आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

बाँदरको डरले हिउँदे बाली लगाउँदैनन् किसान

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस २० २०८०
बाँदरको डरले हिउँदे बाली लगाउँदैनन् किसान

बिहादी गाउँपालिका-३ का रामु पराजुलीले सहकारीमार्फत बर्सेनि एक सय रोपनीमा सामूहिक आलुखेती गर्दै आएका थिए तर बाँदरबाट जोगाउन नसक्ने भएपछि पछिल्लो तीन वर्षयता आलु रोप्नै छोडेको बताउँछन्।

पर्वत- पर्वतका ग्रामीण क्षेत्रमा बाँदर आतंक दिन प्रतिदिन बढ्दै गएको छ। बाँदर आतंकले हिउँदे बालीनाली लगाउने प्रचलनसमेत कम हुँदै गएको छभने लगाएकाहरुलाई पनि पाक्ने बेलासम्म बाली जोगाउन हम्मेहम्मे पर्दै आएको छ। 

जिल्लाको कुश्मा नगरपालिका-९ का पुनाखर पराजुली विगतका वर्षमा १८ रोपनी खेतमा गहुँ खेती गर्दै आए पनि अहिले बाँझै राखेको बताउँछन्।

विगतमा मङ्सिर तेस्रो सातासम्म गहुँ उम्रिएर हरियाली हुन्थ्यो। यतिबेला गहुँमा सिँचाइ गर्न व्यस्त हुनुहुने पुनाखर बाँदरका कारण फुर्सदिलो बनेका छन्।

बाँदर आतंक बढ्दै गएपछि पुनाखरको साँधका विष्णुहरि पराजुली र टीकाराम तिवारीको ५० रोपनीभन्दा धेरै जमिन पनि बाँझै छ। उनीहरूले धान थन्क्याइसकेपछि सबै जग्गा बाँझै छोडेका हुन्। 'धान जेनतेन थन्क्याउन सकिन्छ', टीकाराम भन्छन्, 'हिउँदे खेती जति नै प्रयास गर्दा पनि जोगाउन नसकेपछि आजित भएर लगाउनै छोडियो।'

त्यसैगरी, फलेवास-४ का रामप्रसाद गौंडेलले लगाएको ४० केजी आलु उम्रिन नपाउँदै एक हूल बाँदर पसेर सर्वनाश पारिदियो। बिहादी गाउँपालिका-३ का रामु पराजुलीले सहकारीमार्फत बर्सेनि एक सय रोपनीमा सामूहिक आलुखेती गर्दै आएका थिए तर बाँदरबाट जोगाउन नसक्ने भएपछि पछिल्लो तीन वर्षयता आलु रोप्नै छोडेको बताउँछन्। 

'एक पटक पल्केपछि बाँदरले खेती सखाप नपारेसम्म नछोड्ने रहेछ', उनी भन्छन्, 'हजारौँ खर्च गरेर महिनौँसम्म खटेको बाली एकै दिनमा सखाप पारिदिएपछि सबै किसान आजित भए। अहिले जति नै प्रयास गर्दा पनि व्यावसायिक आलुखेती गर्न सकिएन।'

बाँदरको हैरानी खेप्न नसकेका उनले दुई वर्षयता बाँदरबाट जोगिन बेसार, अदुवा, तोरीलगायत वैकल्पिक खेतीतर्फ लागेको जानकारी दिए। 

अहिले जिल्लाभर बाँदरको आतंक फैलिएको छ। जिल्लाका ६१ वडामै बाँदरको समस्या नभएको कुनै वडा छैन। कतिपय ठाउँमा किसानले बाली जोगाउन रातदिन समूह भएर जाग्राम बस्नुपरेको छ। 

बाँदर आतंक किसानका लागि टाउको दुखाइको विषय बनेको सरोकारवालाहरुको भनाइ छ। मोदी-२ का गुरुदत्त चापागाईं भन्छन्, 'पहिला कुकुर भुक्दा भाग्थ्यो। अहिले कुकुरलाई नै झम्टिन आउँछ। जलजला-५ की पार्वती खत्रीले रोपेको २५ केजी आलु बाँदर पसेपछि बाटै बाँकी नराखेर उखेलेको थियो।' 

पर्वतमा आलुको पकेट क्षेत्र मानिने जलजला गाउँपालिकाका बनौँ, शालिजा, लेखफाँट, क्याङ, भुकताङले, बाँसखर्कलगायत वडामा आलुखेतीमा पनि बाँदर मुख्य समस्या बनेकाले किसान चिन्तित बनेका छन्। 'अहिले आलु मात्रै नभएर सुन्तला पनि खान थालेको छ', बाँसखर्कका समुद्र खत्री भन्छन्, 'पहिला मान्छे देखेर भाग्ने बाँदर अहिले मान्छेलाई नै झम्टिन आउँछ।'

जिल्लाका उच्च भेगमा पर्ने गाउँको मुख्य बाली आलुखेती हो। हिउँदे खेतीका लागि उपयुक्त मानिने कुश्मा र फलेवास नगरपालिकामा पनि बाँदरको हैरानीले किसानले लगाएको कुनै पनि हिउँदे खेती स्याहार्न नपाइएको किसानको गुनासो छ।

दशकअघिसम्म पर्वतबाट अन्य जिल्लामा गहुँ र गहुँको बीउसमेत निर्यात हुने गरेकामा पछिल्ला वर्षमा गहुँ र गहुँको पीठो तराईका विभिन्न उद्योगको भर पर्नुपरेको कृषि ज्ञान केन्द्रले जनाएको छ। 

जिल्लाको फलेवास नगरपालिकाले चालु आर्थिक वर्ष किसानलाई आलु र गहुँको बीउ निःशुल्क वितरण गर्ने कार्यक्रम राखे पनि अपेक्षित माग नआएको जनाएको छ।

'फाटफुट माग आएको थियो', कृषि शाखा प्रमुख केदार सापकोटा भन्छन्, 'बीउ माग गर्ने किसानले बाँदर जोगाइदिने भए लैजान्छौँ, नत्र लैजाँदैनौँ भनेका छन्।'

महाशिला र पैयुँ गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा सुरु गरेको बाँदर नियन्त्रणको योजना सफल हुन नसकेपछि अहिले त्यस क्षेत्रमा समेत किसानले हिउँदे खेतीप्रति रुचि देखाउन छाडेका छन्। रासस


प्रकाशित : शुक्रबार, पुस २० २०८०१६:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend