आइतबार, माघ ६ गते २०८१    
आइतबार, माघ ६ २०८१
images
images

बाबु एड्भेञ्चरद्वारा नेपालमै पहिलोपटक हाइ अल्टिच्युडको प्याराग्लाइडिङ स्कुल सुरू

images
बिहीबार , पुस १९ २०८०
images
images
बाबु एड्भेञ्चरद्वारा नेपालमै पहिलोपटक हाइ अल्टिच्युडको प्याराग्लाइडिङ स्कुल सुरू

३ हजार ९ सय मिटरमा सञ्चालनमा आएको यस स्कुलमा हाइ अल्टिच्युडमा प्याराग्लाइडिङ गर्न चाहनेहरुले तालिम लिन सक्नेछन्।

images
images

काठमाडौं- नेपालमै पहिलोपटक हाइ अल्टिच्युडको प्याराग्लाइडिङ स्कुल सञ्चालनमा आएको छ।

images
images
images

लमजुङको दोर्दी गाउँपालिका-८ थोँतीमा बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले हाइ अल्टिच्युडको प्याराग्लाइडिङ स्कुल सञ्चालनमा ल्याएको हो। ३ हजार ९ सय मिटरमा सञ्चालनमा आएको यस स्कुलमा हाइ अल्टिच्युडमा प्याराग्लाइडिङ गर्न चाहनेहरुले तालिम लिन सक्नेछन्।

images

नागरिक उड्डयन प्राधिकरणको स्वीकृति र स्थानीय तहसँगको सहकार्यमा स्कुल सञ्चालनमा ल्याइएको कम्पनी सञ्चालक सानोबाबु सुनुवारले जानकारी दिए। स्कुलमा उच्च हिमाली हावापानीमा कसरी प्याराग्लाइडिङमा उड्ने,  कसरी उडाउने भन्नेबारे सिकाइने उनको भनाइ छ।

images
images
images

प्याराग्लाइडिङ स्कुलका लागि आवश्यक पूर्वाधार तयारीमा दोर्दी गाउँपालिकाले समेत सहयोग गरेको छ। साथै अन्य सुविधाहरू पनि क्रमश: विस्तार गरिने गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताए। गाउँपालिकामा रहेको भेडीगोठ सहितका अन्य गन्तब्यको पर्यटकीय प्रवर्द्धन गर्नका लागि पनि प्याराग्लाईडिङ स्कुल महत्वपूर्ण हुने उनको भनाइ छ।

पालिकामा प्याराग्लाइडिङ स्कुल सञ्चालनमा आएपश्चात स्थानीयलाई समेत नयाँ अवसर सिर्जना हुँदै जाने उनी बताउँछन्। उनले भने,'पर्यटकीय क्षेत्रमा नै स्कुल सञ्चालन हुँदा स्थानीयलाई रोजगारीको अवसर पनि सिर्जना हुन्छ। यसबाहेक स्थानीयले तालिम समेत लिन मिल्ने भएपछि रोजगारीको नयाँ अवसर समेत पाइने देखिन्छ।'

बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले यसअघि ९ वर्षदेखि स्याङजाको भीरकोट नगरपालिका-५ स्वरेक मैदानमा प्याराग्ग्लाइडिङ स्कुल सञ्चालन गर्दै आएको छ। प्याराग्लाइडिङ स्कुलसँग सहकार्य र सहयोगका लागि विभिन्न कम्पनीले चासो देखाएका छन्। हालैमात्र रेडबुलको एड्भेञ्चर टिम नेपाल आएर स्कुल अवलोकन भ्रमण गरेको थियो। त्यसपश्चात् उनीहरुले स्कुलसँग सहकार्य गर्ने  प्रतिबद्धता दिएको सञ्चालक सुनुवारले जानकारी दिए।

अब नेपालमा हिमाल आरोहणका लागि मात्रै नभई विदेशी पर्यटक हाइ अल्टिच्युड प्याराग्लाइडिङको मज्जा लिन पनि आउने नेपाल हवाई खेलकुद संस्था (ना)का निवर्तमान अध्यक्ष कृष्ण भट्टराई बताउँछन्।

सामान्य प्याराग्लाइडिङ विश्वको प्राय: ठाउँमा उपलब्ध रहेको भएपनि हाइ अल्टिच्युड नभएको उनले बताए। नेपालमा हाइ अल्टिच्युड प्याराग्लाइडिङको उच्च सम्भावना रहेकाले यो स्कुल निकै महत्वपूर्ण हुने उनको भनाइ छ।

'हामीजस्तो हिमालयको मुलुकमा विभिन्न हिमशृङ्खलाहरूबाट प्याराग्लाडिङ गर्न र एक्स्ट्रिम एड्भेञ्चरको मज्जा लिन यहाँ निकै उत्कृष्ट गन्तव्य बन्छ,' उनले भने।

स्कुल सञ्चालनले साहसिक प्याराग्लाइडिङ उडानमा दक्ष जनशक्तिको उत्पादन गर्न समेत भूमिका खेल्ने उनले बताए। यसो हुँदा विदेशी मुद्रा आर्जनमा समेत स्कुलले सहयोग गर्ने उनको भनाइ छ। उनले अब हेलिबाट पर्यटक भएर हिमाल हेरिँदै आएकोमा स्कुल सञ्चालनमा आएपछि अब हिमाललाई हेर्नका लागि प्याराग्लाइडिङको समेत सम्भावना बढ्ने देखिन्छ। 


प्रकाशित : बिहीबार , पुस १९ २०८०१४:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend