपछि गत वर्ष मोदी गाउँपालिकाले दुई सय मिटर कपडा खरिद गरिदिएको स्थानीय गमबहादुर पुनले बताए।
नयाँ प्रविधिमा अल्लोको लोक्ता पकाउने, कुट्ने र पखाल्ने व्यवस्था उद्योगमा थियो। परम्परागतरूपमा प्रशोधन गर्दा थोरै उत्पादनका लागि धेरै लागत र शारीरिक श्रम लाग्ने तथा समय बढेकाले नाफा कमाउन कठिन भएको भन्दै खोलिएको उद्योग बन्द भएपछि अहिले गाउँमा केही महिलाले परम्परागतरूपमै अल्लो प्रशोधन गरेर निर्वाहमुखी रूपमा पेसालाई जोगाउँदै आएका छन्।
अहिले पुरानै तरिकाबाट अल्लोको भुवा निकाल्न लोक्ता खरानी पानीमा पकाउने, खोलामा लगेर कुट्ने र पखाल्ने गर्नुपर्दा धेरै श्रम तथा समय लाग्ने गरेको उद्यमी पुनले बताए।
जिल्ला लघुउद्यमी संघका पूर्वअध्यक्ष सेते महतले गाउँबाट बसाइँ सर्ने दर बढेसँगै सञ्चालित आधुनिक यन्त्रसहितको उद्योग पनि बन्द भएको बताए। महतले लघुउद्यमीलाई नयाँ प्रविधि, सीप र पुँजीको सहयोग गरेर गाउँघरमै रोजगारी बढाउन आवश्यक भएको बताए।
रोजगारीका अवसर र गुणस्तरीय शिक्षाको खोजीमा गाउँबाट बसाइँसराइ दर बढेको छ। करिब ५२ घरधुरी रहेको यो घुरुंगा गाउँमा अहिले मुस्किलले २५ घरमा मात्र बसोबास छ।
गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले स्थानीय महिला सक्रिय भएर उद्यम सञ्चालन गर्न चाहेमा गाउँपालिका सहयोग गर्न तयार रहेको बताए।
व्यावसायिकरूपमा उद्योग सञ्चालन गर्न सकेमा अल्लोको कपडा बिक्रीबाट वार्षिक लाखौँ आम्दानी गर्न सकिने भएकाले गाउँपालिकामा उत्पादित कपडाको बजारीकरण र उद्योग सञ्चालनका लागि आर्थिक सहयोग गर्न तयार रहेको बताए।
यहाँका उत्तरी क्षेत्रका शालिजा, लेखफाँट, क्याङ, देउराली, भुकताङ्ले र बनौमा अल्लो प्रशस्त पाइने भएकाले यस क्षेत्रका महिला यसबाट बन्ने कपडा बनाउने उद्यम गर्दै आएका छन्। रासस