शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

महिना दिनमा एक खर्बले बढ्यो निक्षेप संकलन, ४२ अर्ब कर्जा प्रवाह

जोखिमभार घट्दा आधा अर्बले बढ्यो तरलता

बिहीबार , पुस १९ २०८०
महिना दिनमा एक खर्बले बढ्यो निक्षेप संकलन, ४२ अर्ब कर्जा प्रवाह

काठमाडौं- मंसिर १८ गतेदेखि पुस १६ गतेसम्ममा बैंकिङ प्रणालीमा एक खर्ब रुपैयाँ निक्षेप थपिएको छ। मंसिर १८ मा बैंकिङ प्रणालीमा कुल ५९ खर्ब ६५ अर्ब रुपैयाँ निक्षेप रहेकोमा पुस १६ गते बढेर ६० खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ। 

निक्षेप संकलनसँगै यस अवधिमा कर्जा प्रवाह ४२ अर्ब रुपैयाँले बढेको छ। मंसिर १८ गते प्रणालीबाट कुल ४९ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा बढेर ५० खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो मौद्रिक समीक्षा ल्याएपश्चात कर्जा प्रवाह र निक्षेप संकलन दुबै बढेको हो। राष्ट्र बैंकले सेयर कर्जा र घरजग्गा कर्जाको जोखिमभार १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशत कायम गरेपछि प्रणालीमा निक्षेप बढेको हो।

सेयर बजार र घरजग्गा कर्जाको जोखिमभार घटाएकै कारण प्रणालीमा करिब ५० अर्ब रुपैयाँ तरलता थपिएको छ। जसले बैंक वित्तीय संस्थाको निक्षेप बढेको हो। सेयर र घरजग्गा क्षेत्रमा प्रवाह भएको कर्जाको जोखिमभार २५ प्रतिशत बिन्दुले घटाएकाले प्रणालीमा निक्षेप थपिएको हो। 

सेयर र घरजग्गा कर्जाको जोखिमभार घटेकै कारण कर्जा प्रवाह पनि बढेको हो। पछिल्लो समय कर्जाको ब्याजदर घट्नेक्रममा रहेकाले सेयर लगानीकर्ता र घरजग्गा व्यवसायीहरूले लिन थालेका हुन्।

राष्ट्र बैंकले मौद्रिक समीक्षामार्फत कर्जाको ब्याजदर घटाउने प्रष्ट सन्देश दिएको छ। बजेटमार्फत मुद्रास्फीति ६.५ प्रतिशत कायम गर्ने लक्ष्य राखेपनि कात्तिक महिनामा ५.३२ प्रतिशत कायम भएको भन्दै राष्ट्र बैंकले नीतिगत दर १ प्रतिशत बिन्दुले घटाएको छ।

नीतिगत दर १ प्रतिशत बिन्दुले घटेसँगै बैंक वित्तीय संस्थाहरू थप ब्याजदर घटाउन थालेका छन्। नीतिगत दर घटेकै कारण केही वाणिज्य बैंकहरूले मंसिरमा २ पटकसम्म ब्याजदर घटाएका थिए।

पछिल्लो समय प्रणालीमा करिब ६ खर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको छ। वाणिज्य बैंकहरूको औषत कर्जा निक्षेप अनुपात (सीडी) ८०.०६ प्रतिशत कायम भएको छ। राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत कर्जा निक्षेप अनुपात ९० प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ। 

बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम रहेकाले बैंकहरूको अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा कम नै रहेको छ। राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षामार्फत निक्षेप संकलनदर ४.५ प्रतिशतबाट घटाएर ३ प्रतिशत कायम गरेको छ। हाल बैंकहरूको अन्तर बैंक ब्याजदर २.८० प्रतिशत रहेको छ।


प्रकाशित : बिहीबार , पुस १९ २०८०१०:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend